काठमाडौं- हुदा अबी लेलाले आफ्ना ५ सन्तानलाई बिहानको समयमा चिया र पाउरोटी मात्र खुवाउने गरेकी छन् । यो क्रम चलेको महिनौं भइसक्यो । अहिले इजरायलले गाजामा खाद्यान्नमाथि प्रतिबन्ध लगाएपछि ३० वर्षीया उनको कठिनाइ अझ थपिएको छ ।
इजरायलले गाजामा आक्रमण सुरु गरेको ३ वर्ष भइसकेको छ । यस ३ वर्षको अन्तरालमा थुप्रै दुःखद घटना भएका छन् । संयुक्त राष्ट्रसङ्घलगायत निकायले त्यहाँको घटनालाई नरसंहारको संज्ञा दिइसकेको छ । गाजामा दुखान्त घटनाका हजारौं शृङ्खला छन् । यी हजारौं शृङ्खलामा लेलाले भोगेको समस्या पनि एउटा हो ।
सन्तुलित भोजन आवश्यक रहेको उमेर बिताइरहेका उनका सन्तान १८ महिनादेखि १० वर्ष उमेरका छन् । अहिलेको यो कठिन समयमा व्यापारिक सामानको अभाव छ । नस्तुको मूल्य बढेको छ । साथै मानवीय सहयोगमा अवरोध छ ।
उनको परिवार अहिले पश्चिमी गाजामा पाल टाँगेर बसेको छ । उनका श्रीमान् काममा जान सक्दैनन् । यसकारण उनी आफैंले दुःखजिलो गरेर परिवार धान्ने गरेकी छन् । उनी अचार र बोडीलगायत खाने गरेकी छन् । बालकका लागि पनि उनले खुवाउने यसैगरी हो । कुनै दिन अन्य खाने कुरा नभएमा पूरा दिन यसै चिया र पाउरोटीमा बिताउनुपर्ने हुन्छ ।

अक्टोबर १४ का दिन इजरायलले गाजामा राहत लिएर जहाज जानमा अवरोध सृजना गरेको थियो । यत्तिकै सङ्कटमा परेको गाजाको जीवनमा यसले झन् धेरै समस्या निम्त्याएको छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले समेत सहयोगको मात्रा घटाएको छ । सेप्टेम्बरको तुलनामा अक्टोबर महिनामा धेरै कम खाद्यान्न पठाएको छ । त्यसो त राष्ट्रसङ्घ नै गाजामा खाद्यान्नको अभावको कारण धेरै जना कुपोषणको जोखिममा रहेको कुरा स्वीकार गर्छ ।
हुदाका लागि अहिले आफ्ना सन्तानका लागि आवश्यक पौष्टिक आहार खुवाउन धेरै कठिन छ । अण्डाको मूल्य बढेको बढ्यै छ । ताजा तरकारीको मूल्य पनि आकाशिएको छ । आलु र प्याजको मूल्यमा पनि त्यस्तै समस्या छ ।
इजरायलको आक्रमणपछि गाजामा अहिले बेरोजगारी बढेको छ । साथै आर्थिक नाकाबन्दीका कारण भौतिक संरचना निर्माण हुन छाडेका छन् ।

हुदाकी कान्छी छोरी सल्मा अहिले धेरै कमजोर भइसकेकी छन् । अस्पतालमा उपचारका लागि लैजाँदा चिकित्सकले डाइटमा ध्यान दिने सल्लाह दिएका छन् ।
हुदाको जस्तै समस्या ४० वर्षीया राइडा रोबाहको पनि छ । उनका परिवारका नौ जनालाई जीवन धान्न धेरै नै कठिन छ । उत्तर गाजाको बेट लाहियाबाट धेरै जना विस्थापित भएका छन् । यसरी विस्थापित भएकाहरूका लागि जीवन धान्न कठिन भएको छ ।
उनका बालबालिकाले पनि सामुदायिक भान्छामा खाने गरेका छन् । पेट त भरिएको छ । पौष्टिक आहारको अभाव छ । प्रत्येक महिना कुपोषणको सिकार भएका करिब ३ हजार बालबालिका अस्पताल जाने गरेका छन् ।
बालरोग विशेषज्ञ डा. मोहम्मद बि अलरे यस किसिमका प्रतिबन्ध कायम रहे गाजामा कुपोषणको समस्या अझ धेरै बढ्ने देखिन्छ । गाजामा अहिले स्वास्थ्य अवस्थाको गम्भीर समस्या छ ।


मनोज घिमिरे 


















