images
images
  • अमेरिकाको संसदीय चुनावमा इरान फ्याक्टर, ट्रम्पलाई राजनीतिक फाइदा कि घाटा ?

    काठमाडौं- यही नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावअघि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राजनीतिक रूपमा कमजोर बनाउन इरानले गतिरोध लम्ब्याइरहेको सम्बन्धित अधिकारीहरुले बताएका छन् ।

    पछिल्लो समय इरान र अमेरिकाबीच युद्धमा गतिरोध देखिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चुनावअघि नै यो गतिरोध अन्त्य गर्न चाहन्छन् । तर नोभेम्बर ३ मा अमेरिकामा संसदीय निर्वाचन भएकाले उनले तत्कालै आक्रमण गर्नसक्ने अवस्था पनि छैन ।

    अर्कोतर्फ वार्ताका लागि इरान तयार देखिएको छैन । वार्तापछि पनि ट्रम्पले सैन्य कारबाही गर्नसक्ने भएकाले इरान यसका लागि तयार नदेखिएको सम्बन्धित अधिकारीहरुको बुझाइ छ ।

    नाम नछाप्ने सर्तमा कुराकानी गरेका तीन जना वरिष्ठ इरानी अधिकारीका अनुसार आठ महिनादेखिको युद्धको पछिल्लो गतिरोध अन्त्य गर्न ट्रम्पले जुनसुकै बेला आक्रमण गर्नसक्ने इरानको ठम्याइ छ ।

    ‘इरानले अमेरिकासँग युद्ध अन्त्य गर्ने सम्झौताको तयारी गरिरहेको छैन, बरु इजरायली र अमेरिकी आक्रमणहरूको सामना गर्न तयारी गरिरहेको छ’, एक अधिकारीले भने, ‘इरानी शासन व्यवस्था ट्रम्पलाई कुनै पनि राजनीतिक विजय दिलाउन चाहँदैन ।’

    इरानका विश्लेषक सइद लेयलाजले गतिरोध लम्ब्याएर इरानले अमेरिकी निर्वाचनलाई प्रभावित गरिरहेको बताएका छन् । गएको फेब्रुअरीमा अमेरिका र यसको सहयोगी इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको यो युद्धले राष्ट्रपति ट्रम्पको लोकप्रियतालाई निकै तल झारेको छ ।

    नोभेम्बर ३ मा हुने संसदीय निर्वाचन अघि अमेरिकी जनता महँगो पेट्रोलको मूल्यबाट आत्तिएका छन् । उनीहरुले ट्रम्पको रिपब्लिकन पार्टीलाई दण्डित गर्नसक्ने निर्वाचनपूर्वका जनमत सर्वेक्षणहरूले देखाएका छन् । रोयटर्स र इप्ससको पछिल्लो सर्वेक्षणले केवल ३१ प्रतिशत अमेरिकी जनतामात्रै ट्रम्पको कार्यशैलीलाई लिएर सन्तुष्ट रहेको देखाउँछ ।

    निर्वाचनपछि तेलको मूल्य घट्ने दाबी ट्रम्पले बारम्बार गर्दै आएका छन् । तर इरान युद्ध अन्त्य गर्ने र हर्मुज जलमार्गमा इरानले गरिरहेको अवरोध हटाउने विषयमा उनले कुनै विस्तृत योजना भने प्रस्तुत गरेका छैनन् ।

    युद्ध सुरु भएदेखि नै विश्वको २० प्रतिशतभन्दा धेरै कच्चा तेल र प्राकृतिक ग्याँस बाहिरिने क्षेत्र हर्मुज जलमार्गमा इरानले अवरोध गर्दै आएको छ । इरानी कच्चा तेल र सामग्रीहरुलाई बाहिर निस्कन नदिन अमेरिकाले पनि यहाँ नाकाबन्दी लगाएको छ ।

    ट्रम्पलाई राजनीतिक रूपमा फाइदा पुग्न सक्ने कुनै पनि सहुलियत दिन नहुने इरानको सत्ताको निष्कर्ष छ । त्यही कारण निर्वाचनअघि वार्तामा कुनै पनि किसिमको सफलता हासिल हुने सम्भावना न्यून रहेको अधिकारीहरूले बताएका छन् ।

    इजरायलको दबाबमा वासिङ्टनले इरानको दशकौं पुरानो आणविक कार्यक्रमलाई सुरुदेखि नै वार्ताको टेबलमा ल्याउन चाहेको छ । इरानले यो कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । अर्कोतर्फ अमेरिकासहितका पश्चिमा शक्तिहरुले इरानले आणविक हतियार निर्माण गर्न खोजेको आरोप लगाइरहेका छन् ।

    इरानले हर्मुज जलमार्गमा आफ्नो सार्वभौमिकता रहनुपर्ने, विदेशमा रोक्का रहेका आफ्ना सम्पत्ति फुकुवा हुनुपर्ने, युद्धको क्षतिपुर्ति पाउनुपर्नेलगायत मागहरु सम्बोधन हुने ग्यारेन्टी भएमात्रै वार्तामा बस्ने बताएको छ ।

    यस विषयमा रोयटर्सले इरानी विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउससँग प्रतिक्रिया माग गरे पनि उनीहरूले कुनै जवाफ दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images