images
images
  • इरान समर्थित हुथी विद्रोहीको कब्जामा यमनको मोखा सहर, विश्व ऊर्जा आपूर्तिमा संकट

    काठमाडौं– यमनको रणनीतिक बन्दरगाह सहर मोखामाथि हुथी विद्रोहीले नियन्त्रण कायम गरेका छन् । इरान समर्थित हुथी विद्रोही र साउदी अरब समर्थित यमन सरकारबीच द्वन्द्व चर्किरहेका बेला बिहीबार हुथी सेनाले ठूलो सैन्य कारबाही गर्दै मोखा सहर कब्जा गरेको हो । हिंसा बढ्दै गएपछि महिला तथा बालबालिकासहित सयौँ स्थानीय बासिन्दा घर छाडेर साउदी समर्थित सरकारको नियन्त्रणमा रहेका लहिज र अदन प्रान्ततर्फ शरण लिन पुगेका छन् ।

    ताइज र अल होदेइदाह प्रान्तमा पछिल्लो दुई सातामा भएका झडपका कारण २० हजारभन्दा बढी मानिस विस्थापित भइसकेका छन् । मोखामा भएको पछिल्लो सैन्य घटनाले यमनमा जारी मानवीय संकट थप गम्भीर बन्ने जोखिम बढाएको छ ।

    अल जजिराका यमन मामिला सम्पादक अहमद अल शलाफीका अनुसार होदेइदाहको दक्षिणी क्षेत्र र मोखाबाट धुबाब तथा अदनतर्फ विस्थापित हुनेको सङ्ख्या बढिरहेको छ । सरकारी सेनाको पछि हटाइसँगै हुथीको कब्जा मोखा सहरमा हुथी विद्रोहीले नियन्त्रण कायम गर्नु ठूलो सैन्य अभियानको परिणाम भएको बताइएको छ । सेप्टेम्बर ३ देखि हुथी सेनाले पश्चिमी ताइज, दक्षिणी होदेइदाह र मोखा सहर गरी तीन दिशाबाट आक्रमण तीव्र पारेको थियो ।

    मोखाको बाहिरी क्षेत्रमा भीषण युद्ध भएको थियो । हुथी विद्रोहीलाई सहर कब्जा गर्न सहज हुनुमा सरकारी पक्षसँग आबद्ध राष्ट्रिय प्रतिरोधी सेनाको युद्धबाट पछि हट्नु प्रमुख कारण रहेको अल जजिराले जनाएको छ ।

    तारेक सालेहको नेतृत्वमा रहेको राष्ट्रिय प्रतिरोधी सेना साउदी समर्थित सैन्य गठबन्धन र अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको महत्वपूर्ण सैन्य शक्ति मानिन्छ । तारेक सालेह यमनका पूर्वराष्ट्रपति अली अब्दुल्लाह सालेहका भतिजा हुन् । अली अब्दुल्लाह सालेहलाई सुरुमा हुथीसँग गठबन्धन गरे पनि पछि उनीहरूकै आक्रमणमा मारिएको थियो ।

    अल जजिराका अनुसार राष्ट्रिय प्रतिरोधी सेना पछि हटेपछि हुथी सेनाले मोखामा नियन्त्रण कायम गरेको हो । यद्यपि सेना रणनीतिक रूपमा पुनः व्यवस्थित हुन पछि हटेको हो वा सैन्य दबाब थेग्न नसकेर पछि हटेको हो भन्ने स्पष्ट भइसकेको छैन ।

    तारेक सालेहले भने हुथी सेनाको अग्रगमनलाई ध्यानमा राख्दै अल वाजिया र माव्जा मोर्चाबाट रणनीतिक रूपमा पछि हटेर सेना पुनः तैनाथ गर्न निर्देशन दिएको बताइएको छ । उनले वैकल्पिक सैन्य कमान्ड केन्द्र स्थापना गर्नसमेत निर्देशन दिएका थिए ।

    युद्ध अन्य क्षेत्रमा पनि फैलिँदै

    यमनमा जारी द्वन्द्व स्थलमार्गमा मात्र सीमित नरही समुद्री क्षेत्रमा समेत फैलिन थालेको छ । रोयटर्सले चार जना अज्ञात स्रोतलाई उद्धृत गर्दै हुथी विद्रोहीले रणनीतिक महत्वका लालसागरस्थित हनिस टापुहरूमा आक्रमण गरिरहेको जनाएको छ ।

    राष्ट्रिय प्रतिरोधी सेनाको सैन्य सञ्चार शाखाका अनुसार सरकारी पक्षका हवाई सेनाले होदेइदाह प्रान्तका अल तुहायता, अल सालिफ र कमरान टापुमा रहेका हुथी विद्रोहीका सैन्य अखडालाई निशाना बनाएका छन् ।

    यसैबीच हुथी विद्रोहीले रणनीतिक महत्वको जुकर टापुतर्फ दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।

    यस्तै, मारिब क्षेत्रमा पनि युद्ध चर्किएको छ । सरकारी पक्षका लडाकु विमानले सानाबाट आएका हुथी सैन्य सुदृढीकरणका लागि पठाइएका फौजलाई फर्दात निहम क्षेत्रमा तथा मारिबको उत्तर र दक्षिणतर्फ अघि बढिरहेका सैन्य समूहलाई निशाना बनाएको अल जजिराले उल्लेख गरेको छ ।

    विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्गमा जोखिम

    मोखा सहरको भौगोलिक अवस्थिति यस घटनालाई अन्तर्राष्ट्रिय चासोको विषय बनाउने प्रमुख कारण हो । यो सहर बाब अल मन्देब जलडमरूमध्यबाट करिब ७५ किलोमिटर उत्तरमा अवस्थित छ ।

    बाब अल मन्देबलाई ‘आँसुको द्वार’ समेत भनिन्छ । यसले लालसागरलाई अदनको खाडीसँग जोड्छ । विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि यो जलमार्ग अत्यन्त महत्वपूर्ण मानिन्छ ।

    खाडी मुलुकबाट भूमध्यसागरसम्म स्वेज नहर हुँदै पुग्ने कच्चा तेल तथा इन्धन ढुवानीका लागि यो प्रमुख मार्ग हो । एसियाली वस्तु तथा रुसी तेलको अन्तर्राष्ट्रिय ढुवानीमा पनि यसको महत्वपूर्ण भूमिका छ ।

    अल जजिराका यमन मामिला विश्लेषक युसुफ मावरीका अनुसार मोखामाथि नियन्त्रण कायम हुँदा हुथी विद्रोहीले बाब अल मन्देब जलडमरूमध्य आसपासको समुद्री आवागमनमा ठूलो दबाब सिर्जना गर्न सक्छन् ।

    मोखा बन्दरगाह र ताइजसँग जोडिएको सडक नियन्त्रणमा आउँदा हुथीविरोधी सरकारी सेनाको महत्वपूर्ण आपूर्ति मार्गसमेत अवरुद्ध भएको छ ।

    रक्षा नीति विश्लेषक वोल्फगाङ पुस्ताइले अल जजिरासँग कुरा गर्दै मोखामाथिको कब्जालाई यमन युद्धको निर्णायक मोडका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यस घटनाले यमनको दक्षिणी क्षेत्रमा सरकारी सेनाको संरचना नै कमजोर पार्न सक्छ ।

    उनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको पूर्ण नियन्त्रणमा रहेको अन्तिम बन्दरगाह पनि मोखा नै रहेको बताएका छन् ।

    यस घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ । बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयका प्रवक्ताले यमनमा उत्पन्न संकटको पूर्ण जिम्मेवारी हुथी विद्रोहीको रहेको बताएका छन् । उनले तत्काल आक्रमण र तनाव बढाउने गतिविधि रोक्न आग्रह गरेका छन् ।

    विश्वभर प्रख्यात कफीको नामसँग जोडिएको ऐतिहासिक सहर

    मोखा अहिले सामरिक र भूराजनीतिक तनावको केन्द्र बने पनि यसको ऐतिहासिक महत्व निकै पुरानो छ । कुनै समय यो अरब प्रायद्वीपकै प्रमुख व्यापारिक केन्द्र तथा विश्व कफी व्यापारको उद्गमस्थलका रूपमा परिचित थियो । विश्वभर प्रचलित ‘मोका कफी’ नाम पनि यही सहरबाट आएको हो ।

    प्राचीन हिम्याराइट अभिलेखमा ‘मख्न’ नामले उल्लेख भएको यो सहर सन् ५१७ मा एबिसिनियालीहरूले कब्जा गरेका थिए । पछि हिम्याराइट राजा धु नुवासले उनीहरूलाई त्यहाँबाट निष्कासन गरेका थिए ।

    सन् १५३६ देखि १५३८ को अवधिमा ओटोमन साम्राज्यले मोखामाथि नियन्त्रण कायम गर्दै पोर्चुगिजविरुद्ध सैन्य कारबाही सञ्चालन गर्ने आधारका रूपमा विकास गरेको थियो ।

    इतिहासकारहरूका अनुसार सूफी विद्वान् अली बिन उमर अल शाधिलीले एबिसिनियाबाट कफीका दाना मोखा ल्याएका थिए । सन् १५३६ मा ओटोमन शासकहरूले यही बन्दरगाहबाट लालसागर हुँदै स्वेज र अलेक्जान्ड्रियासम्म कफी निर्यात सुरु गरेका थिए । त्यहाँबाट कफी युरोपेली बजारमा पुग्थ्यो ।

    सन् १६२८ मा डच व्यापारीहरूले मोखाबाट पहिलो व्यावसायिक कफी सम्झौता गरेका थिए । पछि उनीहरूले कफीका जीवित बिरुवा र बीउ अन्य क्षेत्रमा पुर्‍याएर जाभा तथा अमेरिकामा खेती विस्तार गरेका थिए ।

    १७औँ र १८औँ शताब्दीमा मोखाको व्यापारिक समृद्धि उत्कर्षमा पुगेको थियो । तर १९औँ शताब्दीको उत्तरार्धमा ओटोमन र बेलायतीबीचको द्वन्द्व तथा अदन र होदेइदाहजस्ता प्रतिस्पर्धी बन्दरगाहको उदयले मोखाको व्यापारिक महत्व घट्दै गयो ।

    यसको असर जनसङ्ख्यामा समेत देखियो । १९औँ शताब्दीमा करिब २० हजार जनसङ्ख्या रहेको मोखामा सन् १९३० को दशकसम्म आइपुग्दा करिब एक हजार मानिस मात्र बाँकी रहेको अनुमान छ । पछि विस्तारै जनसङ्ख्या बढ्दै सन् २००४ सम्ममा १० हजारभन्दा बढी पुगेको थियो ।

    ऐतिहासिक व्यापारिक केन्द्रका रूपमा परिचित मोखा अहिले पुनः विश्वको ध्यान तान्ने रणनीतिक क्षेत्रमा परिणत भएको छ । यसको नियन्त्रणले यमनको आन्तरिक युद्धमा मात्र नभई लालसागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा समेत प्रभाव पार्न सक्ने देखिएको छ । –अलजजीरा

    प्रतिक्रिया दिनुहोस्
    images
    images