काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव नजिकिँदै जाँदा विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीमा रौनकता छाएको छ।
यतिबेला चुनावमा उठ्ने तयारीमा रहेका उम्मेदवारहरू आफ्नो पक्षमा माहोल बनाउन कस्सिएर लागेका छन्।
आगामी अक्टोबरमा हुन लागेको संघको १० औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हालसम्म तीन उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्ष पदका लागि उम्मेदवारी दिने व्यक्तिहरूमा वर्तमान उपाध्यक्षद्धय डा. बद्रि केसी र रविना थापा रहेका छन् भने गत चुनावमा कुमार पन्तसँग पराजित कुल आचार्यले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।
एनआरएनएको वर्तमान अध्यक्ष कुमार पन्तले अघिल्लो निर्वाचनमा उठ्दा आउँदो कार्यकालका लागि डा. केसीलाई नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए। यसै अनुरुप डा. केसी कोभिड–१९ को प्रतिकूल अवस्थामा पनि निर्वाचनको माहोल बनाउन दौडधुपमा लागेका थिए। यस्तै, यसै महिनाबाट खुलेर आएकी महिला नेतृ थापाको पनि सक्रियता पछिल्लो समय बढेको छ। आचार्यले भने हालै नेपाल आएर अध्यक्षमा पुनः उठ्ने घोषणा गरेका छन्।
अध्यक्षका प्रत्यासी तीनै व्यक्तित्व हाल नेपालमा चुनावी अभियानमा सक्रिय छन्। एनआरएनएको विधानमा यो संस्थालाई गैर–राजनैतिक भनिएको छ। तर नेपालको सबै निकायमा भइरहेको चरम राजनीतिले यो संस्थालाई पनि अछुतो राख्न सकेको देखिदैन।
अहिले तीनै पक्ष राजनीतिक पार्टीको उच्च नेतृत्वलाई भेटेर चुनावी माहोल आफ्नो पक्षमा पार्न सक्रिय देखिन्छन्। केही समयअघि डा. केसीले नेपालका सबै ठूला पार्टीका शीर्षस्थ नेतालाई भेटेका थिए।
केसीको सक्रियता बढेसँगै थापाले पनि राजनीतिक दलका नेतासँग भेटघाटको क्रमलाई तीब्र पारेकी हुन्। यी दुईको राजनीतिक सक्रियता बढेपछि आचार्य पनि यसै साता बेलायतको लण्डनबाट काठमाडौं ओर्लिदै राजनीतिक भेटघाटमा सक्रिय देखिन्छन्।
एनआरएनएको हालको नेतृत्वको कुरा गर्नु पर्दा चुनावी मैदानमा उत्रिएका डा. केसीको पक्ष निकै बलियो मानिन्छ। केसी बामपन्थी खेमा भनेर चिनिन्छन्। तर, उनको बौद्धिकता र एनआरएनएमा लामो सक्रियताका कारण प्रजातान्त्रिक खेमाले पनि उनलाई रुचाएको देखिन्छ। उनको प्रतिद्धन्द्धी थापा र आचार्य पहिलेदेखि नै प्रजातान्त्रिक खेमाको भनेर चिनिने गर्थे।
डा. केसीको उम्मेदवारीसँगै यसपालिको चुनावमा कांग्रेसी खेमा तीन भागमा विभाजन हुने देखिएको छ। कांग्रेसको एउटा पक्ष रवीना थापालाई नेतृत्वमा स्थापित गर्न मरिमेटेर लागेको छ। अर्को पक्ष भने कुलको समर्थनमा उत्रिएको छ। अघिल्लो निर्वाचनमा कांग्रेसको सबै पक्ष लाग्दा पनि कुल आचार्यले चुनाव जित्न सकेका थिएनन्। त्यसैले अहिले कुलको विकल्प रवीना हुने भन्दै कांग्रेसको एउटा पक्ष रवीनाको लविङमा उत्रिएको हो।
देशभित्रको अवस्था जे-जस्तो देखिएपनि कांग्रेसको प्रवास विभाग संगठन मानिने नेपाली जनसम्पर्क समितिले भने यसपालि पार्टीगतभन्दा पनि राम्रो मान्छेलाई चुनावमा अघि सार्ने बताएको छ।
यो कुराको पुष्टी आइतबार जनसम्पर्क समितिका विदेश विभाग प्रमुख गोविन्द भट्टराईले आयोजना गरेको जुम मिटिङबाट भएको हो। बैठकमा भट्टराईले एनआरएनएलाई बलियो र साझा संस्था बनाउन ‘हाम्रो भन्दा पनि राम्रो’ लाई मौका दिने आशयसहितको धारणा व्यक्त गरेका थिए।
उनले भनेका छन्, ‘एनआरएनएभित्र कमजोरी छ भने सुधार गरौँ। साझा संस्था बनाऔँ।’ श्रोतका अनुसार यसपटक एनआरएनएमा लोकतान्त्रिक पक्षको नेतृत्व गर्ने जिम्मा महेश श्रेष्ठलाई दिइएको छ। वर्तमान कार्यसमितिमा श्रेष्ठ कोषाध्यक्ष छन्। उनको सबल नेतृत्वमा एनआरएनएले वित्तिय सुधार गर्नुका साथै आर्थिक पक्षलाई पारदर्शी बनाएको थियो।
त्यसैले उनी आगामी कार्यकालमा उपाध्यक्षका प्रत्यासी हुन्। उनी डा. केसीको टिमका बलियो उम्मेदवार हुन्। श्रेष्ठ प्रजातान्त्रिक विचारधारा अंगालेका व्यक्ति हुन्।
यसपटकको चुनावमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी सदस्य आरजु राणा, प्रकाशमान सिंह, पूर्णबहादुर खड्कालगायतका कांग्रेसी नेताहरूले श्रेष्ठलाई एनआरएनए निर्वाचनमा सबैलाई समेटेर लैजान जिम्मा दिएका छन् ।
‘महेश श्रेष्ठजीलाई प्रजातान्त्रिक मूल्यमान्यता अपनाएका अन्य सक्षम व्यक्तिलाई पनि साथमा लिएर अघि बढ्न कांग्रेसको शीर्ष नेतृत्वले सुझाव दिएको छ,’ कांग्रेस निकट श्रोतले भन्यो।
डा. बद्रि केसीको समावेशी टिममा प्रजातान्त्रिक पक्षधर तीन उम्मेदवार छन्। जसमा श्रेष्ठसहित डा. हेमराज शर्मा र महिला उपाध्यक्ष यासिम बेगम भिड्दैछन्। यस्तै, नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला निकट गौरीराज जोशी डा. केसीको टिमबाट महासचिवको प्रत्यासी रहने पक्कापक्की भइसकेको छ। जोशी वर्तमान कार्यसमितिमा सचिव छन्।
यसैगरी डा. केसीले प्रजातान्त्रिक खेमाबाट दुई जना उम्मेदवारलाई सचिव पदमा उतार्दै छन्। केन्द्रिय तथा अन्य क्षेत्रीय समितिमा पनि डा. केसीले समावेशी टिम खडा गर्ने बताइसकेका छन्।


विश्व खबर 



















