काठमाडौं- स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित हात पारेको छ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले हेर्थ बिएससीलाई ५-० गोल अन्तरले पराजित गरेको हो। खेल पूरै नियन्त्रणमा राखेको बायर्नले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा ३ गोल वर्षाएको थियो । बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे भने थोमस मुलर र जमल मुसिआलाले एक(एक गोल गरे ।
खेलको छैटौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। ३५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता २(० को बनाए। खेलको ४९ औं मिनेटमा जमलले गोल गर्दा बायर्नको अग्रता ३-० को बन्यो। खेलको ७० र ८४ मिनेटमा लगातार गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक गोल पूरा गरे ।
फराकिलो जितसँगै बायर्नले ३ खेलमा ७ अंक जोडेको छ। लिगको दोस्रो जित निकालेको बायर्न दोस्रो स्थानमा समेत उक्लिएको छ। लगातार तेस्रो हार व्यहोरेको हेर्थ अंकविहीन रहँदै पुछारमा छ।
यस्तै, बुन्डेस लिगमा बायन लेभरकुसेनले एफसी औगसबर्गलाई ४(१ गोल अन्तरले पराजित गरेको छ ।


विश्व खबर 


















