काठमाडौं – आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरेको छ। निकायगततर्फ सूर्य नेपाल प्रालि र व्यक्तिगततर्फ राजबहादुर शाह सम्मानित भएका छन् ।
विभागले विभिन्न क्षेत्र र कारोबारका आधारमा उत्कृष्ट करदातालाई सम्मान गरेको हो । पर्यटन व्यवसायीतर्फ सोल्टी होटल लिमिटेड, वस्तु तथा व्यापारतर्फ सीजी इम्पेक्स र ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी सम्मानित भएका छन् ।
वार्षिक ५० करोड रुपैयाँभन्दा बढी र एक अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ । रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई सम्मानित भएको छ भने २०७७ साउनदेखि २०८३ असार मसान्तसम्म सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा हिमालयन डिस्टिलरी लिमिटेडले सम्मान पाएको छ ।
त्यस्तै, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल, वस्तु निर्याततर्फ डाबर नेपाल र सूचना प्रविधिसम्बन्धी सेवा निर्याततर्फ इन्फानाइड सफ्टवेयर सर्भिस नेपाल सम्मानित भएका छन् ।
कृषि तथा पशुपक्षीजन्य उद्योगतर्फ ओसीबी फुड्स, बैंक, वित्तीय संस्था तथा बिमातर्फ नबिल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटललाई विभागले सम्मान गरेको छ ।























