काठमाडौं– नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले बैंकलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको हो ।
नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रका संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत यो सम्मान प्राप्त गरेको हो । बैंकले यस्तो सम्मान प्राप्त गरेको यो नवौँ पटक हो ।
मंगलबार काठमाडौंमा आन्तरिक राजस्व विभागले आयोजना गरेको राष्ट्रिय कर दिवस विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरीलाई सम्मानपत्र प्रदान गरेका थिए ।
नबिलले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो । त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर दाखिला गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो वर्ष ६० करोड रुपैयाँ बढी कर दाखिला भएको हो ।
सम्मान ग्रहण गर्दै अध्यक्ष चौधरीले यस उपलब्धिलाई नबिल परिवारका लागि गर्वको विषय भएको बताए । उनले सम्मानले कर्मचारीको योगदान र ग्राहकले बैंकप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गर्दै करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको बताए ।
उनले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने, जिम्मेवार व्यावसायिक अभ्यास अवलम्बन गर्ने र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।
चार दशकभन्दा लामो बैंकिङ इतिहास रहेको नबिल बैंकले डिजिटल बैंकिङ र प्रविधिमा आधारित वित्तीय सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको छ । बैंकले एनबैंकमार्फत डिजिटल सेवा विस्तार गरिरहेको छ ।
बैंकका अनुसार हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रबाट राज्यलाई सबैभन्दा बढी कर योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ । यस्तो सम्मानले कर अनुपालन, पारदर्शी व्यावसायिक अभ्यास र राज्यको राजस्वमा निजी क्षेत्रको योगदानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।






















