images
images
  • इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आगलागीः चारको मृत्यु, दुई जना गम्भीर घाइते

    काठमाडौं– इन्डोनेसियाको जाभा टापुस्थित राष्ट्रिय निकुञ्जमा डढेलो निभाउने क्रममा चार जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । देशका विभिन्न क्षेत्रमा डढेलो फैलिँदै जाँदा विषाक्त धुवाँको समस्या पनि बढेको छ ।

    वन मन्त्रालयका अनुसार पूर्वी जाभास्थित ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्जमा बिहीबार आगो निभाउने क्रममा उनीहरू आगो र बाक्लो धुवाँमा फसेका थिए । मृत्यु हुनेमा राष्ट्रिय निकुञ्जका दुई अधिकारी र दुई सुरक्षाकर्मी रहेको निकुञ्जका प्रवक्ता एन्ड्रिप वह्युटामाले जानकारी दिए । तीन जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

    आगो नियन्त्रणका लागि नजिकैको होटलबाट एक स्वयंसेवक अग्निनियन्त्रक र एक सुरक्षाकर्मी पनि खटिएका थिए । उनीहरू घाइते भएपछि उपचार भइरहेको प्रवक्ता वह्युटामाले जानकारी दिए ।

    मन्त्रालयले वन तथा जमिनमा लागेको आगो निभाउनु उच्च जोखिमपूर्ण काम भएको उल्लेख गर्दै आगलागी नियन्त्रणमा सावधानी अपनाउनुपर्ने जनाएको छ ।

    मन्त्रालयका अनुसार देशभर डढेलोको सम्भावना जनाउने तापीय हटस्पटको सङ्ख्या तीव्र रूपमा बढेको छ । बिहीबार साँझसम्म हटस्पटको सङ्ख्या ७९९ पुगेको थियो । यो अघिल्लो दिन ३७२ थियो । यद्यपि, उपग्रहबाट पहिचान गरिएका सबै हटस्पट वास्तविक आगलागीमा परिणत भएका हुँदैनन् ।

    सबैभन्दा बढी हटस्पट बोर्नियो टापुको सेन्ट्रल कालिमान्टन प्रान्तमा देखिएका छन् । उक्त टापु इन्डोनेसियाले मलेसिया र ब्रुनाईसँग साझा गर्छ । त्यसपछि सुमात्रा टापुको दक्षिणी क्षेत्रमा पनि आगलागीको समस्या देखिएको छ । हटस्पटको सङ्ख्या तीव्र रूपमा बढेपछि सेन्ट्रल कालिमान्टनमा स्थलगत नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ ।

    लोपोन्मुख ओराङ्गुटानको महत्त्वपूर्ण बासस्थान रहेको तान्जुङ पुटिङ राष्ट्रिय निकुञ्ज वरपरको क्षेत्रमा फैलिएको आगलागीप्रति मन्त्रालयले विशेष चिन्ता व्यक्त गरेको छ ।

    आगलागीबाट निस्किएको धुवाँले दृश्यता कम हुँदा कृत्रिम वर्षा गराउने उद्देश्यले पानी खसाल्ने विमानको प्रयोग र क्लाउड सिडिङ अर्थात् कृत्रिम रूपमा वर्षा गराउने अभियानसमेत प्रभावित भएका छन् ।

    मन्त्रालयका अनुसार सुमात्रा र कालिमान्टनका विभिन्न स्थानमा वायु प्रदूषणको अवस्था अस्वस्थकरदेखि अत्यन्त अस्वस्थकर र कतिपय क्षेत्रमा खतरनाक तहसम्म पुगेको छ । धुवाँका कारण केही स्थानको आकाश सुन्तला रङको देखिएको छ ।

    मन्त्रालयले हावाको अवस्था थप बिग्रिएमा सर्वसाधारणलाई बाहिरी गतिविधि कम गर्न र बाहिर निस्कँदा मास्क लगाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images