काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनसहितका व्यक्तिमाथि डिजिटल प्रमाण नष्ट गरेको र अनुसन्धान प्रभावित पारेको आरोप लगाउँदै प्रहरीमा जाहेरी परेको छ ।
वाईसीएलका केन्द्रीय सचिव धनबहादुर वलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत जाहेरी पठाएका हुन् ।
प्रहरीले सोमबार जाहेरी लिन अस्वीकार गरेपछि उनले हुलाकमार्फत पठाएका हुन् ।
जाहेरीमा प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइलबाट अनुसन्धानसँग सम्बन्धित प्रमाण मेटाइएको आरोप लगाइएको छ ।
फरेन्सिक परीक्षण रिपोर्टका आधारमा मोबाइल असोज १५ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय हुँदै कुपण्डोलस्थित बेनको निवाससम्म पुर्याइएको दाबी गरिएको छ ।
यस प्रकरणमा प्रधानमन्त्रीको सचिवालयका विशाल अधिकारी र चिराग श्रेष्ठ तथा गृहमन्त्रीको सचिवालयका जेम्स कार्कीको भूमिकामाथि समेत अनुसन्धान गर्न वलीले माग गरेका छन् ।
जाहेरीसँगै मोबाइलको फरेन्सिक रिपोर्ट, तस्बिर तथा भिडियो प्रमाण पनि बुझाइएको बताइएको छ ।
वलीले मुलुकी अपराध संहिता, २०७४ को दफा ९३ अनुसार प्रमाण दबाउने, नष्ट गर्ने वा अनुसन्धान प्रभावित पार्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गरेका छन् ।
यता जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले कानुनसम्मत नदेखिएका जाहेरी प्रहरीले दर्ता नगर्न सक्ने बताए ।
प्रहरीबाट जाहेरी दर्ता नभए सरकारी वकिल कार्यालयमार्फत कानुनी प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ ।






















