काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार स्वदेश फर्किएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसँगको त्रिपक्षीय बैठक सम्पन्न गरेपछि उनी अमेरिका प्रस्थान गरेका हुन्।
बैठकपछि ट्रम्प एयरफोर्स वान विमानमा चढेर अमेरिका फर्किएको तस्बिर सार्वजनिक भएको छ।
त्यस्तै रुसी सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिन पनि बैठकस्थलबाट बाहिरिएका छन्। सार्वजनिक भिडियोमा चिनियाँ राष्ट्रपति सी जिनपिङले पुटिनलाई उनको गाडीसम्म पुर्याएको देखिन्छ।
रुसी समाचार एजेन्सी तासका अनुसार तीनै देशका राष्ट्रपतिबीचको बैठक करिब डेढ घण्टा चलेको थियो। बैठक सकिएपछि भने तीनै नेताले सञ्चारमाध्यमसँग कुनै प्रतिक्रिया दिएनन्।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पको सवारी टोली पनि चीनको सेन्झेनस्थित काइलिन भिल्लाबाट बाहिरिएको थियो।
बैठकको सुरुवातमा ट्रम्पले संक्षिप्त सम्बोधन गर्दै विश्वका अन्य देशमा परमाणु हतियार फैलिने जोखिम नियन्त्रण गर्न तीनै देशले मिलेर काम गर्नुपर्ने बताएका थिए।
उनले इरानको विषयमा पनि तीनै देशको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै इरानलाई परमाणु हतियार निर्माण गर्न नदिने बताएका थिए।
ट्रम्पले भनेका थिए, ‘हामी इरानको मामिलामा पनि यही गरिरहेका छौँ। हामी इरानलाई परमाणु हतियार बनाउन दिनेछैनौँ।’
चीनको सेन्झेनमा एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलन आयोजना भइरहेको छ। सम्मेलनमा चीनका राष्ट्रपति सी, अमेरिकी राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति पुटिन सहभागी भएका थिए।






















