अमेरिका-अस्ट्रेलिया- बेलायतको सैन्य सम्झौताप्रति उत्तर कोरियाले चेतावनी दिएको छ । उत्तर कोरियाको सरकारी टेलिभिजनले प्रसारण गरेको समाचारमा अमेरिकाको आलोचना गर्दै यस सम्झौताले उत्तर कोरियाको सुरक्षामा असर परेमा कुनै न कुनै उपाय निकाल्ने चेतावनी दिएको छ ।
उत्तर कोरियाले तीन देशबीच भएको यो सम्झौता निकै खतरनाक भएको बताउदै यसले एशिया प्रशान्त क्षेत्रको सुरक्षा सन्तुलनलाई नष्ट गर्दै हतियारको दौडलाई प्रेरित गर्ने टिप्पणी गरेको छ ।
उत्तर कोरियाले अहिले सम्झौतालाई अध्ययन गरिरहेको र यसले आफ्नो सुरक्षामा असर गरेमा कारवाही गर्ने बताएको छ ।
गत शुक्रबार अमेरिका-अस्ट्रेलिया-बेलायतबीच भएको आकस नाम दिइएको यस सम्झौतापछि चीन, फ्रान्स, युरोपेली संघ लगायतका देशहरु असन्तुष्ट बनेका छन् ।
यस सम्झौता अन्तर्गत अस्ट्रेलियाले परमाणु उर्जामा आधारित अमेरिकी प्रविधिको १२ पानी जहाज आफ्ना नौसेनाका लागि बनाउने भएपछि फ्रान्स कडा प्रतिकारमा उत्रिएको छ । फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदुतलाई फिर्ता बोलाएको छ भने फ्रान्सका राष्ट्रपति इमेनयूएल म्याक्रोनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्ने बताइएको छ ।


विश्व खबर 



















