images
images
  • नेप्से सुधारका ३० भन्दा बढी एजेन्डा अघि बढाउँदै धितोपत्र बोर्ड

    काठमाडौं – नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना तथा दोस्रो बजारको सञ्चालन र व्यवस्थापन सुधार प्रक्रिया अघि बढाएको छ । यसका लागि बोर्ड र नेप्सेका उच्च पदाधिकारी तथा सञ्चालक समितिबीच छलफल भएको छ ।

    सरकारद्वारा गठित ‘नेप्से पुनर्संरचनासम्बन्धी सुझाव समिति, २०८२’ ले पेस गरेको प्रतिवेदन कार्यान्वयन तथा दोस्रो बजारमा लगानीका उपकरण र सेवाको विविधीकरण गर्ने विषयमा असोज २९ गते बोर्डको कार्यालयमा छलफल भएको हो । छलफलमा नेप्सेको संस्थागत संरचना, पुँजी तथा स्वामित्व, संस्थागत सुशासन, प्रविधि, जनशक्ति, कार्यप्रक्रिया र कारोबार प्रणालीमा सुधार गर्नुपर्ने विषयमा केन्द्रित रहेर विचारविमर्श गरिएको थियो ।

    ३० भन्दा बढी विषयमा सुधार गर्ने बोर्डको तयारी

    बोर्डका अध्यक्ष डा। गोपालप्रसाद भट्टले आधुनिक स्टक एक्सचेञ्ज सञ्चालनका लागि पर्याप्त पुँजी, दक्ष जनशक्ति र सूचना प्रविधिको पूर्वाधार अपरिहार्य रहेको बताएका छन् । नेप्सेको पुँजी तथा स्वामित्व पुनर्संरचना र दोस्रो बजारको सञ्चालन तथा व्यवस्थापन सुधारसँग सम्बन्धित ३० भन्दा बढी विषयमा नियामकीय अधिकार प्रयोग गर्दै सुधार अघि बढाउने बोर्डको कार्यदिशा रहेको उनले बताए । नेप्सेको संस्थागत संरचना र सञ्चालन प्रणालीलाई प्रभावकारी बनाउँदै दोस्रो बजारको व्यवस्थापन सुधार गर्ने विषयलाई बोर्डले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

    तत्काल कार्यान्वयन गर्न सकिने सुझावमा नेप्सेको जोड

    नेप्से सञ्चालक समितिका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले बोर्ड र नेप्सेबीच भएको छलफललाई धितोपत्र बजार सुधारको नयाँ सुरुवातका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार पुनर्संरचनासम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएका तत्काल कार्यान्वयन गर्न सकिने सुझावमा नेप्से केन्द्रित रहेको छ । नेप्सेको प्रविधि तथा कारोबार प्रणाली, संस्थागत सुशासन, लगानीका उपकरण र सेवामा सुधार गर्न प्रतिबद्ध रहेको पनि उनले बताएका छन् ।

    लगानीका विकल्प र बजारको पारदर्शिता बढाउने लक्ष्य

    छलफलका क्रममा बोर्डका उपकार्यकारी निर्देशक अम्बिका ओझा गुप्ताले नेप्से पुनर्संरचनासम्बन्धी प्रतिवेदनका सुझाव कार्यान्वयन, दोस्रो बजारको सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने र धितोपत्र बजारका उपकरण तथा सेवाको विविधीकरणसम्बन्धी नियामकीय विषयमा प्रस्तुतीकरण गरेकी थिइन् । नेप्सेको पुनर्संरचना र दोस्रो बजारको प्रभावकारी सञ्चालनबाट नेपालको पुँजी बजारमा लगानीका विकल्प विस्तार हुनुका साथै कारोबार प्रणालीको विश्वसनीयता र बजारको पारदर्शिता बढ्ने बोर्डको अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images