काठमाडौं– भारतले नयाँदिल्लीमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी हुन पाकिस्तानलाई निमन्त्रणा दिएको छ । गत वर्ष दुई आणविक हतियार सम्पन्न दक्षिण एसियाली देशबीच सैन्य तनाव उत्पन्न भएपछि भारतले पहिलो पटक पाकिस्तानलाई यस्तो निमन्त्रणा दिएको हो ।
भारतले नोभेम्बर २० देखि २२ सम्म दिल्लीमा आयोजना हुने पहिलो एससीओ सभ्यतासम्बन्धी संवाद मञ्चमा सहभागी हुन पाकिस्तानका राष्ट्रिय सम्पदा तथा संस्कृतिमन्त्री औरङ्गजेब खान खिचीलाई निमन्त्रणा दिएको छ ।
गत वर्ष भएको सैन्य झडपपछि भारतले पाकिस्तानी मन्त्रीलाई निमन्त्रणा दिएको यो पहिलो घटना हो । भारतले उक्त सैन्य कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको थियो । जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा दुई दर्जनभन्दा बढी भारतीय नागरिकको ज्यान गएपछि भारत र पाकिस्तानबीच सैन्य तनाव बढेको थियो ।
खिचीले निमन्त्रणा स्वीकार गरेमा सन् २०२३ मा गोवामा भएको एससीओका विदेशमन्त्रीहरूको बैठकपछि पहिलो पटक पाकिस्तानी मन्त्री भारत भ्रमणमा आउनेछन् । उक्त बैठकमा पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो सहभागी भएका थिए ।
ताजिकिस्तानको दुशान्बेमा आयोजित एससीओका सदस्य राष्ट्रका सरकार प्रमुखहरूको परिषद् बैठकमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले निमन्त्रणा दिएको जानकारी गराएका थिए । सोही क्रममा उनले पाकिस्तानको नाम नलिई आतंकवादलाई सहयोग गर्ने पक्षप्रति भारतको चिन्ता पनि व्यक्त गरे ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक डार उपस्थित रहेको कार्यक्रममा सिंहले भने, ‘आतंकवादसँग व्यवहार गर्दा दोहोरो मापदण्ड हुनु हुँदैन । आतंकवादीलाई आर्थिक सहयोग गर्ने, समर्थन गर्ने वा सुरक्षित आश्रय दिनेहरूका लागि कुनै ठाउँ हुनु हुँदैन । आतंकवादको सम्पूर्ण सञ्जाललाई दृढतापूर्वक र सामूहिक रूपमा ध्वस्त पार्नुपर्छ ।’
सांघाई सहयोग संगठनमा बेलारुस, चीन, भारत, इरान, काजकिस्तान, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० सदस्य राष्ट्र छन् । यसका अतिरिक्त १५ संवाद साझेदार राष्ट्र छन् भने अफगानिस्तान र मंगोलिया पर्यवेक्षकका रूपमा रहेका छन् ।
–एजेन्सी





















