images
images
  • रुसमा पुटिनको दल ५० प्रतिशत मतका साथ बहुमतमा, अघिल्लो चुनावभन्दा मत घट्यो

    रुसको सत्तारुढ दल युनाइटेड रसिया पार्टीले बहुमत हासिल गरेको छ । रूसमा नयाँ संसद गठनका लागि भएको तीन दिने संसदीय निर्वाचन गत आइतबार सकिएको हो । बिबिसीका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले ५० प्रतिशत मत पाएको छ । पछिल्लो चुनावभन्दा पुटिनको पार्टीले ४ प्रतिशत कम मत पाएको छ ।

    धाँधली भएको आरोप लगाउनेहरुले भने निर्वाचनका बेला फर्जी मतदान भएको र धेरैलाई जबरजस्ती मतदान गराइएको दावी गरेका छन् । उनीहरुले निर्वाचन निष्पक्ष नभएको बताएका छन् । पुटिन शासनको आलोचना गर्नेहरूलाई निर्वाचनमा उम्मेदवार बन्नसमेत रोक लगाइएकाले धाँधली भएको आरोप लगाउनेहरूलाई बल पुगेको छ ।

    जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरू समेतलाई निर्वाचनमा उम्मेदवार बन्न निषेध गरिएको थियो । कुल १४ वटा दल सहभागी भएको उक्त चुनावका लागि कतिपय ठाउँमा विद्युतीय मतदानको व्यवस्था गरिएको थियो । रुसको केन्द्रीय निर्वाचन आयोगले केही छिटफुट घटना भएपनि ठूला घटना तथा अवरोधहरु भने नभएको जनाइएको छ ।

    विपक्षीहरुले निर्वाचनमा धाँधली भएको आरोपहरुलाई निर्वाचन आयोगले भने अस्वीकार गरेको छ । निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको कम्युनिष्ट पार्टीले १९ प्रतिशत मत पाएको छ । अघिल्लो चुनावमा भन्दा कम्युनिष्ट पार्टीको ८ प्रतिशत मत बढेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images