काठमाडौं– अरब पार्टीहरुको संयुक्त सूचीका नेता युसुफ जबरिनले बेन्जामिन नेतान्याहुलाई सत्ताबाट हटाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेता जबरीनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अतिवादी दक्षिणपन्थी गठबन्धन सरकार ढाल्न आफ्नो पार्टीले जिम्मेवारी लिन तयार रहेको बताएका हुन् ।
राष्ट्रिय दैनिक येदियोथ अहरोनोथका अनुसार जबरिनले भनेका छन्, ‘सरकारले प्रत्येक अरब नागरिकको जीवन कष्टकर बनाएको छ ।’
उनले आफूहरुको आन्दोलनले आफ्ना मूल्य र मान्यतालाई अघि बढाउन राजनीतिक शक्तिको उपयोग गर्न जानेको पनि बताए ।
‘हामी नेतान्याहु, बेन-गभिर र स्मोट्रिचको सरकारलाई हटाउने र उनीहरूलाई घर पठाउने बाटो खोल्न तयार हुनेछौं’, जबरिनले भने ।
आंशिक निर्वाचन परिणामअनुसार संयुक्त सूचीले १३ सिट जित्ने अनुमान गरिएको छ । अरब पार्टीहरूले संयुक्त रूपमा भने १९ सिट प्राप्त गर्ने अनुमान गरिएको छ ।
जुन नयाँ सरकार बनाउन निर्णायक हुने बताइएको छ । हाल मतगणना जारी रहेको इजरायलको निर्वाचनको प्रारम्भिक नतिजाले कुनै पनि दलले बहुमत प्राप्त नगर्ने सम्भावना बढेको छ ।
इजरायलको संसद नेसेट १२० सदस्सीय रहेको छ ।





















