काठमाडौं – बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । थोरङ्ला पास जाने पदमार्गमा जमेको हिउँ हटाएर आवागमन सहज बनाइएसँगै मनाङ हुँदै मुस्ताङ जाने पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध हुँदा पर्यटक आगमन घटेको थियो । प्रतिकूल मौसमका कारण दैनिक एक–दुई जनामात्र पर्यटक आउने गरेकोमा अहिले दैनिक १५० देखि २०० जनासम्म आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ ।
केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास जाने पदमार्गमा जमेको हिउँ हटाइएपछि यात्रा सहज भएको छ । पर्यटकीय सिजन सुरु भएसँगै भदौदेखि बढ्न थालेको पर्यटक आगमन असोजको प्रतिकूल मौसमका कारण प्रभावित बनेको थियो । अहिले मौसम र पदमार्गको अवस्था सहज हुँदै गएपछि पर्यटकको चहलपहल बढ्न थालेको उनले बताए ।
गुरुङका अनुसार असोज १८ देखि २५ गतेसम्म धारापानीस्थित केन्द्रमा एक हजार ४४७ पर्यटकको विवरण अभिलेख गरिएको छ । तीमध्ये ८८७ पुरुष र ५६० महिला छन् । उक्त अवधिमा सबैभन्दा बढी इजरायलबाट १४१, अस्ट्रेलियाबाट १२१, जर्मनीबाट १०९, स्पेनबाट १०३ र बेलायतबाट ९७ पर्यटक आएका छन् ।
गत वर्ष मुख्य पर्यटकीय सिजनमा दैनिक ४०० देखि ५०० पर्यटक आउने गरेकामा यस वर्ष बाढीपहिरो र हिमपातका कारण आगमन प्रभावित भएको गुरुङले बताए । सडक तथा पदमार्गमा आवागमन थप सहज भए पर्यटकको सङ्ख्या बढ्ने उनको अपेक्षा छ ।
पर्यटक घट्दा व्यवसाय सुनसान
पर्यटक आगमन घटेपछि अन्नपूर्ण पदमार्गका बीचमा पर्ने बस्तीका होटल तथा पर्यटन व्यवसाय प्रभावित भएका छन् । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङ्ला पास पार गरेर मुस्ताङ पुग्ने यस पदमार्गमा जगत र धारापानी पर्यटकका महत्वपूर्ण बासस्थान हुन् ।
मस्र्याङ्दी गाउँपालिका–४, जगतका पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार बाढीपहिरोका कारण पर्यटक आउन छाडेपछि व्यवसायको आम्दानी शून्यजस्तै बनेको थियो । पछिल्ला दिनमा पर्यटक आउन थालेपछि दैनिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी हुन थालेको उहाँले बताए ।
“गत वर्षको मुख्य पर्यटकीय सिजनमा दैनिक ४० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको थियो। यस वर्ष बाढीपहिरोका कारण व्यवसाय प्रभावित भयो। केही दिनअघिसम्म पर्यटक नआउँदा आम्दानी शून्यजस्तै थियो, अहिले विस्तारै आउन थालेका छन्,” उनले भने।
उहाँका अनुसार जगतमा करिब २२ वटा होटल सञ्चालनमा छन् । सडकबाटै सिधै मनाङ पुग्ने पर्यटकका कारण पदमार्गका बीचमा पर्ने बस्तीका व्यवसायमा समेत असर पर्ने गरेको उनले बताए । सडक र पदमार्ग सहज हुँदै गए आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र व्यवसायमा सुधार आउने उनको अपेक्षा छ ।
मस्र्याङ्दी गाउँपालिका–४, बुङ झरनानजिक होटल सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी बाबुराम तामाङले पनि बाढीपहिरोका कारण मुख्य पर्यटकीय सिजनमै व्यवसाय सुनसान बनेको बताए । पछिल्ला दिनमा पर्यटक आउन थालेपछि व्यवसायीमा आशा पलाएको उहाँको भनाइ छ ।
हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र रहनसहनका कारण अन्नपूर्ण चक्रीय पदमार्ग स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ । सडक र पदमार्गको अवस्था सुधार हुँदै गएमा पर्यटकको आगमन थप बढ्ने र प्रभावित पर्यटन व्यवसाय क्रमशः लयमा फर्किने अपेक्षा व्यवसायीले गरेका छन् ।






















