images
images
  • युरोपभर देखियो विद्रोह, यसको पछाडि कसको छ हात ?

    काठमाडौं– अहिले युरोपका धेरै देशमा प्रदर्शन जारी छ । शिक्षा नीति र बढ्दो महँगीको विरुद्धमा फ्रान्समा जारी प्रदर्शनमा सोमबारसम्म २ हजार जना गिरफ्तार भइसकेका छन् । साथै कम्तीमा दुई जनाको ज्यान गएको छ । अनगिन्ती घाइते भएका छन् ।

    राष्ट्रपति एमानुएल म्याक्रोनले जनमतको सामना गर्न ६ महिना मात्र बाँकी रहेको समयमा भएको यो प्रदर्शन उनको राजनीतिक जीवन समेत सङ्कटमा पारेको छ ।

    सुरुमा शान्तिपूर्वक रहेको सो प्रदर्शनका क्रममा एकाएक हिंसा भड्किएको थियो । म्याक्रोनले भने चेतावनी दिँदै लुटपाटमा संलग्नलाई त्यत्तिकै नछाड्ने बताएका छन् ।

    फ्रान्समा यस किसिमको विद्रोहको सुरुवात गत सेप्टेम्बरबाट भएको थियो । पर्सिएन क्षेत्रमा बढी स्टाफ र कर्मचारीको माग गर्दै आन्दोलन सुरु भएको थियो । तत्कालीन समयमा सो माग पूरा भएपछि आन्दोलन फिर्ता भए पनि फेरि केही समयमा आन्दोलन सुरु भएको हो । अहिले यो आन्दोलन युरोपभरि नै फैलिएको छ ।

    अहिलेको समस्याको मूल कारण भने शैक्षिक बेरोजगारी हो । फ्रान्समा अहिले शिक्षालयमा विद्यार्थीको भिड छ । त्यसअनुसारको रोजगारी नभएपछि यसले आक्रोश थपेको हो ।

    शैक्षिक क्षेत्रमा देखिएको यो समस्याबाट बढेको आक्रोश अहिले देशव्यापी पुगेको छ । त्यहाँका मजदुर सङ्गठनका नेता ५७ वर्षीय मारिया पालास कुनै पनि हालतमा यो आन्दोलन नरोकिने बताउँछिन् ।

    शनिबार शान्तिपूर्ण रूपमा सुरु भएको यो आन्दोलन चर्किएर यसरी तोडफोड मच्चिएको छ कि धेरै ऐतिहासिक धरोहरका क्षेत्र सुरक्षित नहुने अवस्थामा पुगेका छन् ।

    पेरिसकी स्थायी बासिन्दा पाउरा फोरमेन्टी अहिलेको हिंसाको वातावरण शान्त गर्ने सबैभन्दा राम्रो उपाय नै उनीहरूको मागलाई सम्बोधन गर्ने बताउँछिन् । म्याक्रोनले भने अरबबाट ग्याँस आयात गर्ने नयाँ नीति लिएको र तत्काल भाउ घटाउने नयाँ योजना बनाएका छन् ।

    अति दक्षिणपन्थी नेता मारिन ले पेनले अहिले सर्वेक्षणमा अग्रता कायम गरेकी छन् । उनले फ्रान्स सुधारको बाटोमा गए पनि अहिले हिंसा बढ्नुमा वामपन्थी भूमिका रहेको आरोप लगाएकी छन् ।

    युरोपमा विद्रोहको लहर अन्य देशमा पनि फैलिसकेको छ । बेल्जियममा पनि शिक्षा मन्त्रालयको विरुद्धमा आन्दोलन भइरहेको छ । पोर्चुगलको लिस्बनमा हजारौं जना सडकमा आएर महँगीको विरुद्धमा प्रदर्शन गरे । इटालीमा लगातार प्रदर्शन भएको छ । लगातार दुई रात अशान्ति भइसकेको छ ।

    अल्बानियामा पनि महिनौंदेखि यस्तै किसिमको प्रदर्शन जारी छ । तिरानामा अझ धेरै हिंसा भड्किएको छ । युरोपको यो प्रदर्शनको असर अमेरिकामा समेत परिसकेको छ । उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समा असफल अध्यागमन नीतिका कारण यो समस्या आएको बताए । ग्रिसमा यो प्रदर्शन अझै जारी छ । प्रदर्शनले स्पेनलाई समेत प्रभावमा पारेको छ ।

    अहिले फ्रान्सकै मूल मुद्दा भने कक्षाकोठामा थोरै विद्यार्थी र विद्यार्थीलाई सुविधा हो । यसको अलावा मजदुरको ज्याला हो । फ्रान्स सरकारले ल्याएको बजेटमा करको मात्रा बढाइएको छ । साथै सामाजिक सुरक्षाको नाममा मजदुरले पाएको धरै सुविधा कटौती गरिएको छ । यसले आक्रोश बढाएको हो । वामपन्थी नेतृ जियोनचेन लियोनचेन फ्रान्समा भएको यो घटनाको मुख्य कारण सरकारले आफ्नो नियमित काम गर्न नसकेको कुरामा जोड दिन्छन् ।

    विज्ञहरूको अनुसार सामाजिक सुरक्षा र सामान्य जीवनयापनमा आएको समस्यालाई साथ दिन नसकेमा फ्रान्समा यो समस्या अझ ठुलो हुनसक्छ । एडनबर्ग विश्वविद्यालयका राजनीतिशास्त्रका विश्लेषक एडन चाँवल यसले राष्ट्रपति म्याक्रोन गम्भीर सङ्कटमा पनि पर्नसक्ने बताउँछन् ।

    घटनाले कसलाई फाइदा ?

    नटिङघम विश्वविद्यालयका प्राध्यापक पाउल स्मिथ यस घटनाले अति दक्षिणपन्थी ला पेनलाई फाइदा पुग्न सक्ने बताउँछन् । उनले यस घटनाले वामपन्थी नेता मेलेचेनको राष्ट्रपति अभियानलाई समेत धक्का पुग्ने अनुमान गरिएको छ ।

    फ्रान्समा सन् २०२७ को अप्रिल महिनामा राष्ट्रपति निर्वाचन हुँदैछ । स्मिथले नै भने झैं ला पेन नै निर्वाचित हुने कुरा निश्चित नरहेको धेरै जना बताउँछन् ।

    युरेसिया समूहका युरोपका लागि प्रबन्ध निर्देशक मुजताबा रहमान फ्रान्स उदारवादी प्रजातन्त्र, आर्थिक अव्यवस्था तथा युवाहरूको असन्तुष्टिका कारण समस्यामा रहेको बताउँछन् ।

    फ्रान्सको अहिलेको यो समस्याको कारण विश्व राजनीतिसँग जोडिएको छ । विज्ञहरूका अनुसार फ्रान्सका यसरी समस्या उत्पन्न भएको हो । कोभिड महामारी, रुस–युक्रेन युद्ध र अहिलेको पेट्रोलियम पदार्थको समस्याले फ्रान्सलाई आक्रान्त पारेको छ ।

    दोस्रो विश्व युद्धपछि फ्रान्समा कुल गार्हस्थ उत्पादनको तुलनामा राष्ट्रिय ऋण अत्यधिक बढेको छ ।

    अति दक्षिणपन्थी र वामपन्थीको युरोप प्रभाव बढ्दो

    जनवरीमा द पपुलिस्टमा प्रकाशित एक आँकडाअनुसार करिब २३ प्रतिशत युरोपेलीहरू अति दक्षिणपन्थी प्रभावमा छन् । लोकप्रियतावाद अहिले युरोपमा पनि हाबी छ ।

    एलिट वर्गको प्रतिनिधित्व गर्दै अति दक्षिणपन्थी उदय भएको छ भने सङ्कटको मूल कारण धेरै युरोपेलीले अँगालेको अर्थ नीति भन्ने पनि छ । यसैकारण वितरणमा समानताको मुद्दा उठाउने वामपन्थीको पक्षमा फेरि जनमत बढिरहेको विश्लेषकहरू बताउँछन् । पपुलिस्टले ३१ देशको तथ्याङ्कको आधारमा सो तथ्याङ्क तयार पारेको बताएको छ ।

    जर्मनीमा अहिले वामपन्थीको प्रभाव बढेको छ । सन् २०२५ मा भएको निर्वाचनमा जर्मनीमा ८ प्रतिशतभन्दा बढी वामपन्थी मत देखिएको थियो । यसअघिको निर्वाचनमा वामपन्थी मत ३ प्रतिशतको हाराहारीमा थियो । अहिले युरोपमा आर्थिक समस्या देखिएको छ । यसकारण वितरणमा समानताको विषय सर्वज्ञ उठाइएको छ ।

    पछिल्लो दशक महामारी, जलवायु परिवर्तनको असर र युद्धका कारण धेरै देशमा समस्या थपिएको छ । यसले संसारभर युवा र विद्यार्थीमा प्रदर्शनको लहर चलेको छ । केही वर्ष अघिदेखि अति दक्षिणपन्थी प्रभाव बढे पनि अहिलेको समस्याग्रस्त समयमा वितरणमा समानतासहित वामपन्थी दलको आवाज पनि बलियो हुन थालेको छ ।

    यसले फ्रान्सकै निर्वाचनलाई कुन बाटोमा लैजाने अनिश्चित छ ।

    – सीएनएन, अलजजिरा, साइन्स पो, डीडब्ल्यूको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images