काठमाडौं – सरकारले काठमाडौं– नयाँ दिल्लीको उडान संख्या बढाउन दुई विमान कम्पनीलाई अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगम तथा एयर इन्डियालाई प्रत्येक दिन उडान गर्न अनुमति दिएको हो । यो रुटमा अब सातामा १४ वटा उडान हुनेछन् ।
नेपाल–भारतबीच भएको एयर बबल सम्झौताअनुसार हाल दुई देशका सरकारी विमान कम्पनीले मात्रै एक अर्को देशमा उडान गरिरहेका छन् । सम्झौतामा निजी कम्पनीहरूलाई उडानको अनुमति दिने उल्लेख छैन । सम्झौता अझै कायमै रहेकोले निजी कम्पनीले कहिलेदेखि उडान गर्न पाउँछन् भन्ने यकिन छैन । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यात्रुहरूको चाप बढेको तथा भाडा चर्को भएको गुनासो आएकोले उडान संख्या थप्ने अनुमति दिइएको बताए। ‘कोरोना महामारीको अवस्था पनि सहज हुँदै गएको छ । अन्य सबै क्षेत्र खुकुलो भइसकेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर उडान थप्न अनुमति दिइएको हो,’ उनले भने, ‘अब नेपाल वायू सेवा निगम र एयर इन्डिया दुबैले सातामा ७ उडान संख्याको सीमाभित्र रहेर उडान गर्न पाउनेछन् ।’
कोरोनाको पहिलो लहर फैलँदा बन्द गरिएको हवाई मार्ग दुई देशबीच भएको एयर बबल सम्झौतापछि खुलाइएको थियो । दोस्रो लहर फैलिएपछि नेपालले गत मे ७ देखि निगम र एयर इन्डियालाई सातामा एकरएक उडान गर्ने अनुमति दिएको थियो । कोरोनाको प्रभाव घट्दै गएपछि गत जुलाई २४ मा उडान संख्या बढाएर सातामा ३र३ वटा पुर्याइयो ।
कोरोना महामारी सुरु हुनुअघि यो रुटमा दिनमै ११ वटा उडान हुन्थ्यो । इन्डिगो एयरले दिनमै ३ वटासम्म उडान गर्थ्यो । त्यस्तै, निगम, एयर इन्डिया र स्पाइस जेटले दैनिक २र२ तथा ड्रुक एयर र भिस्ताराले १र१ उडानमार्फत सेवा दिन्थे । त्यती धेरै यात्रुको चाप रहने काठमाडौं–दिल्ली रुटमा निश्चित दुई कम्पनीलाई त्यो पनि सातामा तीन दिन १र१ उडानमा सीमित गरिँदा यात्रु महँगो भाडा तिर्न बाध्य छन् ।
यात्रुको सहजताका लागि गत डिसेम्बर मा दुवै मुलुकका ध्वजाबाहकले दैनिक एउटा उडान गर्ने सम्झौता भएको थियो । तर नेपाल सरकारले सातामा ३र३ वटा उडानको अनुमति मात्रै दिएको थियो । निगमका दिल्लीस्थित प्रबन्धक नारायण पौडेल प्राधिकरणबाट अनुमति आए लगत्तै आफूहरूले सातै दिन उडानको तयारी थालेको बताए। ‘त्यसका लागि भारतीय सरोकारवाला पक्षसँग छलफल थालिसकेका छौं । दिल्ली विमानस्थलमा उडानका लागि समय निर्धारण गर्ने लगायतका विषयमा स्लट लिने प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘आवश्यक प्रक्रिया पूरा भएपछि निकट भविष्यमै उडानको कार्यतालिका आउने छ ।’ उहाँका अनुसार दिल्ली विमानस्थलबाट स्लट पाइसकेपछि भारतीय नागरिक उड्डयन निकायको अनुमति लिनुपर्ने हुन्छ ।
एयर इन्डियाले पनि अनुमति पाइसकेकाले उसले पनि तोकिएकै संख्यामा उडान थपेको अवस्थामा अर्को साताबाट काठमाडौं–दिल्ली रुटमा सातामा १४ वटा उडान हुनेछन् । उडान संख्या बढेसँगै यात्रुलाई सहज हुने प्राधिकरणका महानिर्देशक पोखरेलले बताए।


विश्व खबर 


















