images
images
  • नेपाल–भारतले नै तयार पारेको इपीजीको च्याप्टर क्लोज भएको हो ?

    काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को सन्दर्भ सकिएको टिप्पणी गरेपछि नेपालमा त्यसको आलोचना सुरु भएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा मिस्रीले ईपीजी विगतको विषय भइसकेको र भारत पछाडि फर्केर हेर्न नचाहेको बताएका थिए ।

    नेपालका तर्फबाट ईपीजी सदस्य रहेका पूर्वराजदूत नीलाम्बर आचार्यले मिस्रीको भनाइ गलत भएको भन्दै नेपालले आधिकारिक प्रतिक्रिया दिनुपर्ने बताएका छन् ।

    उनका अनुसार दुवै देशका सरकारले गठन गरेको समूहले लामो अध्ययनपछि तयार पारेको प्रतिवेदनलाई बेवास्ता गर्न मिल्दैन ।

    पूर्वपरराष्ट्रमन्त्री एवं ईपीजी सदस्य डा। भेषबहादुर थापाले पनि प्रतिवेदन परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण भइसकेको जानकारी दिँदै यसको सान्दर्भिकता समाप्त नभएको बताएका छन् ।

    पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समेत एकतर्फी रूपमा प्रतिवेदन असान्दर्भिक घोषणा गर्नु खेदजनक भएको टिप्पणी गरेका छन् ।

    सन् २०१६ मा नेपाल र भारतको सहमतिमा गठन भएको ईपीजीले सन् २०१८ मा प्रतिवेदन तयार पारेको थियो ।

    प्रतिवेदनमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन, सीमा व्यवस्थापन, कालापानीलगायतका विवाद समाधान र नेपालको पारवहन अधिकार सुनिश्चित गर्नुपर्ने सुझाव समेटिएका छन् ।

    त्यस्तै, तेस्रो मुलुकबाट हतियार खरिद गर्दा भारतको सहमति लिनुपर्ने व्यवस्था हटाउने, सीमा आवागमनमा परिचयपत्रको व्यवस्था गर्ने तथा भारतका बन्दरगाह र आन्तरिक जलमार्गमा नेपालको सहज पहुँच सुनिश्चित गर्ने विषय पनि प्रतिवेदनमा उल्लेख छन् ।

    परराष्ट्र मन्त्रालयले भने यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

    मन्त्रालयका एक सहसचिवका अनुसार प्रतिवेदन सुरक्षित रहेको र यस विषयलाई उच्च राजनीतिक तहबाटै सम्बोधन गर्नुपर्ने अवस्था छ ।

    ईपीजी सदस्य आचार्यले भारतले प्रतिवेदन बुझ्न अस्वीकार गरे नेपालले आफ्नै पहलमा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

    तर, त्यसअघि भारतसँग पुनः वार्ता र संवाद गर्नुपर्ने उनको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images