काठमाडौं – मनसुनजन्य बाढीपहिरोबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माणका लागि कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक करोड चार लाख ८५ हजार ४९८ रुपैयाँ सहयोग जुटेको छ । गाउँपालिकाले कोषबाट राहत वितरण र क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणमा ६६ लाख ६५ हजार ५४३ रुपैयाँ खर्च गरेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार कोषमा पर्यटन व्यवस्थापन समिति, स्थानीय सङ्घसंस्था, व्यवसायी, राजनीतिक दल तथा विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको हो । विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने र क्षतिग्रस्त संरचनाको मर्मत गर्ने उद्देश्यले गाउँपालिकाले सहयोगका लागि सार्वजनिक आह्वान गरेको थियो ।
गाउँपालिकाका अनुसार विपद्पछिको उद्धार तथा पुनर्निर्माणमा इन्धन, ग्याबिन जाली निर्माण, ढुङ्गा तथा अन्य निर्माण सामग्री ढुवानी, उपकरण भाडा र श्रमिक व्यवस्थापनमा ठूलो रकम खर्च भएको छ । सबैभन्दा बढी इन्धनमा १९ लाख ७९ हजार ६५० रुपैयाँ खर्च भएको छ ।
त्यस्तै, ग्याबिन जाली निर्माणका लागि श्रमिक व्यवस्थापनमा ११ लाख ६४ हजार ९०४ रुपैयाँ र ढुङ्गा तथा ब्याकफिलिङ सामग्री ढुवानीका लागि ट्याक्टर, ब्याकलोडर र टिपर भाडामा १८ लाख ६९ हजार १८९ रुपैयाँ खर्च गरिएको अध्यक्ष केसीले बताए ।
अन्य उपकरण तथा निर्माणसम्बन्धी काममा आठ लाख ४६ हजार ५३५ रुपैयाँ, निर्माण सामग्री खरिदमा एक लाख ३० हजार १६८ रुपैयाँ, जिओटेक्सटाइल खरिदमा ८२ हजार ४९० रुपैयाँ र ग्याबिन जाली खरिदमा ९९ हजार ७९० रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । उद्धार तथा पुनर्निर्माणमा खटिएका सुरक्षाकर्मी र सहयोगीका लागि खाना, खाजा तथा अन्य व्यवस्थापनमा पनि रकम खर्च गरिएको छ ।
बाढीपहिरोले सडक र पुलमा ठूलो क्षति
यस वर्षको मनसुनमा आएको बाढीपहिरोले अन्नपूर्ण गाउँपालिकाका सडक, पुल, निजी घर, होटल, धार्मिक स्थल तथा पर्यटकीय संरचनामा क्षति पुर्याएको थियो । मोदी र किम्रुङ खोलामा आएको बाढीले विशेषगरी बिरेठाँटी–घान्द्रुक सडकलाई प्रभावित बनाएको थियो ।
मोदी खोलाको बाढीले गाउँपालिका–८ को बिरेठाँटी बजार क्षेत्रमा करिब १०० मिटर कालोपत्रे सडक कटान गरी बगाएपछि बिरेठाँटी–घान्द्रुक सडक सम्पर्क विच्छेद भएको थियो । चिम्रुङ–स्याउलीबजार क्षेत्रमा पनि करिब १५० मिटर सडक क्षतिग्रस्त भएको गाउँपालिकाले जनाएको छ ।
सडक तथा पुलमा भएको क्षतिका कारण गाउँपालिका–८, ९, १० र ११ का बासिन्दालाई नयाँपुल, पोखरा तथा पर्वतातर्फ आवतजावत गर्न कठिनाइ भएको थियो । स्याउलीबजार–हल्लाली जोड्ने झोलुङ्गे पुल, घुर्जुङ क्षेत्रका पुल तथा माता अन्नपूर्ण मन्दिर क्षेत्रमा रहेका फलामे पुलसमेत बाढीबाट क्षतिग्रस्त भएका थिए ।
पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारले दुई हजार ४७५ घनमिटर ग्याबिन जाली उपलब्ध गराएको थियो। विभिन्न जलविद्युत् आयोजना तथा नेपाली सेनाले श्रमदान र प्राविधिक सहयोगसमेत गरेका थिए ।
पर्यटक आवागमन पुनः सुरु
सडक, पुल तथा पदमार्गमा क्षति पुग्दा अन्नपूर्ण आधार शिविर जाने पर्यटकीय मार्गसमेत प्रभावित भएको थियो । पदमार्ग अवरुद्ध हुनुका साथै पुल र तातोपानी कुण्डमा क्षति पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमन घटेको गाउँपालिका अध्यक्ष केसीले बताए ।
“सबैको सहयोगबाट पदमार्ग खुला गरेका छौँ। अहिले पुनः पर्यटक आगमन सुरु भएको छ,” उनले भने ।
पर्यटन अन्नपूर्ण गाउँपालिकाको अर्थतन्त्रको प्रमुख आधार भएकाले विपद्ले होटल व्यवसायी, पदप्रदर्शक, भरिया तथा स्थानीय व्यापारीको आम्दानीमा समेत असर पारेको गाउँपालिकाको भनाइ छ ।
स्थायी पुनर्निर्माणका लागि थप सहयोग आवश्यक
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालका अनुसार मनसुनजन्य विपद्बाट गाउँपालिका क्षेत्रमा मानवीय मृत्यु नभए पनि भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको थियो । पूर्वसूचना प्रणाली, स्थानीय सचेतना र सुरक्षा निकायको समयमै परिचालनले मानवीय क्षति रोक्न महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।
बरालका अनुसार बिरेठाँटी–घान्द्रुक सडकको स्थायी मर्मत, क्षतिग्रस्त पुलको पुनर्निर्माण, प्रभावित परिवारलाई राहत तथा पुनःस्थापना सहयोग र जोखिम क्षेत्रको नक्साङ्कन गर्नुपर्ने आवश्यकता छ । विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली वडा तहसम्म विस्तार गर्नुपर्ने पनि उनले बताए ।
ठूला पुनर्निर्माण आयोजना अघि बढाउन प्रदेश तथा सङ्घीय सरकारसँग थप बजेट र प्राविधिक सहयोग माग गरिएको गाउँपालिकाले जनाएको छ ।






















