काठमाडौं – दसैँ अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य बढेको छ । यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म पाँच हजार ३८४ विदेशी पर्यटकले उक्त पदमार्गको भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका अनुसार गत वर्ष सोही अवधिमा दुई हजार ७५७ विदेशी पर्यटकले पदमार्गको भ्रमण गरेका थिए । यस वर्ष पर्यटकको सङ्ख्या दुई हजार ६२७ ले बढेको केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले जानकारी दिए ।
यस वर्ष असोज २५ देखि कात्तिक ८ गतेसम्म पर्यटकको आगमन बढ्नुका पछाडि विभिन्न कारण रहेको गुरुङले बताए। उनका अनुसार मनास्लु क्षेत्रको पदमार्गमा बाढीपहिरोले क्षति पुर्याएपछि आवागमन प्रभावित भएको र त्यहाँ जाने केही पर्यटक अन्नपूर्ण पदमार्गतर्फ आएका छन् । त्यसैगरी, अनुकूल मौसम र मानिसमा घुमफिर गर्ने संस्कृति बढ्दै जानुले पनि पर्यटक आगमनमा वृद्धि भएको उनको भनाइ छ ।
भारतबाट सबैभन्दा धेरै पर्यटक
केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष अन्नपूर्ण पदमार्गमा आएका पर्यटकमध्ये तीन हजार २८८ पुरुष, दुई हजार ९४ महिला र अन्य दुई जना छन् । राष्ट्रियताका आधारमा सार्क राष्ट्रबाट ६०९ र गैरसार्क राष्ट्रबाट चार हजार ७७५ पर्यटक आएका छन्।
सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । भारतबाट ६०६, जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र संयुक्त राज्य अमेरिकाबाट ३५२ पर्यटकले पदमार्गको भ्रमण गरेका छन् ।
हिमाली दृश्य र स्थानीय संस्कृति मुख्य आकर्षण
लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङसम्म पुग्छ। हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, परम्परागत बस्ती र स्थानीय संस्कृतिको अवलोकन गर्न पाइने भएकाले यो पदमार्ग विदेशी पर्यटकमाझ लोकप्रिय छ ।
दसैँको अवधिमा पर्यटक आगमन बढ्नुले नेपालको पदयात्रा पर्यटनमा अन्नपूर्ण क्षेत्रको महत्त्वलाई पुनः उजागर गरेको छ। यद्यपि, पर्यटक आगमनमा भएको वृद्धिलाई दीर्घकालीन रूपमा कायम राख्न पदमार्गको सुरक्षा, पूर्वाधार र प्राकृतिक विपद्बाट हुने जोखिम व्यवस्थापनमा ध्यान दिन आवश्यक देखिन्छ ।






















