images
images
  • यसरी हुँदै छ एमालेको ‘हाइटेक’ विधान महाधिवेशन

    काठमाडौं- नेकपा एमालेको यही १५ असोजदेखि हुन गइरहेको विधान महाधिवेशनस्थल ‘हाइटेक’ रहेको छ । विधान महाधिवेशन नेपालकै सबैभन्दा ठूलो क्षमताको सभा हल गोदावरीस्थित सनराइज सम्मेलनमा हुने भएको हो ।

    अत्याधुनिक प्रविधिबाट निर्माण गरिएको सभा हल ‘हाइटेक’ रहेको छ । महाधिवेशनमा सहभागी हुने करिब पाँच हजार जना अट्ने सभा हलमा अत्याधुनिक उपकरण जडान गरिएको छ । करिब तीन हजार कुर्सी रहेको सभा हलमा दायाँ(बायाँ रहेका कोठामा एक हजारका दरले थप दुई हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुन सक्ने व्यवस्था मञ्च व्यवस्थापन समितिले मिलाएको छ ।

    सभा हलमा दुई हजार ८४० कुर्सी रहेका र त्यसभित्र थप २०० कुर्सी राख्न सकिनेछ । पाँच लाइन रहेका राता कुर्सीमा प्रतिनिधि बस्नेछन् । सभा हलमा पस्नका लागि विभिन्न ससाना कोठा हुँदै प्रवेश गर्नुपर्नेछ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई एउटा गाइडकापीसमेत आयोजकले उपलब्ध गराउनेछ । पत्रकारका लागि बार्दलीमा दायाँ (बायाँ छुट्टै कोठा रहेका छन् । एउटा कोठामा २० जना पत्रकार अटाउने क्षमता रहेको छ ।

    मञ्च व्यवस्थापक समितिका संयोजक विनोद श्रेष्ठले प्रतिनिधि कतै पनि नअलमलिऊन् भन्नका लागि प्रतिवेदनसहित वितरण गर्ने झोलामा सभा हलभित्र पस्नका लागि गाइडकापीसमेत राखिने बताए । ‘उक्त गाइडकापीले सभा हलमा पस्नका लागि सिकाउँछ’, उनले भने, ‘कहाँबाट म प्रवेश गर्दा कहाँ पुग्छु भन्ने सबै कुरा गाइडकापीमा नै हुनेछ । सोही कापीको आधारमा नै शौचालय, खाना खाने ठाउँ, पानी खाने ठाउँ प्रतिनिधिले थाहा पाउनेछन् ।’

    उनका अनुसार सभाको मञ्चको दायाँ(बायाँमा दुई ठूला स्क्रिनहरू राखिनेछ । यस्तै, हलबाहिर पनि एउटा स्क्रिन र सभास्थलभन्दा बाहिर सर्वसाधारणका लागि पनि ठूला दुईवटा स्क्रिन राखिने समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।

    मञ्चमा नै सबै केन्द्रीय सदस्य

    एमालेले मञ्चमा नै सबै केन्द्रीय सदस्य अटाउने व्यवस्था गरेको छ । तल कुर्सीमा प्रतिनिधिको व्यवस्थापन गर्नका लागि सबै केन्द्रीय सदस्यलाई मञ्चमा नै अट्ने गरी व्यवस्थापन गर्न थालिएको मञ्च व्यवस्थापन समिति संयोजक श्रेष्ठले जानकारी दिए । ‘पहिला स्थायी कमिटी सदस्यलाई मात्र मञ्चमा राख्ने भनिएको थियो’, उनले भने, ‘तर, अहिले प्रतिनिधि संख्या पनि पाँच हजार पुग्यो । त्यही भएर हामीले सबै केन्द्रीय सदस्यलाई मञ्चमै व्यवस्थापन गर्ने भनेर तयारी गरिरहेका छौँ ।’

    godawari 12

    सभा हलभित्र पस्न ३० वटा गेट

    महाधिवेशनस्थलमा पुग्नका लागि प्रतिनिधिले ३० वटा गेट पार गर्नुपर्ने हुन्छ । ३० वटा गेट पार गरिसकेपछि सभा हलमा प्रवेश गर्नेछन् । सभा हलमा प्रदेशअनुसारका प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।

    गाडी नहुने प्रतिनिधिलाई सातदोबाटोबाट ल्याइने

    काठमाडौंबाट गाडीमा आउने प्रतिनिधिलाई सातदोबाटोबाट स्वयंसेवकले गाडीमा हालेर महाधिवेशनस्थल ल्याउनेछन् । त्यसका लागि बिहान ९ देखि ११ बजेसम्म आयोजकले २० देखि ३० वटा गाडीको व्यवस्था गरेको छ । ‘जाम नहोस् भनेर हामीले सातदोबाटोबाट नै गाडी नहुने प्रतिनिधिलाई आफैँ गाडीको व्यवस्था गरेर ल्याउँछौँ’, एमालेका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले भने, ‘जसले गर्दा बाटो जाम हुँदैन र अन्य नेतालाई आफ्नै गाडीमा आउन सजिलो हुन्छ ।’

    महाधिवेशनका लागि ३०० जना स्वयंसेवक परिचालन गरिने उनको भनाइ छ । ती स्वयंसेवकले प्रतिनिधिलाई सहजीकरण गर्नेछन् । आफ्नै गाडीमा आउने प्रतिनिधिलाई भने पार्किङको व्यवस्था गरिएको छ । करिब एक हजार गाडी अट्ने पार्किङ सभास्थलमा रहेको छ ।

    सभास्थलभित्र भने शीर्ष नेताका मात्र पार्किङ व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिए । सभास्थलभित्र १५ वटा गाडी अट्नेछन् ।

    सभाको बाहिर पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, कार्ल मार्क्सलगायतका ठूला डमीका फोटो राखिनेछ ।

    ‘बाहिर नेताहरूको फोटो र सजावट देखेर पाँच हजार जना प्रतिनिधिले नै फोटा खिचून् भनेर हामी सभास्थलको सजावट गर्न थालेका छौँ’, उनले भने ।

    खाना ननभेज र भेज

    यस्तै, प्रतिनिधिलाई खाना र खाजाको व्यवस्था गरिएको छ । खाना बिहान मात्र ननभेज र भेज दुवै छन् । कुन क्याटरिङलाई खाना र खाजाको जिम्मा दिने भन्ने अहिलेसम्म टुंगो नलागेको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए ।

    खाजाका लागि भने प्याकेटको व्यवस्था गरिएको छ । खाना बिहान ९ देखि ११ बजेसम्म खाएर सभास्थल प्रतिनिधि प्रवेश गरिसक्नेछन् । एकै पटकमा २०० जनाले खाना खानेगरी व्यवस्थापन गरिएको उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images