काठमाडौं– अमेरिकामा आइतबारसम्म ५ करोडसम्मले अर्ली इलेक्सनको सुविधाअन्तर्गत मतदान गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सफलता हात पारेको निर्वाचनमा अर्ली इलेक्सनमा २ करोड ३० लाख मत खसेको थियो ।
दुई दिन बाँकी रहँदासम्मको मत सर्वेक्षणअनुसार डेमोक्रेटको पक्षमा ५१.५ र रिपब्लिकनको पक्षमा ४३.१ प्रतिशत मत छ । राष्ट्रपति ट्रम्पले इरानमा युद्ध गर्ने सवालमा इजरायलसँग गरेको सहकार्यको कारण उनको लोकप्रियता घटेको जनाइन्छ । सोही कारणले महँगी बढेको र जीवनयापनमा समस्या परेको धेरैको गुनासो छ ।
धेरै राज्यमा हुलाकमार्फत मतदान भएको छ । सो मतदानको नतिजा भने कसैलाई पनि थाहा छैन । ५ करोड अर्ली मतदान गर्नेमध्ये ३ करोड मतदान केन्द्रमा गएर मतदान गरे भने २ करोडले हुलाकमार्फत मतदान गरे ।
यसअघि सन् २०२२ को मध्यावधि निर्वाचनमा ४ करोड ६० लाख जनाले अर्ली इलेक्सनमा सहभागिता जनाएका थिए ।
यसअघि सबैभन्दा धेरै अर्ली इलेक्सनमा सहभागी भएको र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई साथ दिएको साउथ क्यारोलिनामा पनि अहिले सिनेट सदस्य र गभर्नरको लागि चुनाव हुँदैछ । यो राज्यमा अहिले भने रिपब्लिकनका लागि सहज मानिएको छैन ।
सबैभन्दा धेरै अर्ली भोटिङ बढेको कानासमा पनि हो । कानासमा चार वर्षअघिको यसै मध्यावधि निर्वाचनमा भन्दा ३४ प्रतिशत बढी मतदान भएको छ । माइनेमा पछिल्लो उपनिर्वाचनको तुलनामा अर्ली इलेक्सनमा ४४ प्रतिशत बढी मत खसेको छ । मिचिगनमा पनि गएको मध्यावधि निर्वाचनमा भन्दा ४ लाख ८ हजार बढी मत अर्ली इलेक्सनमा खसिसकेको छ ।
यस निर्वाचनमा डेमोक्रेटको तर्फबाट योजना बनाइरहेकी क्यालिन्डा लेक अर्ली भोटिङ गरेको धेरै जनामा परिवर्तनको चाहना रहेको बताउँछिन् । आफैंले पनि मेलबाट भोटिङ गरेका राष्ट्रपति डोनाल्ड ट्रम्प भने यसको सुरक्षामा शङ्का देख्न थालेका छन् ।
अमेरिकामा धेरै वर्ष अघिदेखि हुलाक (मेल) मार्फत मतदानको चलन भएको हो । यसले अर्ली इलेक्सन र मेलबाट मत दिने चलन बढेपछि अमेरिकामा पहिलेको तुलनामा धेरै मतदान हुन थालेको छ ।






















