images
images
  • कोलम्बियामा भत्कियो अवैधानिक सुनखानी: १४ जनाको मृत्यु, ७ घाइते

    काठमाडौं- कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ ।

    नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहर नजिकै दुर्घटना भएको जनाएको छ । घटनाले अनौपचारिक रूपमा सञ्चालन गरिने खानीमा रहेका जोखिमलाई पुनः उजागर गरेको सरकारले बताएको छ । तीन महिनाभन्दा कम अवधिमा प्रान्तमा दुईवटा खानी भत्किँदा २७ जनाको मृत्यु भएको पनि सरकारले उल्लेख गरेको छ ।

    घना वर्षावनले घेरिएको सान्ता बार्बरा डे इस्कुआन्डे पुग्न डुङ्गा वा साना विमानको सहारा लिनुपर्छ । दुर्गम अवस्थाका कारण उद्धार तथा सहायता टोलीलाई घटनास्थल पुग्न कठिन भएको छ ।

    नारिनोका गभर्नर लुइस अल्फोन्सो एस्कोबारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसबाट पूरै परिवार प्रभावित भएको बताएका छन् ।

    कोलम्बियामा सरकारी अनुमति नलिई सञ्चालन गरिएका सयौं साना खानी छन् । तीमध्ये केही सशस्त्र विद्रोही समूहको नियन्त्रणमा छन् । उक्त क्षेत्रमा सन् २०१६ को शान्ति सम्झौतामा सहभागी हुन अस्वीकार गरेका फार्कका पूर्वसदस्यको नेतृत्वमा रहेको ज्याकोबो एरेनास समूहसहित दुई विद्रोही समूह सक्रिय रहेको बताइएको छ ।

    कोलम्बियाको लोकपाल कार्यालयले सशस्त्र समूहहरूलाई प्रभावित सहरमा मानवीय सहायता पु¥याउन अवरोध नगर्न आग्रह गरेको छ ।

    ‘हाम्रा सबै प्रयास जीवन बचाउन र यस आपत्कालीन अवस्थाको सामना गर्न केन्द्रित हुनुपर्छ’, कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images