काठमाडौं– यही नोभेम्बर महिनामा अमेरिकामा हुने निर्वाचनमा डेमोक्रेटहरू बढी आशावादी छन् । केही पछिल्ला मत सर्वेक्षणहरूले देखाएअनुसार विगतदेखि नै रिपब्लिकनहरूको आधार इलाका ठहरिएका स्थानमा समेत यस पटक डेमोक्रेटहरुले कब्जा गर्नेछन् ।
सीएनएनका राजनीतिक विश्लेषक डेभिड अलेक्ज्रोड त यस पटकको निर्वाचनमा केही स्थानमा डेमोक्रेटहरूले ऐतिहासिक सफलता पाउने बताउँछन् । निर्वाचनमा डेमोक्रेट लहर भएको उनको ठम्याइ छ ।
समीक्षकहरूले यसरी डेमोक्रेटको पक्षमा भारी जनलहर आएको बताए पनि विगतका घटना हेर्दा यसै भन्न सकिन्न । उदाहरणको लागि सन् २०२२ को प्रतिनिधिसभाको निर्वाचन पनि हो । उक्त निर्वाचनभन्दा अघि अदालतले ‘रोय भर्सेस वेड मुद्दामा राष्ट्रपति जो बाइडेनको एजेन्डालाई हराइदिएपछि निर्वाचनमा रिपब्लिकन लहर आउने अनुमान गरिएको थियो ।
निर्वाचनमा रिपब्लिकनले विगतको तुलनामा नौ सिट त बढाएको थियो । तर अपेक्षाकृत लहर भने आएन । पराजयका बाबजुद डेमोक्रेटले जित झैँ महसुस गरेको थियो । सन् २०२२ मा रिपब्लिकले २१८ तथा डेमोक्रेटले २१९ सिटमा सफलता हात पारेका थिए ।
के भन्छन् पछिल्ला सर्वेक्षणले ?
एबीसी न्युज र वासिङ्टन पोस्टको पछिल्लो सर्वेक्षणअनुसार रिपब्लिकनभन्दा डेमोक्रेट १० अङ्कले अघि छ । अलास्का, लोआ कानास तथा टेक्सस जस्ता परम्परागत रिपब्लिकन प्रभाव क्षेत्रमा समेत यस पटक डेमोक्रेट सिनेट उम्मेदवारहरूले चुनौती दिइरहेका छन् ।
विगतमा रिपब्लिकहरूको हल्का राम्रो रहेको मिचिगन र जर्जियामा यस पटक बराबरीकै अवस्था रहेको सर्वेक्षणले देखाएको छ । डेमोक्रेटले विगतका सबै स्थान जोगाउने अनुमान गरिएको छ ।
विगतको इतिहास हेर्ने हो भने सत्तारुढ दलले मध्यावधि निर्वाचनमा संसद्मा सिट गुमाउने गरेका छन् । १०० वर्षयता हेर्ने हो भने राष्ट्रपतिको दलले सिट जोगाएको र बढाएको घटना दुई पटक मात्र छ ।
सन् २००२ मा जर्ज डब्ल्यू बुसको समयमा रिपब्लिकनले सिट सङ्ख्या बढाएको थियो । यसभन्दा अघि सन् १९९८ मा बिल क्लिन्टन राष्ट्रपति भएको समयमा डेमोक्रेटले विगतको तुलनामा पाँच सिट बढाएको थियो । क्लिन्टनको कार्यकालमा अमेरिकी अर्थतन्त्रको विकास त भएको थियो ।
तर मोनिका लेवेन्स्कीसँगको उनको स्क्यान्डलका कारण महाअभियोगको तयारी समेत रिपब्लिकनले गरेको थियो । सोही समयमा भएको संसदीय निर्वाचनमा पाएको सफलताले क्लिन्टनलाई सहज बनाएको थियो ।
विगतको आँकडा हेर्ने हो भने सन् २०२२ मा डेमोक्रेटले नौ सिट गुमाएको थियो । त्यस समयमा विगतको भन्दा सत्तारुढ दलले अत्यन्त कम सिट गुमाएको थियो । सन् १९९४ मा भएको मध्यावधि निर्वाचनमा डेमोक्रेटले ५४ सिट गुमाएको थियो । क्लिन्टनको पहिलो कार्यकालमा भएको उक्त निर्वाचनलाई रिपब्लिकन क्रान्तिको नामकरण पनि गरिएको थियो ।
सन् २०१० मा बाराक ओबामाको कार्यकालको समयमा डेमोक्रेटले ६३ सिट गुमाएको थियो । ट्रम्पको पहिलो कार्यकालमा सन् २०१८ मा भएको निर्वाचनमा रिपब्लिकनले ४१ स्थान गुमाएको थियो ।
सिनेटमा बलियो रिपब्लिकन

प्रतिनिधिसभाको ४३५ तथा ३५ सिनेट सदस्यका लागि निर्वाचन हुँदैछ । यसमध्ये कडा प्रतिस्पर्धा हुने १० सिट छन् । डेमोक्रेटले सिनेटमा ५१ सङ्ख्याका लागि ती १० मध्ये ८ स्थानमा जित हात पार्न आवश्यक छ ।
प्रतिनिधिसभा भन्दा सिनेटको अवस्था फरक छ । विगतको दुई पटकको मध्यावधि निर्वाचनलाई आधार मान्ने हो भने दुवै पटक राष्ट्रपतिको दलले संसद्मा सङ्ख्या बढाएका थिछन् ।
दुवै पटक राष्ट्रपतिको एप्रुभल रेटिङ कम भए पनि सन् २०१८ मा रिपब्लिकनले २ सिट थपेको थियो । सन् २०२२ मा डेमोक्रेटले पनि एक सिट थपेको थियो ।
उम्मेदवारको कारण डेमोक्रेटको आशा
नर्थ क्यारोलिनामा डेमोक्रेटले लोकप्रिय व्यक्तित्व पूर्वगभर्नर रोय कुपरलाई उम्मेदवार बनाएको छ । जर्जियामा उम्मेदवार भएका जोन उसफ पनि लोकप्रिय व्यक्तित्व हुन् । टेक्ससमा रिपब्लिकनले उम्मेदवार बनाएका केन प्याक्सटन लोकप्रिय व्यक्ति होइनन् । १०० वर्ष डेमोक्रेट सिनेट नभएको कानासमा पनि यस पटक उम्मेदवारकै कारण सो दलले आशा गरेको छ ।
टेक्सस र कानास दुवैमा लामो समयदेखि डेमोक्रेटले सफलता पाएका छैनन् । यी दुवै स्थानमा अहिले डेमोक्रेटले पूरै शक्ति लगाएको छ । साउथ क्यारोलिनामा यस पटक पनि डेमोक्रेट लहरले रिपब्लिकनलाई ठुलो झट्का दिने अपेक्षा गरिएको छ ।
यो निर्वाचनमा रिपब्लिकनले पराजयको सामना गरेमा ट्रम्पका लागि धेरै समस्या उत्पन्न हुनसक्छ । अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने तथा अमेरिकाको अबको नीतिमा अर्थ राख्ने धरै ऐनहरू अहिले विचाराधीन छन् । यसकारण अबको निर्वाचन दुवै दलका लागि महत्त्वपूर्ण छन् ।
यस निर्वाचनका लागि अर्ली भोटिङ सुरु भइसकेको छ । यस मतदानमा १० करोड अमेरिकी सहभागी हुने अनुमान गरिएको छ । साथै प्रचारमा विगतको भन्दा धेरै खर्च भएको छ ।
सेप्टेम्बर महिनाको रोयटर्सको सर्वेक्षणअनुसार राष्ट्रपति ट्रम्पको एप्रोभल रेटिङ ३२ प्रतिशत थियो । यसले पनि रिपब्लिकका लागि यो निर्वाचन कठिन भएको प्रस्ट भएको छ ।
अहिले अमेरिकामा जीवनयापनको समस्या बढेको भन्दै धेरै जना सत्ताप्रति आक्रामक रहेको धेरै सर्वेक्षणले प्रस्ट पारेको छ । सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई साथ दिएका ल्याटिनो मतदाता यस पटक डेमोक्रेटतर्फ नजिक हुने अनुमान गरिएको छ । महँगी र ट्रम्पको आप्रवासी नीतिका कारण यो मतदाता असन्तुष्ट रहेको हो ।
डेमोक्रेटले सफलता पाएमा न्युयोर्कका हाकिम जलफ्रिजलाई भावी सभामुखको रूपमा हेरिएको छ । यसो भएमा उनी अमेरिकी इतिहासमा पहिलो अश्वेत सभामुख हुनेछन् ।
– सीएनएन, रोयटर्स, बीबीसीलगायतको सहयोगमा


मनोज घिमिरे 



















