काठमाडौं – पत्रकार लोग्शरी कुँवर तथा सञ्जय खड्काको बोक्सीप्रथा केन्द्रीत अनुसन्धानात्मक अध्ययनसहितको पुस्तक ‘शल्यक्रिया’ विमोचन भएको छ । राष्ट्रिय महिला आयोगमा एक कार्यक्रमका बीच कुँवर र खड्काद्वारा लिखित बोक्सी प्रथामा केन्द्रित अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’ को विमोचन गरिएको हो ।
महिला, सामाजिक समितिका सभापति निरूदेवी पाल, मानव अधिकारकर्मी सुवोध प्याकुरेल र चेन्ज एक्सन नेपालका अध्यक्ष इन्दीरा घलेले शल्यक्रियाको संयुक्त रूपमा लोकार्पण गरेकी हुन् । राष्ट्रिय महिला आयोगमा सोमवार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गर्दै सभापती पालले हिंसा र अधिकारबारेको अनविज्ञताले महिला पीडित भइरहेको बताईन् ।
उनले महिला हिंसा, बोक्सीलगायतका सामाजिक विकृतीका घटनाबारे खुलेर नबताउनाले त्यस्ता घटनाहरुमा पीडितले न्याय पाउन सक्दैनन् भन्दै दुःख व्यक्त गरिन् । यूस्तै लेखक एवं सञ्चारकर्मी कुँवरले बोक्सीको आरोपमा महिलामाथि भएका हिंसाको समाचार लेख्दा गरिएको नमिठो अनुभवले यसबारेमा गहिरिएर अध्ययन गर्न जाँगर पलायो, सोही क्रममा पुस्तक तयार भएको बताईन् ।
लेखकद्वय सञ्जय खड्का र कुँवरले लेख्नुभएको शल्यक्रियामा बोक्सी प्रथा सम्वन्धी विद्यमान अन्धविश्वासको वैज्ञानिक विश्लेषण गरिएको छ । साथै बोक्सी सम्वन्धी अवधारणा, विश्वमा बोक्सी हिंसाका घटनाहरू, बोक्सी तथा धामी झाँक्रीको इतिहास, भूतप्रेत सम्वन्धी अन्धविश्वासबारे अध्ययन समावेश गरिएको छ । त्यसैगरी, बोक्सीको आरोप र यातना, उपचार पद्धती, धामीझाँक्रीको लोकप्रियताबारे पनि पुस्तकमा चर्चा गरिएको छ ।
लोग्शरी कुँवर विश्वखबर मिडिया प्रा .लि को प्रधान सम्पादक एवं महिला अधिकारकर्मी हुन ।


विश्व खबर 




















