काठमाडौं- साउदी अरबका विमानस्थल र ऊर्जा क्षेत्रसँग सम्बन्धित संरचनाहरूमा हुथी विद्रोहीहरूले गरेका आक्रमणले साउदी अरबको नेतृत्वसामु ठूलो चुनौती खडा गरेको छ । यी आक्रमणले साउदी अरबको ‘भिजन २०३०’ योजनामा समेत असर पार्ने खतरा बढेको छ ।
युवराज मोहम्मद बिन सलमानको यो प्रमुख योजनाको उद्देश्य तेलमाथिको देशको निर्भरता घटाउनु र साउदी अरबलाई लगानी, पर्यटन तथा मनोरञ्जनको एउटा प्रमुख विश्वव्यापी केन्द्रका रूपमा विकास गर्नु हो । तर लगातार भइरहेका आक्रमणले स्थिर र सुरक्षित देशका रूपमा साउदी अरबले बनाएको छविमा क्षति पुग्न सक्छ ।
साउदी सरकारका विरोधीहरूका अनुसार देशको वास्तविक शासक मानिने मोहम्मद बिन सलमान अहिले आफ्नो शासनकालकै ‘सबैभन्दा ठूलो संकटहरूमध्ये एक’ को सामना गरिरहेका छन् ।
उनीहरूको दाबी छ, ‘यस्तो अवस्थामा साउदी अरबले अमेरिकाबाट पाउँदै आएको समर्थन कमजोर भएको छ भने अन्य सहयोगी राष्ट्रहरूबाट पनि अपेक्षाकृत सीमित सहयोग मात्र प्राप्त भएको छ ।’
को हुन् साउदी सरकारका विरोधीहरू ?
साउदी अरबमा राजनीतिक दलहरू खोल्न प्रतिबन्ध लगाइएको छ र सरकारले राजनीतिक विरोधलाई स्वीकार गर्दैन । यसै कारण साउदी सरकारका अधिकांश विरोधीहरू देश बाहिर बसेर आफ्ना गतिविधि सञ्चालन गर्छन् ।
यस्ता विरोधीहरूमा सुन्नी इस्लामवादी विचारधारा राख्ने समूह, उदारवादी तथा लोकतन्त्र समर्थक सुधारवादी, शिया समुदायको अधिकारका लागि आवाज उठाउने अभियन्ता र स्वतन्त्र आलोचकहरू पर्छन् ।
विरोधी समूहहरूमध्ये ‘नेसनल एसेम्बली पार्टी’ सबैभन्दा संगठित समूह हो । यस पार्टीमा विभिन्न विचारधारा र पृष्ठभूमिका अभियन्ताहरू आबद्ध छन् ।
साउदी सरकारका विरोधीहरूले केही सञ्चारमाध्यमसमेत सञ्चालन गर्दै आएका छन् । तीमध्ये ‘अल-इस्लाह’ र ‘नबा’ टेलिभिजन नेटवर्क प्रमुख छन् । यी सञ्चारमाध्यमका भिडियोहरू युट्युबमा लाखौं पटक हेरिने गरेका छन् ।
‘लापरबाहीपूर्ण निर्णय लिन बन्द गर’

अक्टोबरमा साउदी अरबमाथि हुथी आक्रमण तीव्र भएपछि विदेशमा रहेका सरकारविरोधीहरूले युद्ध व्यवस्थापन गर्ने सरकारको तरिकामाथि प्रश्न उठाउन थालेका छन् । उनीहरूले सरकारको युद्ध सञ्चालन गर्ने शैलीलाई यस्तो असफलताका रूपमा व्याख्या गरे, जसले साउदी अरबलाई पहिलेभन्दा बढी असुरक्षित बनाएको छ ।
मानव अधिकार अभियन्ता तथा लोकतन्त्र समर्थक याह्या असिरीले यमन युद्धमा रियादको भूमिकाको कडा विरोध गरेका छन् । यद्यपि उनले साउदी अरबका नागरिक, प्राकृतिक स्रोत तथा भौतिक संरचनामाथि कुनै पनि प्रकारको क्षति पुर्याउने कार्यको पनि विरोध गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हुथीहरूलाई थाहा छ कि हामी पहिलेदेखि नै दमनमा परेका र पराजित मानिसहरू हौं । यस युद्धको क्षति उनीहरूले नै व्यहोर्नुपरेको छ, जो पहिलेदेखि नै आफ्ना अधिकारबाट वञ्चित छन् र जसले यो युद्ध रोजेका पनि थिएनन् ।’
असिरीले युद्धमा संलग्न सबै पक्षबाट सर्वसाधारण नागरिकको हत्या भएको घटनाको निन्दा गरेका छन् । उनले रियादका साथै यमनको घेराबन्दीमा परेको सहर ताइज र हुथीहरूको नियन्त्रणमा रहेका सना तथा होदेइदामा सर्वसाधारण नागरिक मारिएको घटनालाई पनि उल्लेख गरेका छन् ।
उनको पार्टी ‘नेसनल एसेम्बली पार्टी’ ले युद्ध अन्त्य गर्न माग गरेको छ । पार्टीले साउदी नेतृत्वलाई सम्बोधन गर्दै सबैको ज्यान जोखिममा पार्ने खालका ‘लापरबाहीपूर्ण निर्णय लिन बन्द गर्न’ आग्रह गरेको छ ।
शिया समुदायका सरकारविरोधी अभियन्ता अली अल-अहमदले पनि मोहम्मद बिन सलमानलाई युद्ध अन्त्य गर्न अपिल गरेका छन् । उनले भनेका छन्, ‘यो युद्ध अन्त्य गर्नुहोस्, कुनै सम्झौतामा पुग्नुहोस् र मानिसहरूको ज्यान बचाउनुहोस् ।’
लेखक तथा शिया अभियन्ता फुआद इब्राहिमले एक्समा लेखेका छन्, ‘यो खेल बन्द गर्नुहोस् । अब अति भइसक्यो । पूर्ण रूपमा निराश र पराजित मानिसहरूले मात्र तपाईंको झूटो कुरामा विश्वास गर्नेछन् ।’
अमेरिका र मक्का सम्झौतामाथि प्रश्न
साउदी सरकारका विरोधीहरूले यस युद्धमा अमेरिकाबाट प्राप्त भइरहेको सहयोग पर्याप्त नभएको बताएका छन् । उनीहरूले टर्किए र पाकिस्तानसँग भएको मक्का सम्झौताको प्रभावकारितामाथि पनि प्रश्न उठाएका छन् ।
यस सम्झौतालाई नेटो जस्तै पारस्परिक रक्षा गठबन्धनका रूपमा प्रस्तुत गरिएको थियो । तर विरोधीहरूका अनुसार अंकारा र इस्लामावादले अहिलेसम्म साउदी अरबलाई कुनै ठूलो सहयोग उपलब्ध गराएका छैनन् ।
मोहम्मद बिन सलमानको विरोध गर्दै आएको वेबसाइट ‘सौत अल-नास’ ले उक्त सम्झौतालाई केवल ‘देखावटी’ भनेको छ ।
‘सुरक्षामा होइन, ठूला आयोजनामा खर्च’

युद्ध चर्किंदै गएपछि मोहम्मद बिन सलमानले देशभित्र अपनाएका आर्थिक तथा विकाससम्बन्धी प्राथमिकतामाथि पनि प्रश्न उठ्न थालेका छन् । विरोधीहरूको आरोप छ, ‘सरकारले मनोरञ्जन र ठूला विकास आयोजनामा ठूलो रकम खर्च गर्यो, तर त्यसको मूल्य देशको कमजोर सुरक्षा व्यवस्थाका रूपमा चुकाउनुपरेको छ ।’
सामाजिक सञ्जालमा मोहम्मद बिन सलमानसँग जवाफ माग्नेहरूको संख्या पनि बढिरहेको छ । केही आलोचकहरूको भनाइ छ, उनले ‘भिजन २०३०’ योजनामा अर्बौं डलर लगानी गरे, तर देशको सुरक्षा सुनिश्चित गर्न सकेनन् ।
मानव अधिकार संगठन ‘सनद’ का प्रमुख सइद बिन नासिर अल(गामदीले अक्टोबर ११ मा एक्समा लेखेका थिए कि मोहम्मद बिन सलमानले यमन युद्ध सुरु गरेर पूरै देशलाई त्यसमा संलग्न गराए ।
रिपोर्टहरूका अनुसार अल-गामदीले बेलायतमा शरण मागेका छन् । उनले लेखेका छन्, ‘त्यसपछि सन् २०२२ मा उनले हुथीहरूसँग युद्धविराम गरे र मनोरञ्जनका गीतसंगीत, नाचगानका कार्यक्रम तथा काल्पनिक परियोजनाहरूका बीच आरामसँग बस्न थाले । तर यस अवधिमा हुथीहरू भने लामो युद्धको तयारी गरिरहेका थिए ।’
अन्य आलोचकहरूले पनि साउदी अरबमा बढ्दै गएका सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता र संगीत समारोहहरूको चर्चा गरेका छन् । यस्ता आयोजनालाई लिएर यसअघि पनि विभिन्न प्रश्न उठ्दै आएका थिए ।
उनीहरूले क्षेत्रीय सुरक्षा र राष्ट्रिय रक्षालाई भन्दा सरकारले ‘सांस्कृतिक कार्यक्रम’ लाई बढी प्राथमिकता दिएको भन्दै प्रश्न उठाएका छन् ।
विरोधी समूह ‘साउदी बास’ ले साउदी नागरिकहरू ‘डरको वातावरणमा बाँच्न बाध्य भएको’ बताउँदै सरकारले ‘देशका ढोकाहरू नाचगानका लागि खुला गरेको’ टिप्पणी गरेको छ ।
‘यी मनोरञ्जनात्मक कार्यक्रम बन्द गर्नुपर्छ’
एक्समा ‘टुवर्ड्स फ्रिडम’ नामको पेजले एउटा संगीत कार्यक्रमको भिडियो सार्वजनिक गरेको थियो । उक्त पेजका १२ लाख फलोअर छन् । भिडियोमा केही महिलाहरू नाचिरहेको देखिन्छ ।
उक्त पेजले लेखेको छ, ‘यदि तपाईंहरू वास्तवमै हुथीहरूको सामना गर्न गम्भीर हुनुहुन्छ भने यी मनोरञ्जनात्मक कार्यक्रम बन्द गर्नुपर्छ ।’
सरकारविरोधी पत्रकार तुर्की अल-शलहुबले एक्समा आफ्ना १७ लाख फलोअरलाई सम्बोधन गर्दै साउदी अरबले वास्तविक सैन्य चुनौतीको सामना गर्नुपर्दा ‘रक्षा उद्योगसँग सम्बन्धित प्रतिबद्धता र वाचाहरू’ हराएको टिप्पणी गरेका छन् ।
उनले प्रश्न गरेका छन्, ‘यस उद्योगका लागि छुट्ट्याइएको अर्बौं डलर आखिर कहाँ गयो ?’
विरोधीहरूले सुरक्षा व्यवस्थाको असफलताका रूपमा व्याख्या गरेका घटनापछि केही व्यक्तिहरूले साउदी सरकारलाई सत्ताबाट हटाउनुपर्ने मागसमेत गर्न थालेका छन् ।
‘यो युद्धबाट इजरायललाई फाइदा पुगेको छ’
साउदी सरकारका केही विरोधीहरूको भनाइ छ, ‘हुथीहरूविरुद्ध साउदी अरबले सञ्चालन गरेको युद्धबाट इजरायललाई फाइदा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर १६ मा साउदी अरबले इजरायलबाट सहयोग पाउँदा ‘निकै खुसी’ भएको बताएका थिए ।’
उनले साउदी अरब र इजरायलबीच सम्बन्ध सामान्य बनाउने सम्भावनाबारे अहिले पहिलेभन्दा बढी चर्चा भइरहेको पनि बताएका थिए ।
अमेरिकामा बस्दै आएका अनुसन्धानकर्ता तथा ‘नेसनल एसेम्बली पार्टी’ का सदस्य अब्दुल्लाह अल-औदाले ट्रम्पको उक्त भिडियो एक्समा साझा गरेका थिए । उनले त्यसमा ‘सम्बन्ध सामान्यीकरण गर्नु विश्वासघात हो’ भन्ने ह्यासट्याग प्रयोग गरेका थिए ।
उनले यस युद्धमा अमेरिकाको कुनै पनि प्रकारको संलग्नताको विरोध गरेका छन् ।
अल-औदाका अनुसार यस युद्धको मूल्य साउदी अरबका नागरिक र त्यहाँका भौतिक संरचनाहरूले चुकाउनुपरेको छ ।
अल-गामदीले एक्समा लेखेका छन्, साउदी अरबले नाचगान र फुटबल रंगशालाहरूमा अर्बौं डलर खर्च गर्यो । उनका अनुसार यही कारण हुथी आक्रमण सुरु भएपछि साउदी अरबले सहयोगका लागि इजरायलतर्फ हेर्नुपर्ने अवस्था आयो ।
याह्या असिरीले पनि अक्टोबर ११ मा गरेको एउटा पोस्टमा ‘युद्ध भड्काउने मानिसहरूले’ क्षेत्रीय स्थिरतालाई कमजोर बनाउने र ‘इजरायललाई बलियो बनाउने’ बताएका थिए।
‘साउदी लिक्स’ वेबसाइटले पनि साउदी अरब र इजरायलबीच सम्बन्ध नजिकिने सम्भावनाबारे चर्चा गरेको छ ।
उक्त वेबसाइटले यमनमा हुथीहरूविरुद्ध हालै गरिएको सैन्य कारबाहीमा इजरायल पनि संलग्न रहेको दाबी गरेको छ ।
‘भिजन २०३०’ योजनामा कस्तो असर पर्न सक्छ ?

सन् २०३० नजिकिँदै जाँदा मोहम्मद बिन सलमानको आर्थिक योजनासामु विभिन्न चुनौतीहरू देखिन थालेका छन् । ‘भिजन २०३०’ तेलमाथि निर्भर साउदी अर्थतन्त्रलाई विविधीकरण गर्दै नयाँ आर्थिक आधार निर्माण गर्ने एउटा महत्त्वाकांक्षी योजना हो ।
सरकारका विरोधीहरूको भनाइ छ, ‘यो योजनाको सफलता देशको स्थिरता र लगानीकर्ताहरूको विश्वासमा निर्भर गर्छ । तर क्षेत्रीय युद्धका कारण यी दुवै विषयमा प्रश्न उठ्न थालेका छन् ।’
साउदी मूलकी बेलायती प्राध्यापक मादावी अल-रशीदले एक्समा लेखेकी छन्, ‘पश्चिमी विश्लेषकहरूले ‘भिजन २०३०’ को प्रशंसा गर्दै आएका थिए । तर रियादको आर्थिक सपना अब ‘विगतको कुरा’ बन्न थालेको छ ।’
उनका अनुसार मोहम्मद बिन सलमानले पश्चिमी सञ्चारमाध्यममा आफ्नो सफलताको कथा र समृद्धिको छविमाथि राख्दै आएको नियन्त्रण गुमाएका छन् ।
लन्डनमा बस्दै आएका ‘मुभमेन्ट फर इस्लामिक रिफर्म इन अरेबिया’ का नेता तथा ‘अल-इस्लाह’ नेटवर्कका प्रस्तोता साद अल-फकिहले पश्चिमी सञ्चारमाध्यमले अहिले साउदी नेतृत्वको ‘मजाक उडाउन थालेको’ बताएका छन् ।
तुर्की अल-शलहुबले एक्समा लेखेका छन्, चमकधमक र देखावटी विकासमा ध्यान केन्द्रित गर्दैमा साउदी नागरिकहरूको सुरक्षामा खासै सहयोग पुग्दैन ।
सरकारविरोधीहरूमाथि प्रतिबन्ध बढाइएको आरोप

पछिल्लो तनावका बीच साउदी अरबभित्र सरकारविरोधीहरूका केही सामाजिक सञ्जाल अकाउन्ट बन्द गरिएका खबरहरू पनि सार्वजनिक भएका छन् ।
‘द गार्डियन’ को रिपोर्टअनुसार अगस्ट महिनामा एक्समा साउदी सरकारका विरोधीहरूसँग सम्बन्धित ६० भन्दा बढी अकाउन्ट बन्द गरिएका थिए ।
यसअघि मे महिनामा पत्रकारहरूको संरक्षणका लागि काम गर्ने संस्था ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ (सीपीजे) ले इरानसँगको युद्धबारे खाडी मुलुकहरूमा भइरहेको सञ्चारमाध्यमको रिपोर्टिङमाथि कारबाही गरिएको विषय उठाएको थियो ।
उक्त संस्थाका अनुसार साउदी अरबमा ‘संवेदनशील राजनीतिक विषयमा समाचार सम्प्रेषण गर्नुलाई राष्ट्रिय सुरक्षाविरुद्धको अपराध मान्ने गरिएको छ ।’
त्यही महिना बेलायतमा सक्रिय मानव अधिकार संगठन ‘सनद’ ले साउदी अधिकारीहरूले सरकारविरोधीहरूका टिकटक, स्न्यापच्याट र मेटाका अकाउन्टहरू बन्द गराएको आरोप लगाएको थियो ।
संगठनका अनुसार अधिकारीहरूले यस्ता प्रतिबन्ध एक्ससम्म विस्तार गर्ने प्रयाससमेत गरिरहेका छन् ।
अक्टोबरमा हुथीहरूले साउदी अरबका भौतिक संरचनाहरूमा आक्रमण गरेका बेला बेलायतमा बस्दै आएका सरकारविरोधी तथा हास्यकलाकार गानिम अल-दोसरीले रियादको आग्रहमा आफ्नो एक्स अकाउन्ट बन्द गरिएको आरोप लगाएका थिए ।
अल-दोसरीका अनुसार उनले किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी आक्रमणबाट मारिएका मानिसहरूबारे पोस्ट गरेका थिए । त्यसपछि उनको अकाउन्ट बन्द गरिएको थियो ।
उनले व्यङ्ग्य गर्दै भनेका थिए, ‘तर पनि साउदी अरबले हुथीहरूका क्षेप्यास्त्र र ड्रोन रोक्न सकेन ।’
-एजेन्सीहरु





















