images
images
  • ब्रह्मोसले भारतलाई बनाउला प्रमुख हतियार निर्यातक देश ? ब्रह्मोस-एनजीको प्रहार दूरी १,५०० किलोमिटर

    काठमाडौं– भारत र रुसको संयुक्त लगानीमा सञ्चालित ब्रह्मोस हतियार निर्माता कम्पनी भविष्यका युद्धमैदानलाई ध्यानमा राख्दै नयाँ संस्करण विकास गर्न र विद्यमान क्षेप्यास्त्रको क्षमता बढाउन तीव्र रूपमा जुटेको छ ।

    गत वर्ष युद्धमा उल्लेखनीय सफलता हासिल गरेपछि ब्रह्मोस कम्पनीले आफ्नो नामबाट परिचित सुपरसोनिक क्रुज क्षेप्यास्त्रको मारक क्षमता र प्रहार दूरी बढाउन काम गरिरहेको हो ।

    भारत र रुसको संयुक्त लगानीमा सञ्चालित ब्रह्मोस एरोस्पेसका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जैतेर्थ जोशीले हालै स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार क्षेप्यास्त्रको सञ्चालन तथा कार्यसम्पादन क्षमता सुधार भइरहेको छ । साथै नयाँ संस्करणहरू पनि विकास गरिँदैछन् ।

    ब्रह्मोस नाम ब्रह्मपुत्र र मस्क्वा नदीको नामबाट राखिएको हो । यो क्षेप्यास्त्र उच्च सटिकताका साथ लामो दूरीमा रहेका लक्ष्यमा प्रहार गर्नसक्ने गरी निर्माण गरिएको छ । यसलाई स्थल, समुद्र तथा पानीमुनिका विभिन्न प्लेटफर्मबाट प्रयोग गर्न सकिन्छ ।

    गत वर्ष भारतको जम्मु-कश्मीर राज्यमा सर्वसाधारणमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच क्षेप्यास्त्र तथा ड्रोन प्रयोग गर्दै केही समय सैन्य भिडन्त भएको थियो । त्यस क्रममा ब्रह्मोसले आफ्नो क्षमता प्रमाणित गरेको थियो ।

    दुवै देशका सेनाले ड्रोनमार्फत एकअर्काको क्षमता परीक्षण गरिरहेका बेला भारतले ब्रह्मोस क्षेप्यास्त्र प्रयोग गरी बलियो सुरक्षा व्यवस्था भएका र उच्च रणनीतिक महत्त्वका लक्ष्यमा प्रहार गरेको थियो । तीमध्ये पाकिस्तानका अमेरिकामा निर्मित एफ-१६ लडाकु विमान राखिएका ह्याङ्गरसमेत रहेको बताइएको थियो ।

    भारतले ‘अपरेसन सिन्दूर’ नाम दिइएको उक्त सैन्य कारबाहीका क्रममा ब्रह्मोस क्षेप्यास्त्रलाई एक पटक पनि रोक्न नसकिएको दाबी गरेको छ । त्यसपछि यो क्षेप्यास्त्र खरिद गर्न विभिन्न देशले देखाएको चासो बढेको छ ।

    ब्रह्मोस एरोस्पेस भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) र रुसको एनपीओ माशिनोस्ट्रोयेनियाबीचको संयुक्त लगानीमा स्थापना भएको कम्पनी हो ।

    ब्रह्मोसको नयाँ योजना

    ब्रह्मोसको सुरुवात स्थलबाट प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्रका रूपमा भएको थियो । तर युद्धमैदानका आवश्यकता परिवर्तन हुँदै गएपछि यसको प्रयोगलाई थप लचिलो र मारक क्षमतालाई अझ प्रभावकारी बनाउने दिशामा विकासकर्ताहरूले काम गर्दै आएका छन् ।

    ध्वनिको गतिभन्दा झन्डै तीन गुणा तीव्र गतिमा उड्न सक्ने यस क्षेप्यास्त्रमा २०० देखि ३०० किलोग्रामसम्मको वारहेड अर्थात् विस्फोटक पदार्थ बोक्ने क्षमता छ । सुरुमा यसको प्रहार दूरी २९० किलोमिटर थियो । निरन्तरको प्रविधिगत सुधारसँगै यसको दूरी बढाइएको छ ।

    सन् २०२३ मा भारतीय वायुसेनाले ४५० किलोमिटर दूरीसम्म प्रहार गर्न सक्ने संस्करणको सफल परीक्षण गरेको थियो । ‘ब्रह्मोस-ए’ नाम दिइएको उक्त संस्करणलाई एसयू-३० एमकेआई लडाकु विमानमा जडान गर्न सकिन्छ । यसले भारतीय वायुसेनालाई शत्रुको प्रत्यक्ष पहुँचमा नगई टाढैबाट सटिक प्रहार गर्न सक्ने क्षमता प्रदान गर्छ । यस्तो क्षमता विश्वका सीमित वायुसेनासँग मात्र रहेको बताइएको छ ।

    यसको अर्को संस्करण ‘ब्लक-३’ स्थलबाट प्रहार गरिने क्षेप्यास्त्र हो । यसले निकै कम उचाइमा उडान भर्न सक्छ र अप्रत्याशित दिशाबाट लक्ष्यतर्फ अघि बढ्न सक्छ । यसका कारण शत्रुले क्षेप्यास्त्र प्रतिरक्षाका लागि अपनाएका उपायलाई छल्न सहज हुने अपेक्षा गरिएको छ ।

    ब्रह्मोस कम्पनीले क्षेप्यास्त्रको क्षमता बढाउन महत्त्वाकांक्षी योजनामा काम गरिरहेको छ । हाल विकासका क्रममा रहेको प्रमुख परियोजनामध्ये हलुका हवाई प्रक्षेपण संस्करण पनि एक हो ।

    ‘ब्रह्मोस-एनजी’ नाम दिइएको यो संस्करण भारतीय वायुसेनाका अन्य लडाकु विमानमा समेत जडान गर्न सकिने गरी विकास भइरहेको छ । यसमा भारतमै निर्मित तेजस हलुका लडाकु विमान पनि समावेश छ । एसयू-३० एमकेआई लडाकु विमानले एकैपटक तीनवटा ब्रह्मोस-एनजी क्षेप्यास्त्र बोकेर उडान भर्न सक्नेछ ।

    ब्रह्मोस-एनजीमा स्वदेशमै उत्पादित सामग्रीको हिस्सा बढी हुनेछ भने उन्नत सामग्री तथा प्रविधिको प्रयोग गरिनेछ । भारत–रुस संयुक्त लगानीको कम्पनीले सन् २०२७-२८ सम्ममा यसको प्रारम्भिक नमुना सार्वजनिक गर्ने अपेक्षा गरेको छ ।

    कम्पनीले निकै लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र विकास गर्ने काम पनि गरिरहेको छ । प्रस्तावित यो संस्करणले १ हजार ५०० किलोमिटर टाढासम्मका लक्ष्यमा प्रहार गर्न सक्नेछ। यो दूरी सन् २००० को दशकको सुरुवातमा सार्वजनिक गरिएको मूल ब्रह्मोस क्षेप्यास्त्रको २९० किलोमिटर दूरीभन्दा निकै बढी हो ।

    लामो दूरीको यो संस्करण अहिले अवधारणागत चरणमा छ । यसलाई थप विकसित गर्ने विषयमा कम्पनीले आफ्नो रुसी साझेदारसँग छलफल गरिरहेको छ । जोशीले भारतीय सञ्चारमाध्यमलाई हालै दिएका अन्तर्वार्ताहरूमा दूरी बढाउने कार्यक्रम चरणबद्ध रूपमा अघि बढाइने बताएका छन् । क्षेप्यास्त्रको सञ्चालन क्षमता प्रमाणित गर्न स्थल, समुद्र र हवाई प्लेटफर्मबाट परीक्षण प्रहार गरिने योजना छ ।

    त्यस्तै कम्पनीले आवाजको गतिभन्दा पाँच गुणाभन्दा बढी गतिमा उड्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने योजनामा पनि काम गरिरहेको छ । आधुनिक युद्ध प्रविधिको नयाँ सीमाका रूपमा हेरिएको यो परियोजनालाई हाल ‘ब्रह्मोस-२’ नाम दिइएको छ ।

    यस अवधारणाअन्तर्गत उन्नत प्रविधि, अत्याधुनिक डिजाइन र स्मार्ट सामग्रीको प्रयोग गरी भविष्यका युद्धमैदानमा तीव्र गतिमा विकसित भइरहेका प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्ने हाइपरसोनिक हतियार निर्माण गर्ने लक्ष्य राखिएको छ ।

    ब्रह्मोस-२ मा ‘एयर-ब्रेथिङ’ अर्थात् वायुमण्डलबाटै हावा लिएर सञ्चालन हुने स्क्र्यामजेट इन्जिन प्रयोग गरिनेछ । यसले क्षेप्यास्त्रलाई म्याक-५ अर्थात् ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र गतिसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

    ब्रह्मोसप्रति बढ्दो चासो

    ब्रह्मोस क्षेप्यास्त्र विभिन्न देशलाई बिक्री भइसकेको छ भने अन्य धेरै देशले पनि यसलाई खरिद गर्न चासो देखाएका छन् ।

    भारत र रुसले संयुक्त रूपमा विकास गरेको यस क्षेप्यास्त्रको पहिलो विदेशी ग्राहकहरूमध्ये फिलिपिन्स एक हो । सन् २०२२ मा फिलिपिन्सले ३७ करोड ५० लाख अमेरिकी डलरको सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार क्षेप्यास्त्रको पहिलो खेप सन् २०२४ को अप्रिलमा र दोस्रो खेप सन् २०२५ को अप्रिलमा फिलिपिन्सलाई हस्तान्तरण गरिएको थियो ।

    यसै वर्ष जुन महिनामा भारतले भियतनामलाई ब्रह्मोस क्षेप्यास्त्र आपूर्ति गर्ने सम्झौता भएको पुष्टि गरेको थियो ।

    इन्डोनेसियाले पनि यो क्षेप्यास्त्र खरिद गर्न चासो देखाउँदै खरिद प्रक्रिया अघि बढाएको छ ।

    यसका अतिरिक्त मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, इजिप्ट, चिली र दक्षिण अफ्रिकासहित एक दर्जनभन्दा बढी देशले ब्रह्मोस क्षेप्यास्त्र प्रणालीको मूल्याङ्कन गरेका छन् र औपचारिक रूपमा खरिद गर्न चासो व्यक्त गरेका छन् ।

    बढ्दो माग पूरा गर्दै ब्रह्मोस

    india messiles

    ब्रह्मोस परियोजनालाई भारतको रक्षा उद्योगमा अग्रणी परियोजनाका रूपमा हेरिएको छ । अहिले बढ्दो अर्डर पूरा गर्न ब्रह्मोस कम्पनीले पहिलो प्राथमिकता भारतीय सेनाबाट प्राप्त आदेश पूरा गर्नलाई दिएको छ । भारतीय सशस्त्र सेनाका लागि ब्रह्मोस प्रमुख प्रहारक हतियारमध्ये एक हो ।

    भारतले हालै थप ब्रह्मोस प्रक्षेपण प्रणाली र फायर-कन्ट्रोल प्रणाली खरिद गर्ने सम्झौता गरेको छ । यसबाट भारतीय नौसेनाका थप युद्धपोतमा ब्रह्मोस क्षेप्यास्त्र जडान गर्न सकिनेछ ।

    क्षेप्यास्त्र उत्पादन गर्ने कम्पनीका उत्पादन केन्द्र भारतका चार सहर हैदराबाद, नागपुर, पिलानी र लखनउमा छन् । आगामी पुस्ताका क्षेप्यास्त्रका लागि आवश्यक विशिष्ट प्रविधि विकास गर्न ‘टेक-ब्रिक्स’ नाम दिइएका अनुसन्धान तथा विकास केन्द्रसमेत स्थापना गरिएका छन् ।

    भारतको हतियार निर्यात लक्ष्यमा ब्रह्मोस

    भारतले विश्वकै ठूला हतियार आयातकर्तामध्ये एकको पहिचानबाट बाहिर निस्केर प्रमुख हतियार निर्यातक देश बन्ने लक्ष्य अघि सारेको छ।

    यससँगै आफ्ना रक्षा उत्पादनमा स्वदेशमै उत्पादित सामग्री र प्रविधिको हिस्सा बढाउने भारतको नीति छ । मार्चमा समाप्त भएको आर्थिक वर्षमा भारतको रक्षा सामग्री निर्यात अघिल्लो वर्षको तुलनामा ६७ प्रतिशतले बढेर ४ अर्ब अमेरिकी डलर पुगेको थियो ।

    भारतले सन् २०२९ सम्ममा वार्षिक रक्षा उत्पादन ३१ अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । यसमध्ये रक्षा सामग्री निर्यातबाट ५ अर्ब ५० करोड अमेरिकी डलर प्राप्त गर्ने लक्ष्य छ ।

    भारतलाई विश्वको प्रमुख हतियार निर्यातक देशका रूपमा स्थापित गर्ने महत्त्वाकांक्षी योजनामा ब्रह्मोस क्षेप्यास्त्रको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

    – रसिया टुडे (आरटी) अंग्रेजी

    प्रतिक्रिया दिनुहोस्
    images
    images