images
images
  • कांग्रेस महाधिवेशन: पाल्पामा एक पालिकामा महिला नेतृत्व, पार्टीभित्र र बाहिर चर्चा

    पाल्पा- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पाल्पामा एक पालिकामा महिला नेतृत्व आएसँगै पार्टीभित्र र बाहिर निकै चर्चा चलेको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको सभापतिमा विष्णुकुमारी आचार्य निर्वाचित भएसँगै महिलामा उत्साह थपिएको छ ।

    यहाँको १० पालिकामध्ये नौ पालिकामा निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व आएको छ । नौ पालिकामध्ये आठ पालिकाको सभापतिमा पुरुष निर्वाचित छन् । यही असोज ९ गते भएको पालिका अधिवेशनले सर्वसम्मतरूपमा आचार्यले सभापतिको नेतृत्व गर्ने अवसर पाउनुभएको छ । सभापतिमा पुरुष उम्मेदवार पनि आकाङ्क्षी नभएका भने होइनन् तर यहाँका नेतृत्व पङ्क्तिले यस पटक महिलालाई सम्मान गर्दै गाउँपालिकामा सभापतिको जिम्मेवारी सुम्पेका छन् ।

    परिवारको साथ सहयोग र पार्टीका नेता कार्यकर्ताको सहमतिमा पाएको जिम्मेवारीलाई पूरा गर्ने उनको अठोट छ । उनले भनिन्, “महिलालाई पार्टीमा चलायमान बनाउने र भोलिका दिनमा वडा तहदेखि माथिल्लो निकायसम्म नेतृत्व गर्नसक्ने गरी महिलालाई सशक्त बनाउनेछु, गाउँगाउँका महिलाको समस्यालाई बुझेर पार्टीमार्फत उनीहरुका हक अधिकारका निम्ति सदैव लड्नेछु ।”

    यसअघि पेशाले उनी प्रावि तहको स्थायी शिक्षक थिइन् । शिक्षण कार्यबाट अवकास लिई लोकतान्त्रिक पार्टीको सिद्धान्त र नीतिमा रहेर उनमा वडा तहदेखि नै पार्टीमा काम गर्दै आए को अनुभव छ । “शिक्षण पेशाका क्रममा बुद्ध माविमा कालिका प्राविबाट दरबन्दीसहित सरुवा भएर जाँदा छ महिना मलाई मेरो परिवार नेपाली कांग्रेसमा आस्थावान् भएकै कारण हाजिर गर्न दिइएन, हाजिरबिना तीन महिना नियमित विद्यालय गएर पढाएँ, त्यसपछि प्रअले कक्षामा पढाउन नजानू भनेर निर्देशन दिएपछि म घरमै बसेँ, केही समयपछि पुनः सरस्वती मावि जल्पा सरुवा भई शिक्षण गर्न थालेँ”, उनले हिजोको दिन सम्झिदै भनिन् ।

    शिक्षण पेशाका क्रममा घरपरिवार, आफन्त नेपाली कांग्रेस पार्टीसँग जोडिएकाले धेरै चुनौती सामना गर्नुपर्यो । करिव २३ वर्षसम्म शिक्षण पेशामा अनुभव लिएकी उनी  अवकाश प्राप्त भएपछि खुलेर नेपाली कांग्रेसमा राजनीति गर्न थालिएको बताउछिन् । यसअघि पूर्वखोला गाउँपालिका–३ को कार्यवाहक सभापति भएर काम गरेकी उनी हाल ट्रेड युनियन कांग्रेस पूर्वखोलाको उपसभापति छिन् ।

    पाल्पामा ८१ वडामा एक महिला सभापति

    पाल्पाको ८१ वडामध्ये एक वडामा मात्र सभापति पदमा महिला नेतृत्वले स्थान पाएको छ ।  बगनासकाली गाउँपालिका–२ मा गत भदौ २१ गते भएको वडा अधिवेशनमा सीताकुमारी गहिरेले वडा सभापतिमा नेतृत्व हात पार्न सफल भइन् ।

    निर्वाचन प्रक्रियामार्फत गहिरेले प्रतिस्पर्धी राजेन्द्र रानालाई पराजित गरी विजयी भइन् । यस वडामा १५१ क्रियाशील सदस्यमध्ये ८१ मत खसेकामा निर्वाचित गहिरेले ४० मत र प्रतिस्पर्धी रानाले ३९ मत पाए । दुई मत बदर भएको थियो ।

    सर्वसहमतिमा यस पटक महिलालाई नेतृत्व गर्ने अवसर माग गर्दा नेतृत्व पङ्क्तिले सुनुवाइ नगरेपछि चुनावी मैदानबाट विजयी हुने मौका आफूले पाएको उनले बताइन् । उनले भनिन् , “पार्टीभित्र सक्षम, शिक्षित र नेतृत्व गर्न सक्ने महिला छन् तर, अझै पनि पुरानो सोचाइका कारण महिलालाई नेतृत्वबाट वञ्चित गराइएको छ, १३ औँ महाधिवेशनमा पनि मैले वडा सभापतिमा माग गरेको थिएँ तर महिला भएकै कारण पछाडि पारियो, यस पटक सर्वसम्मतिमा नभए चुनावी प्रक्रियामा जाने आँट गरेकाले सफल भएँ ।”

    विसं २०४१/०४२ देखि नै नेपाली कांग्रेसमा सक्रिय भएर लागेकी उनी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट प्रतिनिधित्व गर्दै वडा महिला सदस्य, नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि, नेपाल महिला सङ्घ वडाको सभापति हुन् ।

    लामो समयसम्म पार्टीको सिद्धान्त र अनुशासनमा रही काम गरे पनि महिला नाम जोडिएकै कारण नेतृत्व तहसम्म पुग्न नदिएको रामपुरकी महिला नेत्री सरस्वती डोटेल बताउछिन् । उनी यस क्षेत्रकै ज्येष्ठ महिला नेत्री हुन् । गत असोज ९ मा भएको नगर अधिवेशनमा उनी तीन पुरुष उम्मेदवारसँग नगर उपसभापतिमा लडेकी थिइन् । पार्टीमा आफ्नो लगाव, त्याग, बलिदान र निरन्तर सक्रियता भए पनि महिला भएकै कारण उपसभापतिबाट पराजित हुनुपरेको उनको गुनासो छ ।

    “महिलामा क्षमता र खुबी भए पनि नेतृत्व गर्ने अवसर दिइँदैन, तीन पुरुषसँग साहसका साथ भिड्ने म एकमात्र महिला थिएँ, मलाई उम्मेदवारी दर्ता गर्नुअघि नेतृत्व पङ्क्तिले छोड्नुस भनेर दबाब दिन थाल्यो, चुनाव हारिए केही पिरलो छैन, उम्मेदवारी फिर्ता लिन्न भनेर अठोटका साथ मैदानमा निस्किएँ” उनले भनिन् ।

    पार्टी नेतृत्वमा वडा तहदेखि केन्द्र तहसम्म नै महिलालाई स्थान दिन हिच्किचाउने प्रवृत्ति छ । राज्यले तोकेको आरक्षण कोटाबाहेक अन्य कोटामा सक्षम र सबल भए पनि महिलालाई नेतृत्व तहमा भरसक स्थान दिइँदैन । यस्तो अवस्थामा पाल्पामा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा एक पालिका र एक वडामा भए पनि दुई महिलाले नेतृत्व गर्ने अवसर पाएपछि महिला जागरुकता बढेको छ ।

    रामपुर नगरपालिकामा नेत्रप्रसाद भट्टराई, रिब्दिकोट गाउँपालिकामा रामचन्द्र पाण्डेय, बगनासकालीमा थानेश्वर तिमिल्सेना, निस्दीमा पूर्णबहादुर खाँण, पूर्वखोलामा विष्णुकुमारी आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दीपक थापा, तिनाउँमा प्रेम पाण्डे र रैनादेवी छहरा गाउँपालिकामा विष्णु पोखरेल सभापति पदमा चुनिएका छन् ।

    रामपुर नगरपालिका र रिब्दीकोट गाउँपालिकामा मतदान प्रक्रिया र अन्य पालिकामा भने सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको हो । जिल्ला सदरमुकामको तानसेन नगरपालिकामा भने उद्घाटन सत्रमात्र सम्पन्न गरेर बन्द सत्र सुरु नहुँदै नगर अधिवेशन स्थगित गरिएको छ ।तानसेन नगरपालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन हुन नसक्दा अधिवेशन अनिश्चित बनेको हो । दुई जना आकाङ्क्षीले आफ्नो दाबी नछाड्ने भएपछि सर्वसम्मतिमा उम्मेदवारको खोजी गरिन लागेको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images