images
images
  • इरान र अमेरिकाको शक्तिलाई चुनौती दिँदै यमनका हुथी विद्रोही

    काठमाडौं– यमनका हुथी विद्रोहीहरूले मध्यपूर्वमा आफ्नो प्रभाव विस्तार गर्दै जाँदा इरान र अमेरिकाको शक्तिलाई चुनौती दिएका छन् ।

    उनीहरूका विरोधी मात्र नभई उनीहरूलाई सहयोग गर्दै आएको इरानकै लागि पनि चुनौती दिएका हुन् ।

    मध्यपूर्वका तुलनात्मक रूपमा साना सशस्त्र शक्तिमध्ये एक भए पनि हुथी विद्रोहीहरूले आफ्नो सैन्य क्षमता र रणनीतिक प्रभावका कारण दिनप्रतिदिन ठूलो समस्या सिर्जना गरिरहेका छन् ।

    विश्वका सबैभन्दा गरिब मुलुकमध्ये एक यमनमा सक्रिय यो गैरराज्य सशस्त्र समूहले बाब अल–मन्देब जलडमरूमध्य आसपास यमनी सरकारी सेनाको नियन्त्रणमा रहेका रणनीतिक क्षेत्र कब्जा गर्न सफल भएको छ ।

    यसका साथै साउदी अरबका तेल प्रशोधन तथा उत्पादन केन्द्र, प्रमुख सहर र यहाँसम्म कि रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलसम्म प्रहार गर्न सक्ने क्षमताको हतियार भण्डारसमेत उसले तयार पारेको छ ।

    अमेरिकी प्रतिबन्धका कारण आर्थिक दबाब झेलिरहेको इरान अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग होर्मुज जलडमरूमध्यको विषयलाई लिएर तनावपूर्ण अवस्थामा छ ।

    यही परिस्थितिमा इरानले आफूले सैन्य तथा अन्य सहयोगमार्फत शक्तिशाली बनाउन भूमिका खेलेको यमनी हुथी विद्रोही र साउदी अरबबीच शान्ति कायम गराउन मध्यस्थता गर्ने प्रस्ताव अघि सारेको छ ।

    तर, पछिल्लो परिस्थितिले हुथी विद्रोहीहरू इरानको नियन्त्रण र निर्देशनभन्दा बाहिर जान थालेको संकेत गरेको छ ।

    इरानको सहयोगमा शक्तिशाली बनेको यो समूहले अब आफ्नै रणनीतिक स्वार्थअनुसार निर्णय लिन थालेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ ।

    यसले मध्यपूर्वमा इरानको प्रभाव र अमेरिकी शक्तिको सीमाबारे नयाँ बहस सिर्जना गरेको छ ।

    सानो सशस्त्र समूहले समेत रणनीतिक समुद्री मार्ग, क्षेत्रीय सुरक्षा र शक्तिशाली राष्ट्रहरूको कूटनीतिक योजनामा कति ठूलो प्रभाव पार्न सक्छ भन्ने विषयमा हुथी विद्रोहीको गतिविधि महत्त्वपूर्ण उदाहरण बनेको छ । –न्युजविक

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images