काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो ८०३ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको जिलिन प्रान्तका जियानह्वा वाङ रहेका छन् । प्रहरीका अनुसार वाङ मंगलबार राति १ बजेर २५ मिनेटमा हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौं आएका थिए । विमानस्थलको भन्सार तथा सशस्त्र प्रहरीको जाँच क्षेत्र पार गरिसकेपछि उनलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
उनको साथबाट १ किलो ८०३ दशमलव ७७ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका वाङलाई बरामद सुनसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गौचर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















