काठमाडौं– रुस र युक्रेनबीचको युद्धमा साइबर आक्रमणको समस्या आएको छ । दुवै देशले आफ्नो देशको सुरक्षा अलर्ट सिस्टममा साइबर आक्रमण भएको जनाएका छन् । मस्कोमा रहेका इमर्जेन्सी मन्त्रीले यसरी गरेको आक्रमणका कारण गलत सूचना प्रवाह भएको बताएका छन् ।
युक्रेनमा गलत रूपले चेतावनी युक्त कुरा पुगेको केही समयमा नै मस्कोमा पनि यसरी गलत सूचना प्रवाह भएको हो । यसको कारण र रहस्यबारे संसार नै अन्योलमा परेको छ ।
स्ट्यानफोर्ड विश्वविद्यालयमा साइबर नीति तथा सुरक्षामा काम गर्ने हवर्ट लिन भने युक्रेनमा रहेको यो साइबर सुरक्षाको अन्त्य नहुने बताउँछन् ।
यसअघि बाराक ओबामा अमेरिकाको राष्ट्रपति भएको समयमा राष्ट्रपति कार्यालयमा काम गरेका लिनले युक्रेनको हकमा पहिलो पटक यसखाले घटना भएको बताउँदै यो शृङ्खला नरोकिने बताए ।
अहिले यसरी गलत सूचना प्रवाह हुन थालेपछि दुवै देशलाई अप्ठेरो परेको छ । रुसमा त युक्रेनमा आणविक हतियार नै प्रहार गर्ने योजना बनाएको सूचना फैलिएको थियो ।
युक्रेनमा पनि रुसले तीव्र आक्रमण गर्ने भएकाले सतर्कता अपनाउन भनिएको थियो । यो सूचना राजधानी किभलगायत देशका सबै स्थानका लागि भएको थियो ।
अहिले खेर्सनको युद्धविरामको समय सकिएको छ । यसै समयमा गलत सूचना आउने र एप ह्याक हुने समस्याले सबै जना आजित भएका छन् । ६ दिन लामो युद्धविराममा धेरै जना ओलेस्कीबाट खर्सेन पुगेका थिए । प्रथम अमेरिकी महिला मेलनिया ट्रम्पको प्रयासमा युद्धविराम भएको थियो ।
केही समयअघि रुसले सूचना जारी गरेर आफ्नो एप डाउन भएको जनाउँदै अन्य कुनै स्रोतबाट देशभरि सूचना पठाएको जानकारी दिएको हो ।
यसैबीच पछिल्लो समय रुस र युक्रेन दुवैले एकापसको ऊर्जा संरचनामा आक्रमण गरेका छन् । एसटोभो ऊर्जा केन्द्रका प्रमुख झिमी नागोर्डले ऊर्जा केन्द्रमा लगातार आक्रमण भएको बताइन् ।
उनले युक्रेनको नीति नै रुसमा लगातार आक्रमण गर्ने योजना रहेको उल्लेख गरे ।
रुसले युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण गरेपछि युक्रेनले पनि त्यसको प्रत्याक्रमण स्वरूप आक्रमण गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले गएराति रुसले चार ऊर्जा केन्द्रमा आक्रमण गरेको जानकारी दिए । उनका अनुसार धेरै घर अहिले अँध्यारोमा नै छन् ।






















