काठमाडौं – महानगरपालिकाले अटिजम भएका बालबालिकाको पहिचान, शिक्षा, सीप विकास तथा अनुसन्धानलाई एकीकृत रूपमा अघि बढाउने उद्देश्यले अटिजम विद्यालय तथा अनुसन्धान केन्द्र भवन निर्माण सुरु गरेको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बुधबार वडा नम्बर २९ मा निर्माण हुने भवनको शिलान्यास गरेको हो । शिलान्यास कार्यक्रममा उनले अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नभन्दा उनीहरूको आवश्यकता सम्बोधन गर्न शिक्षा प्रणाली सक्षम छ कि छैन भन्ने विषय महत्वपूर्ण रहेको बताए ।
“हाम्रो शिक्षा प्रणालीले हरेक बालबालिकाको फरक आवश्यकता सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न गर्नुपर्छ,” उनले भने। अटिजम भएका बालबालिकाको आवश्यकता अन्य बालबालिकाभन्दा फरक हुन सक्ने भएकाले उनीहरूलाई सोहीअनुसारको शिक्षा, व्यवहार र सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
उनले नेपालमा अटिजम भएका बालबालिकाको पहिचान, उपचार, शिक्षा र हेरचाह अझै चुनौतीपूर्ण रहेको बताए । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चार हजार ८८६ जनामा अटिजम रहेको तथ्याङ्क छ। तर, अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यले वास्तविक सङ्ख्या योभन्दा धेरै रहेको बताए । उनका अनुसार नेपालमा करिब तीन लाख जनसङ्ख्यामा अटिजम रहेको अनुमान छ ।
डा. अमात्यका अनुसार अटिजम स्नायु प्रणाली तथा मस्तिष्कको विकाससँग सम्बन्धित अवस्था हो । यसबाट प्रभावित बालबालिकामा उमेरअनुसार सामाजिक व्यवहार, सञ्चार तथा अन्तर्क्रियाको विकास फरक ढङ्गले हुन सक्छ । आँखामा आँखा नजुधाउने, एक्लै बस्न रुचाउने, बोल्न वा आफ्ना कुरा व्यक्त गर्न कठिनाइ हुने, एउटै शब्द वा वाक्य दोहोर्याउने तथा खेलमा अरूसँग सहभागी नहुने यसका केही प्रमुख लक्षण हुन् ।
महानगरपालिकाको वडा नम्बर २९ का सचिव शम्भु बरालका अनुसार भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएको छ। २०८४ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिए ।
भवनमा भूमिगत पार्किङ, खुला खेल क्षेत्र, तालिम तथा प्रशिक्षण कक्ष, प्रशासनिक कक्ष र अनुसन्धान कक्ष रहनेछन्। केन्द्र सञ्चालनमा आएपछि अटिजम भएका बालबालिकाको पहिचानदेखि शिक्षा, सीप विकास र अनुसन्धानसम्मका कामलाई एकीकृत रूपमा अघि बढाउन सहयोग पुग्ने महानगरपालिकाको अपेक्षा छ ।






















