काठमाडौं– इक्वेडरले बिहीबार सीमा क्षेत्रमा लाग्औषध तस्करीविरोधी अभियानका क्रममा प्रहरीले कोलम्बियाको विघटित फार्क गुरिल्ला समूहको विद्रोही गुटका चार नेतालाई पक्राउ गरेको बताएको छ ।
गृहमन्त्री जोन रेइम्बर्गले भने, ‘चार गुरिल्ला कमान्डर सीमा कमान्डका रहेका र उनीहरूले एक दशकअघि कोलम्बिया राज्यसँग ऐतिहासिक शान्ति सम्झौता गर्दा हतियार नत्याग्ने निर्णय गरेका थिए ।’
यो समूह मुख्यतया लागूऔषध तस्करीमा संलग्न छ र मुख्य रूपमा दक्षिणी कोलम्बियाको पुतुमायो विभागमा तर छिमेकी इक्वेडर र पेरूमा पनि सक्रिय छ ।
रेइम्बर्गले भने, ‘चारजना अमेजन जङ्गलमा ११ सैनिक र तीन प्रहरी अधिकारीको हत्याको आरोपमा छन् । उनीहरू इक्वेडरका अमेजन प्रान्त ओरेलाना र सुकुम्बियोसमा अन्य २५ हत्यासँग पनि जोडिएका छन् ।’
‘आज हामीले सीमा कमान्डलाई ठूलो झटका दिएका छौं, जुन लागुऔषध तस्करी, हतियार तस्करी, अवैध खानी र आतङ्कवादी गतिविधिमा संलग्न आपराधिक सङ्गठन हो’, उनले एक्समा लेखेका छन् ।
उनले आरोपीहरूको नाम वा राष्ट्रियता भने बताएनन् ।
अमेरिकी समर्थन प्राप्त इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले सङ्गठित अपराध समूहविरुद्ध युद्ध घोषणा गरेका छन् । यी समूहका रक्तरञ्जित क्षेत्रीय युद्धले उनको देशलाई दक्षिण अमेरिकामा सबैभन्दा हिंसात्मक बनाएको छ, जहाँ प्रति एक लाख जनसङ्ख्यामा हत्यादर ५१ रहेको छ ।
अन्तर्राष्ट्रिय तस्करीसँग सम्बन्धित विश्वका सबैभन्दा ठूला कोकेन उत्पादक गिरोहले कोलम्बिया र पेरूबाट कोकेन निर्यात गर्न इक्वेडरका बन्दरगाह प्रयोग गर्छन् ।
इक्वेडर ल्याटिन अमेरिकाका १४ देशमध्ये एक हो, जसलाई दक्षिणपन्थी नेतृत्वले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्टेलविरोधी ‘शील्ड अफ द अमेरिकाज’ मा सामेल गरेको छ ।
मानव अधिकार समूहहरूले सङ्गठित अपराधविरुद्धको अभियानमा इक्वेडरमाथिको गम्भीर अधिकार उल्लङ्घनमा आरोप लगाएका छन् । यसमा गैरन्यायिक हत्या र यातना पर्छन् ।























