images
images
  • इन्टरनेट केबल, डेटा सेन्टर र एआई पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी

    काठमाडौं– इरानले युद्ध पुनः सुरु भएमा खाडी क्षेत्रका इन्टरनेट केबल, डेटा सेन्टर र कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारमाथि आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।

    यससँगै युरोप र एसियालाई जोड्ने समुद्रमुनिका इन्टरनेट केबलको सुरक्षाबारे चिन्ता बढेको छ ।

    इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिका र इरानबीच पुनः युद्ध भड्किए क्षेत्रभरका केबल, डेटा सेन्टर र एआईसम्बन्धी पूर्वाधार निशानामा पर्न सक्ने चेतावनी दिएका हुन् ।

    यमनको लालसागर तटीय क्षेत्रमा इरानसमर्थित हुथी विद्रोहीहरूको नियन्त्रण र त्यहाँ जारी सैन्य संघर्षले पनि इन्टरनेट पूर्वाधारको सुरक्षामाथि प्रश्न उठाएको छ ।

    लालसागर र बाब अल–मन्देब जलडमरूमध्य हुँदै युरोप र एसियालाई जोड्ने महत्त्वपूर्ण इन्टरनेट केबल सञ्चालनमा छन् ।

    बाब अल–मन्देब जलडमरूमध्य हुँदै विश्वको कुल इन्टरनेट ट्राफिकको झन्डै पाँच भागको एक भाग आवतजावत गर्ने बताइएको छ ।

    यस्तो महत्त्वपूर्ण मार्गमा अवरोध आए त्यसको असर एउटै देशमा सीमित नभई धेरै देशमा पर्न सक्छ ।

    यसअघि पनि अमेरिका–इजरायल र इरानबीचको युद्धका क्रममा बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई)मा डेटा सेन्टर तथा अमेरिकी व्यावसायिक स्वार्थसँग सम्बन्धित पूर्वाधारमा आक्रमण भएका थिए ।

    जुन महिनामा इरान र अमेरिकाबीच समझदारी भएपछि प्रत्यक्ष सैन्य गतिविधि धेरै हदसम्म रोकिए पनि विश्वको प्रमुख तेल ढुवानी मार्ग होर्मुज जलडमरूमध्य हुँदै जाने जहाजमाथिका आक्रमण जारी रहेको समाचारमा उल्लेख छ ।

    इन्टरनेट केबल र डेटा सेन्टर किन जोखिममा ?

    युरोप र एसियाबीचको डेटा क्षमताको ९० प्रतिशतभन्दा बढी हिस्सा लालसागरमुनिका केबलमार्फत सञ्चालन हुने अनुसन्धान संस्था टेलिजियोग्राफीको अनुमान उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

    यी केबल बाब अल–मन्देब जलडमरूमध्य हुँदै समुद्रमा प्रवेश गर्छन् ।

    सबैभन्दा साँघुरो स्थानमा करिब २६ किलोमिटर चौडाइ रहेको यो जलमार्ग युरोप र एसियालाई जोड्ने व्यस्त समुद्री मार्गमध्ये एक हो ।

    समुद्रमुनिका केबल जहाजका लंगरले तानिँदा वा नियोजित रूपमा क्षति पुर्‍याइँदा अवरुद्ध हुन सक्छन् ।

    युद्धग्रस्त क्षेत्रमा त्यस्ता केबल मर्मत गर्न सुरक्षा प्रत्याभूति र सम्बन्धित निकायको अनुमति आवश्यक पर्न सक्छ ।

    त्यस्तै, डेटा सेन्टरमा बैंकिङ एप, क्लाउड सेवा र अन्य डिजिटल प्रणाली सञ्चालन गर्न आवश्यक सर्भर तथा कम्प्युटिङ पूर्वाधार राखिन्छ ।

    यी संरचना निश्चित स्थानमा रहने भएकाले आक्रमणको जोखिममा हुन्छन् ।

    लन्डनस्थित किङ्स कलेजका सुरक्षा अध्ययनसम्बन्धी वरिष्ठ प्राध्यापक एन्ड्रियास क्रिगका अनुसार सर्भर नै पूर्ण रूपमा नष्ट नगरी पनि डेटा सेन्टरको सम्पूर्ण सञ्चालन ठप्प पार्न सकिन्छ ।

    डेटा सेन्टरलाई निरन्तर विद्युत् आपूर्ति, शीतलीकरण प्रणाली र दूरसञ्चार सेवाको आवश्यकता पर्छ ।

    यीमध्ये कुनै एउटा प्रणालीमा अवरोध आए पनि सेवा प्रभावित हुन सक्छ ।

    समुद्रमुनिका केबललाई निरन्तर सुरक्षा दिन कठिन हुने भएकाले एउटा ठाउँमा भएको क्षतिले एकैपटक धेरै देशको इन्टरनेट सेवामा असर पार्न सक्छ ।

    इरानले डिजिटल पूर्वाधारलाई सम्भावित निशानाका रूपमा उल्लेख गर्दै आएको छ ।

    मार्च ११ मा इरानको अर्धसरकारी समाचार संस्था तस्निमले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले ‘इरानका नयाँ निशाना’ शीर्षकमा सूची सार्वजनिक गरेको जनाएको थियो ।

    त्यसमा इजरायल र खाडी क्षेत्रका केही देशमा रहेका गुगल, माइक्रोसफ्ट र ओराकलका क्लाउड पूर्वाधार पनि समावेश थिए ।

    त्यसै महिनामा आईआरजीसीले टेलिग्राममार्फत सार्वजनिक गरेको अर्को सूचीमा गुगल, मेटा र एप्पलसहित १७ अमेरिकी कम्पनी तथा यूएईको एआई कम्पनी जी४२ लाई सम्भावित निशानाका रूपमा उल्लेख गरेको थियो ।

    क्रिगले इरानको पछिल्लो चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

    तर, डिजिटल पूर्वाधारमा ठूलो अवरोध सिर्जना गर्ने क्षमता र खाडी क्षेत्रको सम्पूर्ण डिजिटल पूर्वाधार व्यवस्थित रूपमा नष्ट गर्ने क्षमताबीच फरक रहेको उनको भनाइ छ ।

    उनका अनुसार रेजाईको चेतावनी केवल नयाँ निशाना घोषणा गर्ने विषय होइन ।

    यसले खाडी देशहरूको आर्थिक विविधीकरण र अमेरिकी प्रविधिमा आधारित पूर्वाधारबीचको सम्बन्धलाई सैन्य रणनीतिसँग जोडेको छ ।

    यो चेतावनीको उद्देश्य अमेरिकालाई मात्र दबाब दिनु नभई अबुधाबी, रियाद र दोहाजस्ता खाडी क्षेत्रका प्रमुख सहर तथा त्यहाँका सरकारलाई पनि सम्भावित जोखिमबारे सचेत गराउनु रहेको क्रिगको विश्लेषण छ ।

    यसबाट खाडी देशहरूले अमेरिकालाई अर्को सैन्य आक्रमण नगर्न दबाब दिन सक्ने उनको आकलन छ ।

    यस वर्षको मार्चमा अमेजन वेब सर्भिसेज (एडब्लूएस)ले यूएईमा रहेका आफ्ना दुईवटा सुविधा केन्द्रमा ड्रोनबाट प्रत्यक्ष आक्रमण भएको जनाएको थियो ।

    बहराइनस्थित अर्को केन्द्रनजिक भएको आक्रमणले पनि आफ्नो पूर्वाधारमा भौतिक असर पारेको कम्पनीको भनाइ थियो ।

    अबुधाबी कमर्सियल बैंकले क्षेत्रीय सूचना प्रविधि प्रणालीमा आएको अवरोधका कारण आफ्नो मोबाइल एप सञ्चालनमा समस्या भएको जनाएको थियो ।

    यद्यपि, बैंकले उक्त समस्यालाई प्रत्यक्ष रूपमा एडब्लूएससँग जोडेको थिएन ।

    सेप्टेम्बरमा एडब्लूएसले बहराइनका केही साइट र यूएईको एउटा साइटमा सेवा पुनःस्थापना गर्न नसकेको जनाएको थियो ।

    समुद्रमुनिका केबलमा पनि यसअघि क्षति पुगेको थियो ।

    फेब्रुअरी २०२४ मा तीनवटा केबलमा क्षति पुगेको थियो ।

    हुथी विद्रोहीको मिसाइल आक्रमणपछि निष्क्रिय भएको रुबीमार नामक मालवाहक जहाजको लंगरले केबल तानेर क्षति पुर्‍याएको हुन सक्ने उद्योग क्षेत्रको निष्कर्षलाई डेटा सेन्टर डाइनामिक्सले उल्लेख गरेको थियो ।

    ती केबल मर्मत गर्न महिनौँ लागेको थियो ।

    त्यस्तै, सेप्टेम्बर २०२५ मा जेद्दानजिक दुईवटा केबल काटिएका थिए ।

    त्यसपछि मध्यपूर्व र दक्षिण एसियाका केही क्षेत्रमा इन्टरनेटको गति प्रभावित भएको थियो ।

    यद्यपि, ती केबल काटिनुको कारण पुष्टि भएको छैन ।

    क्रिगका अनुसार मार्चमा भएका आक्रमणले व्यावसायिक पूर्वाधारलाई राष्ट्रिय हवाई सुरक्षा प्रणालीले स्वतः सुरक्षित राख्छ भन्ने धारणाको सीमा उजागर गरेका छन् ।

    खाडी देशका सेनाले धेरैजसो आक्रमण रोक्न सक्ने भए पनि केही ड्रोन सफलतापूर्वक लक्ष्यमा पुग्दा अर्बौँ डलर मूल्यका उपकरण रहेको पूर्वाधारमा ठूलो आर्थिक क्षति हुन सक्ने उनले बताए ।

    हुथी विद्रोहीले समुद्रमुनिका केबल काटेका छन् ?

    अहिलेसम्म हुथी विद्रोहीले प्रत्यक्ष रूपमा समुद्रमुनिका इन्टरनेट केबलमाथि आक्रमण गरेको पुष्टि भएको छैन ।

    सन् २०२४ मा भएको केबल क्षतिमा आफ्नो संलग्नता नरहेको समूहले जनाएको थियो ।

    तर, सेप्टेम्बरको मध्यतिर हुथी विद्रोहीले मोखा बन्दरगाह र बाब अल–मन्देब आसपासका भूभाग कब्जा गरेको समाचारमा उल्लेख छ ।

    सेप्टेम्बर ११ मा उनीहरू जलडमरूमध्यलाई दुई भागमा विभाजन गर्ने मायुन टापुमा पुगेका थिए ।

    अक्टोबर ५ मा यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले मोखा र जलडमरूमध्यनजिकका केही स्थान पुनः आफ्नो नियन्त्रणमा लिएको जनाएको थियो ।

    हुथी विद्रोहीले भने उक्त दाबी अस्वीकार गरेका थिए ।

    समुद्री मार्गमा सैन्य नियन्त्रण र द्वन्द्व बढ्दै जाँदा केबल मर्मत, सुरक्षा र वैकल्पिक मार्गको सञ्चालन थप जटिल बन्न सक्छ ।

    लालसागरबाहेक इन्टरनेटका वैकल्पिक मार्ग छन् ।

    तर, ती मार्ग तुलनात्मक रूपमा महँगा छन् र केही पूर्वाधार निर्माणकै क्रममा छन् ।

    सेप्टेम्बर १० मा इराकले खाडी क्षेत्रबाट युरोपसम्म डेटा पुर्‍याउने वैकल्पिक मार्ग विकास गर्न कतारको दूरसञ्चार कम्पनी ओरेडूसँग सम्झौता गरेको थियो ।

    इराकको सञ्चार मन्त्रालयका अनुसार प्रस्तावित भूमिगत केबल अल–फाउबाट टर्किएसँगको सीमाक्षेत्र राबियासम्म पुग्नेछ ।

    अक्टोबर ७ मा ओरेडूको अन्तर्राष्ट्रिय शाखाले इराकको आईक्यू नेटवर्क्सबाट फाइबर क्षमता खरिद गर्ने सम्झौता गरेको थियो ।

    सरकारी स्वीकृति प्राप्त भए उक्त मार्गलाई टर्किएतर्फ विस्तार गरिनेछ ।

    माइक्रोसफ्टले पनि सन् २०३० सम्म मध्यपूर्वमा समुद्रमुनि र स्थलमार्गका सञ्चार सञ्जाल विस्तार गर्न ४० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ ।

    प्रविधिसम्बन्धी वेबसाइट ‘रेस्ट अफ वर्ल्ड’ ले अक्टोबर ७ मा एक अज्ञात स्रोतलाई उद्धृत गर्दै गुगल र मेटाले आफ्नो केही इन्टरनेट ट्राफिक इराक हुँदै पठाउन थालेको जनाएको थियो ।

    यस विषयमा अल जजिराले प्रतिक्रिया माग्दा दुवै कम्पनीले जवाफ नदिएको समाचारमा उल्लेख छ ।

    क्रिगका अनुसार डिजिटल पूर्वाधारलाई थप सुरक्षित बनाउन एउटै भौगोलिक क्षेत्र वा मार्गमा निर्भर नरही वैकल्पिक मार्ग र स्थान विकास गर्नुपर्छ ।

    आवश्यक परे खाडी क्षेत्रबाहिर पनि डेटा सेन्टर सञ्चालन गर्न सकिन्छ ।

    तर, यसले अर्को चुनौती खडा गर्छ ।

    खाडी देशहरूले संवेदनशील डेटा र कम्प्युटिङ पूर्वाधार आफ्नै सीमाभित्र राख्न ठूलो लगानी गरेका छन् ।

    राष्ट्रिय डिजिटल सार्वभौमिकताको यस्तो लक्ष्य र पूर्वाधारको सुरक्षा सुनिश्चित गर्ने आवश्यकताबीच सन्तुलन मिलाउनुपर्ने अवस्था छ ।

    खाडी देशको एआई केन्द्र बन्ने योजनामा कस्तो असर पर्छ ?

    खाडी देशहरूले तेलमा निर्भर अर्थतन्त्रलाई प्रविधि, कृत्रिम बुद्धिमत्ता र डिजिटल सेवामा आधारित बनाउन ठूलो लगानी गरिरहेका छन् ।

    तर, युद्ध र पूर्वाधारमाथिको जोखिमले ती योजनाको लागत तथा भौगोलिक संरचना परिवर्तन गर्न सक्ने देखिएको छ ।

    यूएईको अबुधाबीमा जी४२ ले ओपनएआई, एनभिडिया र अन्य साझेदारसँग मिलेर ‘स्टारगेट यूएई’ परियोजना निर्माण गरिरहेको छ ।

    यो पाँच गिगावाट क्षमताको प्रस्तावित यूएई–अमेरिका एआई क्याम्पसको हिस्सा हो ।

    साउदी अरबको सार्वजनिक लगानी कोषले सन् २०२५ को मेमा ‘हुमेन’ नामक एआई कम्पनी स्थापना गरेको थियो ।

    युवराज मोहम्मद बिन सलमानको अध्यक्षतामा रहेको उक्त कम्पनीले डेटा सेन्टर र अरबी भाषामा आधारित एआई मोडेल विकास गर्ने लक्ष्य राखेको छ ।

    सेप्टेम्बर २०२५ मा कतारको सार्वभौम सम्पत्ति कोषले अमेरिकी लगानी कम्पनी ब्लु आउलसँग मिलेर डेटा सेन्टर क्षेत्रमा तीन अर्ब अमेरिकी डलरको लगानी योजनामा सहभागिता जनाएको थियो ।

    त्यस्तै, माइक्रोसफ्टले सेप्टेम्बरमा सन् २०३० सम्म कुवेत, कतार, साउदी अरब र यूएईमा १० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको थियो ।

    कम्पनीले डिजिटल पूर्वाधारको लचिलोपन र सुरक्षालाई प्राथमिकता दिने जनाएको छ ।

    यद्यपि, एडब्लूएसले बहराइनमा होस्ट गरिएका केही डेटा पुनःस्थापना गर्न उपलब्ध सबै विकल्प प्रयोग गरिसकेको जनाएको थियो ।

    यसले डिजिटल पूर्वाधारमा भौतिक क्षति हुँदा सेवा पुनः सञ्चालन गर्नु कति कठिन हुन सक्छ भन्ने देखाएको छ ।

    क्रिगका अनुसार इरानको चेतावनीले खाडी देशहरूको प्रविधि केन्द्र बन्ने महत्त्वाकाङ्क्षा पूर्ण रूपमा समाप्त गर्ने सम्भावना कम भए पनि एआई क्षेत्रमा लगानी गर्ने लागत र स्थान छनोटमा परिवर्तन ल्याउन सक्छ ।

    खाडी देशहरूले लामो समयदेखि अस्थिर क्षेत्रको बीचमा पनि आफूलाई स्थिर लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्दै आएका थिए ।

    तर, युद्धले त्यो धारणामाथि प्रश्न उठाएको उनको भनाइ छ ।

    उनका अनुसार यूएई विशेष जोखिममा छ, किनकि उसको एआई रणनीति अमेरिकी प्रविधि कम्पनीहरूसँग गहिरो रूपमा जोडिएको छ ।

    त्यसैले त्यहाँको पूर्वाधार इरानको सम्भावित निशानामा पर्न सक्ने जोखिम बढी छ ।

    इरानसँग कूटनीतिक सम्बन्ध कायम राखेको कतार भने राजनीतिक दृष्टिले केही सहज अवस्थामा हुन सक्ने क्रिगको विश्लेषण छ ।

    उनका अनुसार इरानले खाडी देशहरूको उदीयमान डिजिटल अर्थतन्त्रमाथि त्यस्तै दबाब सिर्जना गर्न खोजिरहेको छ, जसरी समुद्री अर्थतन्त्रमाथि सिर्जना गरिसकेको छ ।

    यसले पूर्वाधारको विश्वसनीयतालाई नै भू–राजनीतिक सौदाबाजीको माध्यम बनाउन सक्छ । –अलजजिरा

    प्रतिक्रिया दिनुहोस्
    images
    images