काठमाडौं– अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शुक्रबार दिउँसो हल्का विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राज्य प्रहरीका अनुसार सिड्नीबाट करिब २०० किलोमिटर उत्तरपश्चिममा पर्ने स्कोन सहरको सानो विमानस्थल नजिकै दुर्घटना भएको हो । स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५५ बजे विमान दुर्घटना भएको सूचना पाएपछि आपत्कालीन सेवाका अधिकारीहरू घटनास्थल पुगेका थिए ।
अधिकारीहरूले घटनास्थलमा हल्का विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका थिए । विमानमा सवार दुई पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन ।
प्रहरीले घटनास्थललाई अपराध अनुसन्धान क्षेत्रका रूपमा सुरक्षित राख्दै दुर्घटनाबारे अस्ट्रेलियन यातायात सुरक्षा ब्युरो र मनोरञ्जनात्मक उड्डयन अस्ट्रेलियालाई जानकारी गराएको छ ।
अस्ट्रेलियन यातायात सुरक्षा ब्युरोले दुर्घटनाबारे आवश्यक जानकारी सङ्कलन गरिरहेको जनाएको छ ।























