काठमाडौं– ताइवानको रक्षा मन्त्रालयले बिहीबार दुई रुसी सैन्य विमान आफ्नो टापुको पूर्वी क्षेत्रमा उडेको जनाएको छ। दक्षिण दिशाबाट आएका ती विमान पूर्वी क्षेत्र हुँदै अघि बढेका थिए। यसै साता रुसी सैन्य विमान देखिएको यो दोस्रो घटना हो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेनमा रहेका बेला रुसी विमानको यस्तो गतिविधि देखिएको हो। सम्मेलनका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग त्रिपक्षीय भेटवार्ता गरेका छन्।
ताइवानको रक्षा मन्त्रालयका अनुसार ‘बियर’ नामले चिनिने दुई टीयू–९५ रुसी सैन्य विमान ताइवानको हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए। त्यसपछि ती विमान ताइवानको हवाई क्षेत्रबाट बाहिरिँदै उत्तरपूर्वी दिशातर्फ लागेका थिए। ती विमान ताइवानको बन्दरगाह सहर कीलुङ नजिकैबाट अघि बढेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले ताइवानी एफ–१६ लडाकु विमानबाट खिचिएको भन्दै तीमध्ये एउटा रुसी विमानको तस्बिरसमेत सार्वजनिक गरेको छ।
ताइवानको रक्षा मन्त्रालयले संयुक्त गुप्तचर, निगरानी तथा जासुसी संयन्त्र प्रयोग गरी रुसी विमानको सम्पूर्ण उडान गतिविधि निगरानी गरेको जनाएको छ। मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा भनिएको छ, ‘हामीले उक्त गतिविधिको उपयुक्त ढंगले जवाफ दिएका छौँ।’
यसअघि मंगलबार पनि दुई रुसी सैन्य विमान ताइवानको पूर्वी तटीय क्षेत्र हुँदै दक्षिणतर्फ उडेको ताइवानले जनाएको थियो। जापानले पनि सोही दिन यस्तै गतिविधि भएको जानकारी दिँदै विमानको उडान मार्ग देखाउने नक्सा सार्वजनिक गरेको थियो।
शीतयुद्धकालीन पुरानो प्रविधिमा आधारित टीयू–९५ विमानमध्ये केहीले आणविक हतियार बोक्न सक्छन्। यद्यपि यस प्रकारका अन्य विमान लामो दूरीको निगरानी तथा जासुसी प्रयोजनका लागि प्रयोग हुँदै आएका छन्।
यस विषयमा टिप्पणी गर्न आग्रह गर्दा रुसको रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।
यसैबीच बिहीबार एपेक शिखर सम्मेलनको उद्घाटनका क्रममा ताइवानका प्रतिनिधि स्टान सिहले रुसी राष्ट्रपति पुटिनसँग केही समय हात मिलाएका थिए। कम्प्युटर निर्माता कम्पनी एसरका संस्थापकसमेत रहेका सिह ताइवानका तर्फबाट सम्मेलनमा सहभागी छन्।
विश्वकै प्रमुख सेमिकन्डक्टर उत्पादक मुलुकमध्ये एक ताइवानले सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी मुलुकहरूसँगै रुसमाथि व्यापक आर्थिक प्रतिबन्ध लगाएको छ।
चीनको सेनाले भने दैनिकजसो ताइवान वरपर सैन्य गतिविधि सञ्चालन गर्दै आएको छ।
चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ। रुसले पनि पटक–पटक चीनको उक्त दाबीलाई समर्थन गर्दै आएको छ। तर ताइवान सरकारले बेइजिङको सार्वभौमिकता दाबी अस्वीकार गर्दै आफ्नो भविष्यको निर्णय गर्ने अधिकार टापुका जनतामा मात्र रहेको बताउँदै आएको छ।
-ताइपेई/रोयटर्स






















