images
images
  • प्रतिवेदन सार्वजनिक भएपछि प्रशिक्षक अलमुताइरीको असन्तुष्टिसंगै देश छाड्ने संङ्केत : ‘म निस्किएँ, राजनीतिले काम गरोस्’

    काठमाडौं-नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानबिन समितिले बुधबार बुझाएको प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् । मुख्य प्रशिक्षक अलमुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङबीचको विवाद सुल्झाउन राखेपले तीन साताअघि छानबिन समिति गठन गरेको थियो ।

    पुरेन्द्रविक्रम लाखेको संयोजकत्वको छानबिन समितिले राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको छ । समितिले घटनासँग सम्बन्धित पदाधिकारीसँग बयान लिएको थियो । दुई सातापछि सार्वजनिक भएको प्रतिवेदनमा मुख्य प्रशिक्षकले आचरण सुधार गर्नुपर्ने उल्लेख छ । समितिले मुख्य प्रशिक्षक अलुमताइरीले फेसबुकमा दिइएको विवादास्पद राजीनामासम्बन्धी पोस्टलाई हटाउन निर्देशन सम्बन्धित निकायलाई दिएको छ ।

    यसैगरी फुटबलको विकास र विस्तारका लागि सम्बन्धित सबै पक्षले आपसी समझदारीका साथ अगाडि बढ्नुपर्ने सुझाब प्रतिवेदनमा छ । ‘अलमुताइरीले एन्फासँग गरेको सम्झौताबमोजिम मात्र काम गर्नुपर्छ, आउँदो दिनमा विवाद सिर्जना हुने खालका कुनै पनि काम नगर्न नगराउन एवं सामाजिक सञ्जालमा कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै सचेत गराउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।

    अलमुताइरीको देश छाड्ने संङ्केत
    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल छाड्ने संकेत गरेका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष र प्रशिक्षक अलमुताइरीबीचको विवादको विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को छानबिन समितिले बुधबार प्रतिवेदन बुझाएपछि कुवेती नागरिक अलमुताइरीले अब पद छाड्ने संकेत देखाएका हुन् । उनले सामाजिक सञ्जालमा अब म बाहिरिएँ भन्ने स्ट्यास लेखेका छन् । ‘आइएम आउट.. लेट पोलिटिक्स वर्क,’ उनले लेखेका छन् । अर्थात म बाहिरिएँ, राजनीतिले आफ्नो काम गरोस् ।बुधबार सार्वजनिक भएको प्रतिवेदनमा अलमुताइरीलाई सचेत गराउने, उनले विवादास्पद रुपमा राजीनामा दिने भनेर लेखेको स्ट्याटस हटाउन परिषद्ले निर्देशन दिनेलगायत ११ बुँदे सुझाव दिइएको छ ।

    अलमुताइरीले साउन १० गते एन्फा उपाध्यक्ष पंकज विक्रमलाई दोष लगाउँदै सामाजिक सञ्जालबाटै राजीनामा दिने घोषणा गरेका थिए । तर राजीनामा भने दिएनन् ।छानबिन समितिले प्रतिवेदन दिएको सुझावमा त्यो स्ट्याटससमेत हटाउनुपर्ने उल्लेख छ । सामाजिक सञ्जालमा हिट अलमुताइरीले गत चैतमा नेपालको प्रशिक्षक बनेयता नै समर्थकसँग समेत निरन्तर सम्पर्क बढाइरहेका छन् ।नेपाली राष्ट्रिय टिम साफ च्याम्पियनसिप र भारतसँगको मैत्रीपूर्ण खेलको लागि पोदरामा बन्द प्रशिक्षणमा तयारी गरिरहेको छ । तर यस्तो अवस्थामा मुख्य प्रशिक्षक नै विवादमा संलग्न भएकोले नेपाली फुटबल मैदान बाहिर तरंगित छ ।

    नेपालले यही भदौ १७ र २० गते दशरथ रंगशालामा भारतसंग मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै साफ च्याम्पियनसिप अक्टोकर १ देखि माल्दिभ्समा सुरु हुनेछ ।

    Abdullah Almutairi

    राखेपलाई मन्त्रालयको निर्देशन
    अलमुताइरीको पोस्टलगत्तै एन्फाको आकस्मिक बोर्ड बैठक बसेको थियो । बैठकले युवा तथा खेलकुद मन्त्रालयलाई विवाद सुल्झाउन आग्रह ग¥यो । त्यसपछि खेलकुद मन्त्रालयले प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद समाधान निकाल्न राखेपलाई निर्देशन दियो । त्यसपछि राखेपले छानबिन समिति गठन गरेको हो । दुई साताअघि अलमुताइरीले छानबिन समितिले सार्वजनिक गर्ने प्रतिवेदन आफूलाई मान्य हुने र त्यसविरुद्ध नजाने बताएका थिए ।

    नेपाली फुटबल टोली साफ च्याम्पियनसिप र भारतविरुद्धको मैत्रीपूर्ण तयारीका लागि पोखरामा प्रशिक्षणमा छ । नेपाली टोलीले पोखरामा प्रशिक्षण लिइरहेको छ । डेढ सातादेखि प्रशिक्षक अलमुताइरी पनि पोखरामै प्रशिक्षण दिइरहेका छन् । नेपालले १७ र २० भदौमा दशरथ रंगशालमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ । प्रशिक्षक अलमुताइरीले नै मंगलबार २५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका थिए ।

    आन्तरिक विवाद आफैँले समाधान गर्नुपर्ने
    प्रतिवेदनमा एन्फाले आफ्ना सबै विभागलाई सक्रिय बनाउनुपर्ने सुझाब दिएको छ । समितिले एन्फाभित्र विवाद वा समस्या आए आफैँले समाधान गर्नुपर्ने निर्देशन दिएको छ । छानबिन समितिले एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षकलगायतले पदीय मर्यादालाई ध्यानमा राखी कार्य गर्न भनेको छ । समितिले सात दिनभित्र दुवै पक्षबीच विवाद समाधानका लागि एन्फालाई निर्देशन दिएको छ ।

    यसैगरी खेल क्षेत्रलाई धुमपान र मध्यपान निषेधित क्षेत्र बनाउँदै सोहीबमोजिम काम अगाडि बढाउनुपर्ने र एन्फाका सम्पूर्ण पदाधिकारी, प्रशिक्षकलगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर काम गर्नुपर्ने सुझाब समितिले दिएको छ । लाखे संयोजकत्वको समितिका सदस्यमा राखेपका सदस्य रेणुका श्रेष्ठ, सुवर्णकेशरी श्रेष्ठ, चन्द्रवदना राई, राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर बिक, राखेप कानुुन शाखा प्रमुख नारायणराज अर्याल र राखेप संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल रहेका छन् ।

    एक महिनाभित्र दुईवटा पोस्ट
    समितिले प्रतिवेदन बुझाएकोे केही घन्टापछि नै मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमा असन्तुष्टि जनाउँदै पोस्ट गरेका छन्– ‘मैले छाडेँ, राजनीतिले काम गरोस् ।’ अलमुताइरीले आफूलाई प्राप्त सबै जिम्मेवारी छाडेको संकेत गरेका छन् । १० साउनमा मुख्य प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । ‘एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको दबाबकै कारण म एन्फामा राजीनामा दिन गइरहेको छु ।’ यो स्टाटससँगै एन्फामा प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद उत्पन्न भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images