काठमाडौं– स्पेनको राजधानी म्याड्रिडको दक्षिणमा मोरा र ओर्गाज नगरपालिका क्षेत्रबीच बुधबार बिहानै दुईवटा तीव्र गतिको रेल एकापसमा ठोक्किएका छन् । अधिकारीहरूका अनुसार दुर्घटनामा ३० जनाको मृत्यु भएको छ ।
कास्तिया-ला मांचा क्षेत्रीय सरकारकी प्रवक्ता एस्तेर पडियाले स्थानीय टेलिभिजनसँग कुरा गर्दै रेल दुर्घटनामा मृतकको संख्या अझै बढ्न सक्ने बताएकी छन् ।
रेल सञ्चालक एडिफका अनुसार दुर्घटना रेल कम्पनी रेनेफेको एउटा रेल र इर्यो कम्पनीको अर्को रेलबीच भएको हो । इर्यो कम्पनीले म्याड्रिडदेखि सेभियासम्म रेल सेवा सञ्चालन गर्दै आएको छ ।
एडिफले सामाजिक सञ्जाल एक्समार्फत उक्त रेलमार्गमा चल्ने सबै रेललाई बाटोमा पर्ने विभिन्न स्टेसनमा रोकिएको जानकारी दिएको छ ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले टोलेडोमा भएको ‘भीषण रेल दुर्घटनाबाट स्तब्ध भएको’ बताएका छन् ।
सान्चेजले सामाजिक सञ्जाल एक्समा लेख्दै आफू यातायातमन्त्री र कास्तिया–ला मन्चा क्षेत्रका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।
उनका अनुसार घटनास्थलमा आपत्कालीन सेवाका टोलीहरू उद्धार तथा राहत कार्यमा जुटेका छन् । दुर्घटनामा प्रभावित मानिसहरूलाई सहयोग गर्न र उनीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सबै प्रशासनिक निकायले मिलेर काम गरिरहेका छन् ।
सान्चेजले भनेका छन्, ‘सबै पीडित र उनीहरूका परिवारप्रति मेरो समवेदना, ऐक्यबद्धता र समर्थन छ ।’
सान्चेजसहित स्पेनका अन्य नेताहरूले बुधबारका लागि तय गरिएका आफ्ना सबै सार्वजनिक कार्यक्रम रद्द गरेका छन् । रद्द गरिएका कार्यक्रमहरूमा अर्को महिना हुने संसदीय निर्वाचनका लागि सञ्चालन भइरहेका चुनावी प्रचार अभियानसमेत रहेका छन् ।





















