न्यूयोर्क- गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुन लागेको अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी)को सम्मेलनमा अमेरिकाबाट डा. केशव पौडेलले महासचिवमा उम्मेदवारी दिने भएका छन्।
एनआरएनए अमेरिकाको दुई कार्यकाल नेतृत्व गरिसकेका उनले आफूले बटुलेको अनुभवलाई आईसीसीमा लगानी गर्ने सामाजिक योगदानको चाहानालाई साकार पार्न महासचिवमा उम्मेदवारी दिन लागेको बताए।
नेपालको तनहुँ जिल्लाको व्यास नगरपालिका ९ सिस्नेरीमा जन्मिएका डाक्टर पौडेल मेडिकल डाक्टर हुन्। थप अध्ययनका लागि अमेरिका आएका डा। पौडेल त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत भएका थिए। उनी सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिकामा आएका थिए। न्युयोर्कको अपस्टेटबाट चार वर्ष अध्ययन पूरा गरी एमडी र टेनिसीबाट एमबीएको उच्च अध्ययन पूरा गरी सन् २०१४ देखि अमेरिकाको न्युमेक्सिकोस्थित लबलेस मेडिकल सेन्टरको मेडिकल डाइरेक्टरको रूपमा कार्यरत छन्।
हाल अमेरिकामा अमेरिकन चिकित्सकहरूको संस्था सोसाइटी अफ हस्पिटल मेडिसिन न्युमेक्सिकोको अध्यक्ष पदमा रहेका डा। केशव पौडेलले एनआरएनएलाई सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्ने आफ्नो चाहना भएको बताए ।
हालसम्म एनआरएनएलाई संस्थागत विकास गर्न नसकिएको भन्दै उनले यसको संस्थागत विकास गर्दै सबै एनआरएन नेपालीहरु समेटिने संस्था बनाउने अभियानमा जुट्ने बताए । राजनैतिक पूर्वाग्रह छोडेर विशुद्ध संस्थाको उद्धेश्यप्राप्तिमा लाग्ने भन्दै उनले आफ्नो यस अभिष्टमा साथ दिन आह्वान गरे ।
एनआरएनए विदेश र नेपालमा बस्ने नेपालीहरूलाई आफूले सिकेको र जानेको कुराहरूको माध्यमबाट सेवा र सहयोग गर्नका लागि यो अभियानमा लागेको बताए। आफ्नो कार्यकालमा एनआरएन अमेरिकामा विदेशी नागरिकताको माग, विभिन्न छात्रवृत्ति दिने काम, मातृभूमिमा विपत्तिमा परेको बेला आर्थिक तथा भौतिक सहयोग, नेसनल इन्भाइरोमेन्ट एकेडेमीको गुरुयोजना निर्माणमा सहयोग, अमेरिकाभरि विभिन्न राज्यहरूमा सामुदायिक भवन बनाउन सहयोग गरेकोले महासचिवका लागि योग्य भएको उनको दाबी छ ।
अमेरिकामा एनआरएनए मात्र नभएर विभिन्न नेपाली संघसंस्था मार्फत समाजसेवाको यात्रामा लागेका उनी यहाँको नेपाली समुदायको समाजिक अगुवाको रुपमा सम्मानित व्यक्ति हुन् ।


विश्व खबर 



















