काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता आप्रवासी हिरासतमा १८ औं मेक्सिकन नागरिकको मृत्यु भएको छ । यस घटनाप्रति मेक्सिको सरकारले गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेको छ ।
मेक्सिकोको विदेश मन्त्रालयका अनुसार पछिल्लो मृत्यु अमेरिका-मेक्सिको सीमामा पर्ने लारेडो सहरस्थित आप्रवासी प्रशोधन केन्द्रमा भएको हो । मन्त्रालयले मृतकको पहिचान सार्वजनिक नगरे पनि उनका परिवारसँग सम्पर्क गरिएको जनाएको छ ।
ट्रम्पले आफ्नो चुनावी वाचाअनुसार अमेरिकी इतिहासकै ठूलो सामूहिक निर्वासन अभियान अघि बढाइरहेका बेला देशभर आप्रवासी पक्राउ पर्ने क्रम जारी छ ।
अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) को हिरासतमा १७ जना मेक्सिकन नागरिकको मृत्यु भएको घटनालाई लिएर मेक्सिकोले गत जुलाईमा फौजदारी उजुरी दर्ता गराएको थियो । पछिल्लो घटनासँगै जनवरी २०२५ मा ट्रम्पले पदभार ग्रहण गरेयता हिरासतमा मृत्यु हुने मेक्सिकन नागरिकको सङ्ख्या १८ पुगेको छ ।
आईसीईले भने पछिल्लो मृत्युसम्बन्धी कुनै जानकारी सार्वजनिक गरेको छैन ।
मेक्सिकोको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी हिरासत वा आप्रवासनसम्बन्धी कारबाहीका क्रममा आफ्ना नागरिकको बारम्बार भइरहेको मृत्युप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले यस्ता घटनामा अमेरिकी अधिकारीहरूबाट प्रभावकारी प्रतिक्रिया आउनुपर्नेमा जोड दिएको छ ।
मेक्सिको सरकारले घटनाको तत्काल, विस्तृत र पारदर्शी अनुसन्धान गर्न माग गरेको छ । साथै पछिल्लो मृत्युलाई लिएर पनि औपचारिक उजुरी दर्ता गराउने जनाएको छ ।
गत वर्ष अमेरिकाका आप्रवासी हिरासत केन्द्रहरूमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । सन् २००४ मा आईसीई स्थापना भएयता यो सबैभन्दा ठूलो वार्षिक सङ्ख्या भएको विवरणमा उल्लेख छ ।
मेक्सिको सरकारले आफ्ना नागरिकको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै हिरासतमा हुने मृत्युका घटनामा जवाफदेहिता सुनिश्चित गर्न माग गरेको छ ।






















