काठमाडौं– विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारले पुनः विज्ञापन आह्वान गरेको छ ।
यसअघि १८ जनाको आवेदनबाट तीन जनाको नाम सर्टलिस्ट भइसकेको अवस्थामा पुरानो प्रक्रिया टुंग्याउनुपर्नेमा नयाँ विज्ञापन प्रकाशित भएपछि नियुक्ति प्रक्रियामाथि प्रश्न उठेको छ ।
गत भदौ ३ गते तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवको कार्यकालमा १५ दिने सूचना प्रकाशित गरिएको थियो ।
उक्त सूचनामा १८ जनाले आवेदन दिएका थिए ।
छनोट समितिले तीन जनाको नाम सर्टलिस्ट गरे पनि मन्त्री यादवको राजीनामापछि नियुक्ति प्रक्रिया रोकिएको थियो ।
तर, पुरानो विज्ञापन रद्द नगरी गत कात्तिक २१ गते २१ दिने म्यादसहित पुनः नयाँ विज्ञापन प्रकाशित गरिएको छ ।
स्रोतका अनुसार पूर्व नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई सेजको नेतृत्वमा ल्याउने उद्देश्यले नयाँ प्रक्रिया अघि बढाइएको हो ।
भट्टले यसअघि विभिन्न राजनीतिक नेतृत्वको सरकारमा नियुक्ति र जिम्मेवारी पाउँदै आएका छन् ।
उनी २०७० मा पहिलोपटक नेपाल आयल निगमको कार्यकारी निर्देशक बनेका थिए ।
त्यसपछि २०७२ मा सेजको कार्यकारी निर्देशक नियुक्त भएका उनी पुनः अर्को कार्यकाल पनि सोही पदमा पुगेका थिए ।
२०८० फागुनमा उनी दोस्रोपटक आयल निगमको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
वालेन्द्र शाह नेतृत्वको सरकारको दबाबपछि गत वैशाख ३० गते आयल निगमबाट राजीनामा दिएका भट्ट त्यसको केही महिनामै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सल्लाहकार नियुक्त भएका थिए ।
अहिले सेजको कार्यकारी निर्देशक बन्न उनले राजनीतिक तहमा पहल गरिरहेको स्रोतको दाबी छ ।
यसअघि आवेदन नदिएका भट्टलाई लक्षित गरेर पुनः विज्ञापन गरिएको हो कि भन्ने प्रश्नसमेत उठेको छ ।
पुरानो छनोट प्रक्रिया किन निष्कर्षमा पुर्याइएन र नयाँ विज्ञापन गर्नुपर्ने कारण के थियो भन्ने विषयमा मन्त्रालयको निर्णय र आधिकारिक धारणा स्पष्ट हुनुपर्ने देखिन्छ ।
भट्टलाई सेजको नेतृत्वमा पुनः नियुक्त गर्ने प्रयास भइरहेको भन्ने चर्चाले सार्वजनिक संस्थामा नियुक्तिको पारदर्शिता र राजनीतिक पहुँचको विषयलाई फेरि बहसमा ल्याएको छ ।






















