काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ।
यस्तै लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई भूभागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति भने कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ।
हाल कुनै पनि मौसमी चेतावनी जारी गरिएको छैन। तथापि सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।






















