images
images
  • एनआरएनएको अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी घोषणा, यस्ता छन् मुख्य कार्ययोजना

    काठमाडौं-गैरआवासीय नेपाली संघको अध्यक्षका लागि कुल आचार्यले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एउटा कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै आचार्यले भने, ‘म जन्मेर हुर्केको माटो छोएर समाजसेवाका लागि थप प्रण गरेको छु । आज काठमाडौंबाट स्पष्ट भिजन र एजेण्डासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।’

    आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ । त्यसका लागि आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । नेतृत्व चुन्नका लागि विश्वभर रहेका संघका प्रतिनिधिहरूले अनलाइन माध्यमबाट एकैसाथ भोट गर्नेछन् ।

    उम्मेदवारी घोषणा गर्दै आचार्यले भने, ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरुको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु । पैत्रिक सम्पत्तिको अधिकार, राहदानीसहित तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिनेछु ।’

    अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको संख्या कम्तीमा एक सय पुर्‍याउने घोषणा गरेका छन् । हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्क्रिय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा छ ।

    गैरआवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने उनको योजना रहेको छ । थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने आचार्यले घोषणा गरे ।

    पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन् भने समाजसेवी पनि हुन् । ‘समाजसेवा मेरो मन, मस्तिष्क र रगतमै छ। स्वर्गीय पिताजीले दिनुभएको पहिलो ज्ञान र प्रेरणा नै समाजसेवा हो । पर्वतको धाइरिङमा पिताले डोर्‍याउँदै गर्दा दिनुभएको संस्कार, ज्ञान र प्रेरणा अहिले संसार घुम्दा थप फराकिलो भएको छ’ उम्मेदवारी घोषणा गर्दै उनले भने ‘२२ वर्षअघि बेलायत पुगेदेखि नै मैले प्रवासमा रहेका नेपालीहरुसँग परिवारको सदस्यको रूपमा काम गर्न सुरू गरेको हुँ ।’

    Kul Acharya NRNA

    करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए। अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसिया लगायतका मुलुकमा काम गर्ने नेपालीहरुको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरे । उनले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने उनले बताए ।

    विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवर्द्धनका लागि अभियान चलाउने उनको योजना छ । प्रवासी नेपालीहरुको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे।

    नेपालमा गैरआवासीय नेपालीहरुको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने बताउँदै आचार्यले भने, ‘विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ, मेरो ध्यान यसमा केन्द्रित हुने छ। नेपालबाट अवैधरुपमा विदेश गइरहेको सम्पत्तिलाई रोकी नेपालमै लगानीको वातावरण बनाउनु पनि मेरो अर्को प्राथमिकता हो।’

    संघका अग्रज अभियन्ताहरुलाई सम्मान गर्दै संघको अभियानमा नयाँ पुस्तालाई सक्रिय बनाउने आफ्नो उद्देश्य रहेको आचार्यले बताए । ‘युवा र महिलाहरुलाई पहिलो प्राथमिकतामा राखेर सांगठनिक कामलाई अगाडि बढाउने छु’, उम्मेदवारी घोषणासभामा उनले भने । संघलाई राजनीतिक रुपमा नभई सेवा भावका आधारमा सञ्चालन गर्ने उनले बताए ।

    आचार्यको उम्मेदवारीलाई संघका बहुसंख्यक राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले समर्थन जनाएका छन् । एनसीसी युकेबाट संघको यात्रा थालेका आचार्यले एनआरएनए यूकेको अध्यक्ष, आईसीसी सदस्य, यूरोप क्षेत्रको संयोजक, आईसीसी उपाध्यक्ष र सल्लाहकारका रुपमा काम गरेका छन् ।

    आचार्यले अगाडि सारेका एजेण्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आईसीसीका अन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ । एनसीसी अमेरिकाका पूर्वअध्यक्ष डा। केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरे । एनआरएनएका संस्थापक सचिव तथा पूर्व राजदूत भीम उदासले आचार्यलाई शुभ कामना दिँदै विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिलाउन तथा दोहोरो कर हटाउने सम्झौताका लागि पहल गर्न सुझाव दिए ।

    kul

    यस्ता छन् आचार्यका मुख्य कार्ययोजनाहरू:

    पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने ।

    म्यान्मार, थाइल्याण्डलगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई पिपुल अफ नेपाली अरिजिन (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने ।

    संघका पंजीकृत सदस्यहरुको संख्या ५ लाख पुर्‍याउने ।

    राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुर्‍याउने ।

    नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गरिने छ ।

    बढी भन्दा बढी मुलुकसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न संस्थागत पहल गरिने छ ।

    खाड़ी राष्ट्रमा रहेको नेपालीहरुको सानो सानो पुँजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणालाई अगाडि बढाइने छ ।

    कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गरिने छ ।

    एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images