images
images
  • प्रस्तावित राजदूतद्वय सुनार र खरेल अस्वीकृत

    काठमाडौं – साउदी अरब अधिराज्यका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत भएको छ ।

    संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अस्वीकृत गरेको हो ।

    सांसदहरुले सुनारमाथि महिला हिंसासहितका गम्भीर आरोप लागेको भन्दै सुनुवाइको क्रममा नाम फिर्ता लिन आग्रह गरेका थिए । संसदीय सुनुवाइ समितिबाट साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि विभिन्न गम्भीर आरोपहरू उठाइएको थियो ।

    उनीविरुद्ध एक महिलासँगको सम्बन्ध र विवादलाई लिएर घरेलु हिंसा गरेको, ललितपुर प्रहरी कार्यालयमा उजुरी परेको र दुई पक्षबीच मेलमिलाप भएको तथा त्यसपछि पनि मानसिक यातना दिएको दाबीसहितको उजुरी परेको थियो ।

    सुनुवाइका क्रममा सुनारले आफूमाथिका आरोपहरूलाई पूर्ण रूपमा खण्डन गरेका थिए । उनले १३ वर्ष पुरानो व्यक्तिगत विषयलाई अतिरञ्जित बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको, आफूविरुद्ध प्रहरी वा अदालतमा कुनै पनि सजाय वा चलिरहेको फौजदारी मुद्दा नरहेको तथा ओशो तपोवनसम्बन्धी विवादका कारण प्रतिशोध साध्न यस्ता उजुरीहरू हालिएको स्पष्टीकरण दिएका थिए।

    तर, समितिमा उठेका यिनै गम्भीर प्रश्न र विवादहरूका कारण अन्ततः उनको नाम राजदूत पदका लागि अस्वीकृत भएको हो ।

    त्यस्तै संसदीय सुनुवाइ समितिमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि रास्वपा सांसद राजीव खत्रीलगायतबाट विभिन्न गम्भीर आरोपहरू उठाइएका थिए ।

    उनीमाथि विभिन्न अनुदान तथा काम मिलाइदिने भन्दै मानिसहरूसँग लाखौँ रुपैयाँ आर्थिक लेनदेन तथा ठगी गरेको आरोप लागेको थिया ।

    प्रस्तावित राजदूत खरेलले भने आफूमाथि लगाइएका ती सबै आरोपहरू पूर्ण रूपमा निराधार र गलत भएको दाबी गर्दै खण्डन गरेका थिए ।

    बुधबार विभिन्न देशका लागि सरकारले सिफारिस गरेका १३ जना राजदूतको संसदीय सुनुवाइ भएको थियो । मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, स्पेन, जापान, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images