images
images
  • थप ६ हजार ५०० भन्दा बढी रोहिंग्या शरणार्थीलाई म्यानमार फर्काउँदै मलेसिया

    काठमाडौं– मलेसियाले ६ हजार ५०० भन्दा बढी रोहिंग्या शरणार्थीलाई म्यानमार फर्काउने भएको छ । प्रधानमन्त्री अनवर इब्राहिमले स्वदेश फिर्तीको नयाँ चरणअन्तर्गत उनीहरूलाई म्यानमार पठाउन लागिएको बताएका छन् ।

    मंगलबार गरिएको यो घोषणा नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयले म्यानमारको सुरक्षा बलले रोहिंग्या अल्पसङ्ख्यकमाथि नरसंहार गरेको ठहर गरेको पाँच दिनपछि आएको हो ।

    मलेसियाले ऐतिहासिक रूपमा म्यानमारबाट विस्थापित भएकाहरूलाई सुरक्षित आश्रय दिँदै आएको छ । तर शरणार्थीको सङ्ख्या ठूलो हुँदै गएपछि मलेसिया उनीहरूप्रति असन्तुष्ट देखिन थालेको छ । शरणार्थीलाई आश्रय दिँदा आर्थिक भार बढेको र सुरक्षा जोखिमसमेत निम्तिएको मलेसियाको भनाइ छ ।

    गत सेप्टेम्बरको अन्त्यतिर करिब १ हजार ५०० आप्रवासीलाई युद्धग्रस्त म्यानमार फर्काइएको थियो । मानव अधिकारवादी संस्थाहरूले भने पारदर्शिता नअपनाइएको उक्त प्रक्रियाप्रति चिन्ता व्यक्त गरेका थिए ।

    मलेसियाको संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री अनवरले डिसेम्बर ६ देखि ७ सम्म तीनवटा नौसैनिक जहाजमार्फत म्यानमारका १ हजार ५०० नागरिकलाई स्वदेश फर्काइने बताए ।

    ‘डिसेम्बर महिनामा म्यानमार सरकारले खर्च बेहोर्ने गरी ५ हजार ३०३ जनालाई हवाईजहाजमार्फत फिर्ता लगिनेछ’, उनले भने ।

    संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको तथ्यांकअनुसार गत अगस्टसम्म मलेसियामा २ लाख २५ हजार ७४० जना शरणार्थी तथा शरण खोज्ने व्यक्ति दर्ता भएका थिए । तीमध्ये करिब ९० प्रतिशत म्यानमारका नागरिक छन् ।

    संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतले गत साता म्यानमारका अधिकारीहरूलाई देशभित्र वा विदेशमा विस्थापित भएका शरणार्थीको ‘सुरक्षित, स्वैच्छिक र सम्मानजनक स्वदेश फिर्ती सुनिश्चित गर्न सहजीकरण गर्न’ आदेश दिएको थियो ।

    मानव अधिकारवादी संस्थाहरूले म्यानमारको सरकारलाई वैधता प्रदान गर्ने जोखिम रहेको र फर्काइने व्यक्तिहरूको सुरक्षामा खतरा उत्पन्न हुन सक्ने भन्दै आलोचना गरे पनि मलेसियाले गत महिना म्यानमारको पूर्वसैनिक शासक तथा वर्तमान राष्ट्रपति मिन आङ ह्लाइङलाई आतिथ्य दिएको थियो ।

    प्रधानमन्त्री अनवरले म्यानमारका पूर्वनेतासँग आफूले गरेको संवाद मलेसियाको हित संरक्षण गर्ने प्रयासको एउटा हिस्सा भएको बताए ।

    साथै उक्त संवाद अन्तर्राष्ट्रिय न्यायालयको आदेशअनुरूप नै रहेको उनको भनाइ थियो । अदालतको आदेशले उत्पीडनबाट भागेकाहरूको ‘सुरक्षित र सम्मानजनक स्वदेश फिर्ती सुनिश्चित गर्ने’ उद्देश्य राखेको उनले बताए ।

    मलेसियामा शरण खोजिरहेका धेरै व्यक्ति ‘म्यानमारको शासन व्यवस्थाले गरेका अत्याचारका पीडित’ भएको अनवरले स्वीकार गरे । तर अब मलेसियाले शरणार्थीलाई आश्रय दिइरहन सक्ने अवस्था नरहेको उनको भनाइ थियो ।

    उनीहरूलाई तेस्रो देशमा पुनर्वास गराउने आशा पनि सफल हुन नसकेको उनले बताए ।

    गत महिनाको अन्त्यतिर मलेसियाले हालै स्वदेश फर्काइएका सयौँ आप्रवासीलाई म्यानमारमा सैनिक हिरासतमा राखिएको भन्ने खबरबारे म्यानमारसँग स्पष्टीकरण माग्ने बताएको थियो ।

    अनवरले स्पष्टीकरण मागिएको विषयबारे उल्लेख गरेनन् । तर रोहिंग्या तथा अन्य जातीय समुदायका विषयमा आफ्नो चासो कायमै रहेको मलेसियाले दोहोर्‍याएको बताए । अन्तर्राष्ट्रिय न्यायालयको फैसलाले पनि उक्त चासोलाई थप जोड दिएको उनको भनाइ थियो ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वकै ‘सबैभन्दा बढी उत्पीडित अल्पसङ्ख्यक’ का रूपमा वर्णन गरिने मुख्यतः मुस्लिम समुदायका रोहिंग्याहरू मलेसियामा रहेका म्यानमारका १ लाख ९० हजार शरणार्थी तथा शरण खोज्ने व्यक्तिमध्ये दुईतिहाइ छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images