images
images
  • बाँकेमा घट्यो कोरोना सङ्क्रमण, मृत्युदर घटेन


    बाँके । बाँकेमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस महामारीको सङ्क्रमण केही दिनयता घट्दै गएको छ । सङ्क्रमण घट्दै गएपनि अस्पतालमा भर्ना भएका सङ्क्रमितको मृत्युदर भने घट्न सकेको छैन ।

    सोमबार शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी ल्याबमा कूल ३सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार १४९ सङ्क्रमितमध्ये बाँकेका ४० पुरुष र ३५ महिला गरी ७५ जनामा सङ्क्रमण देखिएको हो ।

    यसअघि प्रयोगशाला रिपोर्टमा कोरोना सङ्क्रमण दर दैनिक रुपमा ७० देखि ८५ प्रतिशतसम्म पुग्ने गरेको थियो । सोमबार सङ्क्रमित हुनेभन्दा कोरोना जित्नेको सङ्ख्या धेरै भएको छ । ७५ जना सङ्क्रमित थपिँदा सोमबार १७५ पुरुष र १९० महिला गरी ३६५ जनाले कोरोना निको भएको स्रोतव्यक्ति वलीले बताए ।

    सङ्क्रमित हुनेको सङ्ख्या घटे पनि मृत्युदर भने घट्न सकेको छैन । कोरोना सङ्क्रमणबाट बाँकेमा सोमबार मात्र १३ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाका १० र बाँकेका तीन जनाको मृत्यु भएको हो । बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

    गत वैशाख ९ गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । बाँकेमा कोरोना सङ्क्रमणका कारण २२५ जनाको अकालमै ज्यान गएको स्रोतव्यक्ति वलीले जानकारी दिए ।उनका अनुसार, बितेको वैशाख महिनामा मात्रै १७२ जनाको मृत्यु भएको छ ।

    यो अवधिमा दश हजार ११४ जना सङ्क्रमित भएका छन् भने छ हजार ४७० जना निको भएका छन् । बाँकेमा शुरुदेखि वैशाख मसान्तसम्ममा १५ हजार ७२ जना सङ्क्रमित भएकामा ११ हजार १७२ जना निको भएर घर फर्किसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images