काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले आफ्ना पदाधिकारी तथा उच्च अधिकारीहरूको सम्पत्ति र अनलाइन गतिविधिमाथि कडा निगरानी बढाउने तयारी गरेको छ ।
आइतबार सार्वजनिक भएको एक पार्टी दस्तावेजमा आफ्ना अधिकारीहरूको सम्पत्ति र अनलाइन गतिविधिमाथि निगरानी बढाउने खाका प्रस्तुत गरिएको छ ।
सीसीपीको शक्तिशाली केन्द्रीय समितिको यो दस्तावेज सिन्ह्वा न्यूज एजेन्सीद्वारा प्रकाशित भएको हो । यो बेइजिङमा यस साता सम्पन्न पार्टीको वार्षिक पूर्ण बैठकपछि आएको हो जसले शासन व्यवस्था र भ्रष्टाचार नियन्त्रणमा जोड दिएको थियो ।
चीनमा राष्ट्रपति सी जिनपिङले एक दशकभन्दा बढी समयदेखि भ्रष्टाचारविरुद्ध कडा अभियान चलाएका छन् । यस क्रममा हजारौं अधिकारी फसेका छन् भने शक्तिशाली केन्द्रीय समितिका दर्जनौं सदस्य र थुप्रै उच्च सैन्य अधिकारीहरूलाई पदमुक्त गरिएको छ ।
आइतबार सार्वजनिक भएको प्रस्तावले पार्टीको नीति दिशा स्पष्ट पार्दै अधिकारीहरूमाथि कडा अनुगमनको आह्वान गरेको छ ।
‘उच्च पदस्थ अधिकारीहरूबाट सुरु गर्दै हामी अधिकारीहरूको सर्वाङ्गीण व्यवस्थापन र नियमित निगरानीलाई कडा बनाउने छौं । उनीहरूको सम्पूर्ण करियरभरि कडा मापदण्ड लागू गर्ने छौं’, दस्तावेजमा भनिएको छ, ‘परिवारको सम्पत्ति र खर्च सामान्य आम्दानीभन्दा धेरै बढी भएकाहरूको जाँच गरिनेछ र सम्बन्धित प्रमाणीकरण गरिनेछ ।
अधिकारीहरूका जीवनसाथी र छोराछोरीका व्यापारिक गतिविधिमाथि पनि निगरानी बढाइने बताइएको छ ।
‘हामी पार्टी सदस्यहरूको अनलाइन व्यवहारलाई अझ राम्रोसँग नियमन गर्नेछौं’, प्रस्तावमा उल्लेख छ ।
प्रस्तावमा पार्टीले ‘भर्चुअल’ मुद्रा र ‘ब्लकचेन’मार्फत हुने भ्रष्टाचारविरुद्ध पनि लड्ने उल्लेख छ । बिहीबार सकिएको पूर्ण बैठकले ‘पार्टीको पूर्ण र कडा शासनलाई अगाडि बढाउने’ निर्णय अपनाएको हो, जसमा कार्यकर्ताहरूद्वारा हुने गरेका भनिएका भ्रष्टाचार घटाउने कुरा समावेश छ ।
सिन्ह्वाले थप ३३ जना उच्च पदाधिकारीहरूलाई निष्कासन गरिएको पुष्टि गरेको छ । यसमा पूर्व पोलिटब्युरो सदस्य झाङ यौसिया पनि रहेका छन् । उनी एक समय चीनका सर्वोच्च दर्जाका जनरल थिए ।
पार्टीका समर्थकहरूले चीनको भ्रष्टाचार नियन्त्रण अभियानले स्वच्छ शासनलाई प्रवर्द्धन गर्ने विश्वास गर्छन् ।
यद्यपि विश्लेषकहरूले यी कदमहरू सन् २०२७ को पहिलो ६ महिनापछि हुने पार्टी कंग्रेस (सम्मेलन) मा सीको शासन थप लम्ब्याउने बाटो सहज बनाउन लक्षित रहको हुनसक्ने बताएका छन् ।
आइतबारको केन्द्रीय समितिको प्रस्तावले ‘पार्टीभित्रको लोकतन्त्रको प्रभावकारिता सुधार्ने’ आह्वान पनि गरेको छ । सदस्यहरूलाई आफ्ना विचार व्यक्त गर्ने थप माध्यम उपलब्ध गराउने र उनीहरूलाई ‘मन खोलेर बोल्न’ प्रोत्साहित गर्ने कुरा यसमा छ ।
‘हामीले पार्टीभित्र लोकतन्त्र अभ्यास गर्ने प्रणालीलाई कायम राख्नु र सुधार गर्नुपर्छ, पार्टी सदस्यहरूको प्रमुख स्थानको सम्मान गर्नुपर्छ र उनीहरूका लोकतान्त्रिक अधिकारको रक्षा गर्नुपर्छ’, केन्द्रीय समितिको प्रस्तावमा भनिएको छ ।






















