बेल्जियम–गैर आवासीय नेपाली संघ (एनआरएनए)को महिला सह– कोषाध्यक्ष पदमा युरोपकी महिला संयोजक योगिता थापाले उम्मदेवारी घोषणा गरेकी छन् ।
एनआरएनएलाई नेपालीहरुको साझा, विश्वसनीय, भरपर्दो, पारदर्शी र व्यवस्थित संस्था बनाई नेपाल र नेपालीको विकास र समृद्धिको संवाहक भएर काम गर्ने उनले बताईन् । एनआरएनएमा आन्तरिक विद्युतिय लेखाप्रणाली र हिसावकितावलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउने मुख्य उद्देश्य रहेको उनले विश्व खबरलाई बताईन् ।
एनआरएनएमा आर्थिक पारर्दिशिता, ७० लाख गैर आवासीय नेपालीहरुको पहुँच र सदस्यता शून्य शुल्कलाई निरन्तरता र संस्थाको दिगो आन्दानीको व्यवस्थापनमा लाग्ने उनले बताएकी छन् । एनआरएनए महिला सह–कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दै थापाले सहयोगका लागि एनआरएनए अभियन्ता लगायत सबैलाई सहयोगका लागि आग्रह गरेकी छन् ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवर २३ देखि २५ गतेसम्म हुने १० औं विश्व सम्मेलन हुँदैछ ।
यस्ता छन् मुख्य एजेन्डा :
गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् (एनआरएनए)को १० औं अधिवेशनमा सह–कोषाध्यक्षको रुपमा उम्मेदवारी दिँदै गर्दा म सम्पूर्ण गैर आवासीय नेपालीहरूसँग मेरो पक्षमा मतदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । यसका लागि मेरो निम्नानुसारको प्रतिवद्धताहरू ।
१. एनआरएनएलाई विश्वभरका गैर आवासीय नेपालीहरुको सबल, सक्षम, विश्वासिलो, भरपर्दो र क्रियाशील संस्थाको रुपमा विकास गराउन ।
२. संस्थालाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्न । सभ्य समाज र भ्रष्टाचारमुक्त परिवेशको सिर्जना गर्न ।
३. नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्वलाई विशेष प्राथमीकतामा राखी त्यहाँ कार्यरत नेपालीहरुको अधिकारको लागि आवाज उठाउन ।
४. सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गराउन । दुबई, कतार, साउदीजस्तो नेपालीहरुको जनसंख्या धेरै भएको ठाउँमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने ।
५. विदेशी लगानी नेपालमा भित्र्याउन सहयोग पुर्याउन ।
६. नेपालको विकास र समृद्धिमा एनआएनएहरुको सिप, अनुभव, पूँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने ।
७. सामाजिक सेवाका कामहरुलाई कर्तव्य र दायीत्वका रुपमा अंगिकार गर्दै व्यापक जनसहभागिताको साथमा सम्पन्न गर्ने ।
८. नेपाल सरकारसंगको सहकार्यमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको छुट्टै फण्ड स्थापना गर्न ।
९. सामाजिक सुरक्षा कोषअन्तर्गत वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई समेत जोड्न ।
१०. पुराना योजनाहरूलाई निरन्तरता दिँदै सफल गराउन ।
को हुन् योगिता थापा ?
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अधिवेशनबाट २०१९–२१ का लागि युरोपको महिला संयोजकमा निर्विरोध निर्वाचित थापा त्यसअघि २०१७–१९ मा गैर आवासीय नेपाली संघ बेल्जियमको उपाध्यक्ष पदमा कार्यरत थिईन ।
महिला संयोजकका रुपमा युरोपमा महिलाहरुका समस्या तथा त्यसको समाधानका लागि अधिकारकर्मी, प्रवासी महिला र सरोकारवालाहरुसंग छलफल चलाएकी थापाले महिला सशक्तिकरणका साथै बेल्जियमबाट नेपाललाई चिनाउन बिभिन्न कार्यक्रम समेत आयोजना गर्दै आएकी छन् ।
एनआरएनए बेल्जियमको उपाध्यक्ष हुँदा उनले बेल्जियममा आयोजित नेपाल फेष्टिबल र प्रथम नेपाल आईडलको नेतृत्व गरेकी थिईन । बिभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहेकी थापा लुम्बिनी–कपिलवस्तु ग्लोबल क्याम्पेयन बेल्जियमको उपाध्यक्ष हुन् । उक्त संस्था युरोपमा बुद्धको प्रचार–प्रसार र लुम्बिनीलाई चिनाउने अभियानमा सक्रिय छ । उनी ड्रिम्स नेपालकी निर्देशक समेत हुन् । उनको नेतृत्वमा ड्रिम्स नेपालले सन २०२० मा मिस युरोप आयोजना गरेको थियो ।
सुदूरपश्चिमको दार्चुला पुख्र्यौली घर भएकी थापा १३ वर्षदेखि बेल्जियममा होटल तथा रेष्टुरेण्ट व्यवसायमा आवद्ध छिन् ।






















