काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लक्षित गर्दै उनका प्रमुख प्रतिस्पर्धी गादी आइसेनकोटले अप्रत्यक्ष चेतावनी दिएका छन् । केही पर्यवेक्षकहरूले नेतान्याहुले आफ्नो प्रधानमन्त्री पद लम्ब्याउन इरानमाथि फेरि आक्रमण गर्नसक्ने आशंका व्यक्त गरिरहेका बेला आइसेनकोटले यस्तो चेतावनी दिएका हुन् ।
‘नेतान्याहु, आफ्नो राजनीतिक स्वार्थका लागि इजरायलको सुरक्षालाई प्रयोग गर्ने आँट नगर’, आइसेनकोटले भने ।
उनले नेतान्याहुलाई जनादेश र जनताको विश्वास दुवै गुमाएका कामचलाउ प्रधानमन्त्रीको संज्ञासमेत दिए ।
आइसेनकोट र नेतान्याहुका सुरक्षासम्बन्धी धेरै धारणा समान छन् । आइसेनकोटले गाजामा प्यालेस्टिनीहरूमाथि भइरहेको नरसंहारकारी युद्धलाई पनि समर्थन गरेका छन् ।
तर उनले इजरायलभित्र सबैलाई समेट्ने वातावरण निर्माण गर्ने र कब्जा गरिएको पश्चिमी किनारमा हिंसात्मक गतिविधि गर्ने यहुदी बस्तीका बसोबासीलाई नियन्त्रणमा राख्ने प्रतिबद्धता जनाएका छन् ।
सन् १९९९ यताकै सबैभन्दा बढी करिब ७८ प्रतिशत मतदान भएको उल्लेख गर्दै आइसेनकोटले दोस्रो पटक निर्वाचन गराउनु गल्ती हुने बताए ।
उनले नयाँ सरकार गठन गर्न आफूले ‘छिटो’ काम गर्ने पनि बताएका छन् ।
‘जनताले परिवर्तनका पक्षमा मतदान गरेका छन् । योग्य नेताले जनताको अविश्वासलाई स्वीकार गर्दै आजै राजनीतिक जीवनबाट अवकाश लिने घोषणा गर्नुपर्छ’, उनले भने ।






















